संघारमा पुगेर पराजित आँट

मनै निचोरिने तस्बिर, जसले बोल्छ ‘अमेरिका’ सपनाको दुःखद कथा

चार वर्ष अघि एउटा तस्बिरले विश्वको मन कुँड्यायो । अमिलो बनायो । समस्याको ठूलो पोको असरल्ल हुनेगरी पोखियो । त्यो तस्बिर थियो तीन वर्षका सिरियाली बालक एलन कुर्दीको ।

कुर्दिस मुलका ती बालक देशमा भड्किएको हिंसाबाट बचेर उनका लागि अभिभावकले देखेको सुरक्षित भविष्यको सपनासहित अभिभाककै साथमा युरोपको यात्रामा थिए ।

तर उनले सो सपनाको यात्रा पूरा गर्न सकेनन् । उनी ग्रिक आइल्याण्ड कोसमा घोप्टो परेको अवस्थामा भेटिए । समुद्रको छालले उनलाई बगाएर किनारमा ल्यायो । भूमध्यसागरको किनारमा घोप्टो परेका एलनको तस्बिरले विश्वको ध्यान खिच्यो ।

एलन कुर्दी

टर्किस पत्रकार निलुफेर देमिरले खिचेको तस्बिरले युरोप प्रवेश गर्ने प्रयासमा रहेका आप्रवासीको वास्तविक समस्या स्पष्ट बनायो । युरोपको आप्रवासी समस्यासमा विश्वव्यापी डिस्कोर्सको कारण बन्यो सो तस्बिर । त्यो तस्बिर थियो सन् २०१५ को सेप्टेम्बर २ को ।

झण्डै चार वर्षपछि त्यस्तै प्रकृतिको, अझ हृदयविदारक तस्बिरले विश्वको मन निचोरेको छ । फेरि एक पत्रकारको क्यामरामा किनारमा घोप्टिपरेका सपना जीविको मृत रहरहरु समेटिन बाध्य भएका छन् । योपटक तस्बिर एकजनाको मात्रै छैन । सपनालाई पिठ्युँमा बोकेर हिँडेका पिताले आफ्नो रहरलाई बाटो देखाउन सकेनन् ।

एल साल्भाडोरका ओस्कार अल्बर्तो मार्तिनेज रामिरेज उनकी २३ महिनाकी छोरी वालेरियासहित अमेरिका पुग्ने सपनामा मेक्सिको पुगेका थिए । आफ्नो देशमा भविष्य अनिश्चित ठानेर अमेरिकामा सुकिलो भविष्यको खोजीका लागि हानिएका रामिरेजले टेक्सासमा आश्रयका लागि कागजी प्रक्रिया पूरा गर्न सकेनन् ।

अनि उनले आँटे रियो ग्राण्डी नदी पार गरेर मेक्सिको पारी अमेरिका पुग्ने । उनले छोरीलाई पिठ्युँमा बोकेर नदी पार गर्न खोजेका थिए, तर पूरा भएन यात्रा । पानीसँग जित्न सकेन उनका सपनाहरुले । पिठ्युँकी छोरीसहित रामिरेजले प्राण त्यागे । पानीले उनीहरुलाई किनारमा ल्याएर छोडिदियो । घोप्टो परेका उनी र उनको पिठ्युँमा उसैगरी घोप्टो परेकी २३ महिनाकी वालेरियाको विलय भयो ।

वालेरिया आफ्ना पिताको पिठ्युँमा छिन्, उनको हात पिताको काँधमा छ । पिताले छोरीलाई आफ्नो लुगाले बेरेका छन् । छुट्टिएका छैनन् उनीहरु । मनै बराल्ने छ यो तस्बिर ।

पत्रकार जुलिया ले दुकले खिचेको तस्बिर मेक्सिकन पत्रिका ला योर्नादामा सोमबार प्रकाशित भयो । पत्रकार जुलियाका अनुसार रामिरेजले अमेरिकी अधिकारी सामु आफ्नो परिवारका लागि आश्रयको खोजिका लागि चाहिने कागजात पूरा गर्न सकेनन् र उनले आइतबार पौडेर नदी पार गर्ने आँट गरेका थिए । तर त्यो आँट नै उनी र उनकी छोरीको जीवनको अन्तिम यात्रा बन्यो ।

रामिरेजले छोरीलाई नदी पारी अमेरिका लगेका थिए सकुशल । छोरीलाई पारी छोडेर श्रीमतीलाई लिनका लागि उनी फेरि वारी आए । तर पिता गएको देखेर वालेरिया नदीमा पसिन् । त्यो देखेर रामिरेज फेरि गए, छोरीलाई समाते तर उनीहरुलाई नदीको छालले जीवित रहन दिएन । यो जानकारी रामिरेजकी श्रीमती तानिया वानेसा एवालेसले समाचार संस्था एपीसँग बताएकी हुन् ।

रामिरेज र वालेरियाको तस्बिरले क्यारावान तथा मध्य अमेरिकी देशबाट अमेरिका पुग्न चाहने आप्रवासीले भोग्नु परेको समस्याको यथार्थता उदांगो पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी सम्बन्धी कडा नीति लिएपछि धेरै आप्रवासी समस्यामा परेका छन् ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्रादोरले समाचार संस्था एपीसँग जुन घटना भयो त्यो अति नै पश्चाताप पूर्ण रहेको बताएका छन् । आफूहरुले आप्रवासी प्रति अमेरिकाको कडा नीतिको विरोध गर्नुको कारण यस्तै दुर्घटनाहरु नहुन् भन्नका लागि रहेको उनले बताएका छन् ।