यस वर्ष पनि सामुदायिक विद्यालयको नतिजा कमजोर

काठमाडौँ– विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एसईईको नजितामा सामुदायिक विद्यालय कमजोर देखिएको छ। राज्यको ठूलो रकम लगानी भएको सामुदायिक विद्यालय तर्फका विद्यार्थीको उत्तीर्ण प्रतिशत निजी विद्यालयको भन्दा कमजोर देखिएको हो। राम्रो ग्रेड ल्याउने अधिकांश विद्यार्थी निजी विद्यालयबाट परेका छन्।

देशभरबाट कुल चार लाख ७५ हजार तीन परीक्षार्थी मध्ये एक लाख ३३ हजार नौ सय ४५ निजी र तीन लाख २५ हजार तीन सय ३० सामुदायिक विद्यालयका छन्।

२०७५ साल चैतमा सञ्चालन भएको एसईई परीक्षाको नजिता सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भर्खरै सार्वजनिक गरेको हो।

ए प्लस अर्थात् विशिष्ट श्रेणीमा उत्तीर्ण भएका १७ हजार पाँच सय ८० विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट दुई हजार सात सय ९७ जना मात्र रहेका छन्। त्यस्तै ८० देखि ८९ प्रतिशत पाउने विद्यार्थीले ए (उत्कृष्ट) नतिजा ल्याउनेमध्ये ५१ हजार तीन सय ३७ जना विद्यार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ मात्र रहेका छन्।

त्यस्तै बी प्लस ल्याउने ६३ हजार सात सय ४१ जनामध्ये २६ हजार तीन सय ६६ सामुदायिक विद्यालयबाट परेका छन्। बी ल्याउने ७६ हजार पाँच सय ६४ मध्ये ५३ हजार सात सय ३० जना सामुदायिक विद्यालयबाट परेका छन्।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ए प्लस विशिष्ट श्रेणीमा १७ हजार पाँच सय ८० विद्यार्थी पास भएका छन् । भने ए ग्रेडमा ५१ हजार तीन सय ३७ विद्यार्थी उत्तीर्णको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै बी प्लस ग्रेडमा ६३ हजार सात सय ४१, बी ग्रेडमा ७६ हजार पाँच सय ६४ सी प्लस ग्रेडमा ९८ हजार दुई सय सात र सी ग्रेडमा ९५ हनार तीन सय सात विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै डी ग्रेडमा ४३ हजार आठ सय ४१ विद्यार्थी पास भएका छन् भने इ ग्रेडमा ४ हजार चार सय २९ जना उत्तीर्ण भएका छन् ।

१९९० देखि सुरु भएको एसएलसी परीक्षालाई २०७१ सालदेखि प्राविधि धारतर्फ ग्रेडिङ प्रणालीमा लगिएको थियो भने सामान्य धारतर्फ २०७२ देखि सुरु गरिएको हो ।

अंकको साटो ग्रेड प्रणालीमा आधारित हुने यो प्रणालीमा ९० देखि १०० प्रतिशत अंक प्राप्त गर्ने विद्यार्थीले ए प्लस विशिष्ट श्रेणी, ८० देखि ८९ प्रतिशत पाउने विद्यार्थीले ए (उत्कृष्ट) पाउँछ ।

त्यसै गरी ६० देखि ७९ प्रतिशत पाउने विद्यार्थीले बी (धेरै राम्रो) पाउँछ भने ४० देखि ५९ प्रतिशत पाउने विद्यार्थीले सी (राम्रो) ग्रेड पाउँछ । २५ देखि ३९ प्रतिशत ल्याउनेलाई डी (कमजोर) र २५ भन्दा कम प्रतिशत ल्याउनेलाई ई (धेरै कमजोर) उल्लेख भएको मार्कसिट पाउनेछन् ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्