अनुदानको कृषि सामग्री बिक्री गर्ने पक्राउ

वीरगञ्ज : प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत अनुदान प्राप्त कृषि सामग्री बिक्री गर्ने एकजनालाई बाराबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले परियोजनाअन्तर्गत अनुदान प्राप्त कृषि सामग्री बिक्री गर्ने किसान एग्रो सेन्टरका सञ्चालक बाराको आदर्शको तवाल गाउँपालिका–४ बस्ने गुन्जेश्वरीप्रसाद साह कानुलाई पक्राउ गरेको हो ।

परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्र कलैयाले आर्थिक वर्ष ०७५/७६ मा धान पकेट सञ्चालनका लागि किसान एग्रोभेट सेन्टरलाई चार लाख बराबरको कृषि सामाग्री खरिद गरि दिएकोमा सञ्चालक कानुले किसानलाई वितरण नै नगरी आफ्नो पसलमा भण्डारण गरि राखेका थिए ।

उनले कृषि सामग्री बदनियत राखी उत्पादनमुलक कार्यमा प्रयोग नगरी मुनाफा कमाउने उद्देश्यले भण्डारण राखेको आरोपमा प्रहरीले कानुलाई पक्राउ गरेको हो ।

कृषि ज्ञान केन्द्र बारा कलैया र ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराबाट खटिएको प्रहरीे टोलीले कानुलाई पसलबाटै पक्राउ गरेको हो ।

प्रहरीले उनको पसलबाट ६६ हजार ९ सय मुल्य बराबरको ७२ थान धान प्याकेट, ३५ किलो ग्रामको धानको बिउ, जिंकको प्याकेट एक सय १३ थान बरामद गरेको थियो ।

कृषि सामग्रीसहित पक्राउ परेका कानुलाई जिल्ला अदालत बाराबाट पाँच दिनकोे म्याद थप गराई अनुसन्धान प्रक्रिया अघि बढाइएको बाराका प्रहरी नायब उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्