कवि संगीत स्रोतालाई नियन्त्रणमा लिँदा प्रहरी झुक्किएको हुन सक्छ :सरकारका प्रवक्ता

काठमाडौँ— कवि संगीत स्रोताको पक्राउलाई लिएर विरोध भइरहेका बेला सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले स्रोताको पक्राउमा प्रहरी झुक्किएको पनि हुनसक्ने प्रतिक्रिया दिएका छन्।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले त्यस्तो बताएका हुन् ।

विज्ञापन

‘ पुलिसले विभिन्न ठाउँमा विभिन्न व्यक्तिहरुका बारेमा अनुसन्धान गरिरहेको हुन्छ। कहीँ झुक्किन पनि सक्ला। पुलिसले कसैको अनुसन्धान गरिरहेको थियो होला सायद,’ मन्त्री बास्कोटाले भने।

कुनै घटनामा मेल खाने लागेमा कसैलाई पक्राउ गर्नु अनुसन्धानको पाटो भएकाले त्यसलाई सामान्यरुपमा हेर्नु पर्ने उनले बताए।

एक अर्को प्रसंगमा उनले बिप्लव समूहले संविधानविरोधी गतिविधि गर्ने र निर्दोश नागरिकको ज्यान जाने अवस्था आएपछि सरकार बाध्य भएर ऊमाथि कारवाही प्रक्रिया जारी राखेको बताएका छन्।

पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले त्यस्तो बताएका हुन्।

उनले बिप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु कसरी भएको हो भन्नेमा गृहमन्त्रीले स्पष्ट पारिसकेकाले त्यसबारे थप प्रस्ट्याउन जरुरी नरहेको बताए।

मुलुकको शान्ति खल्बलाउने जो कसैलाई कारवाही हुने मन्त्री बास्कोटाको भनाई छ।

असार १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्