अफ्रिका कप अफ नेशन फुटबल २०१९

लगातार दोस्रो जितसहित अल्जेरिया अन्तिम १६ मा, माडागास्करको पहिलो जित

इजिप्टमा जारी अफ्रिका कप अफ नेशन फुटबल अन्तर्गत बिहीबार राति भएका खेलमा अल्जेरिया, केन्या र माडागास्कर विजयी भएका छन् ।समूह सी अन्तर्गतको खेलमा अल्जेरियाले सेनेगललाई १–० ले पराजित गरेको हो ।

उपाधि दाबेदार मध्ये ठानिएको सेनेगललाई हराउने क्रममा ४९ औँ मिनेटमा युसेफ बेलाइलीले गरेको गोल नै अल्जेरियाका लागि निर्णायक बन्यो । खेलको अन्तिम समयमा साडिओ मानेले सेनेगलका लागि गोल गर्ने राम्रो अवसर बनाएका थिए, तर सफल हुन सकेनन् ।

लगातार दुई जित निकालेको अल्जेरिया ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । उसले अन्तिम १६ मा स्थान पक्का गरेको छ । तीन अंकसहित सेनेगल दोस्रो स्थानमा छ ।

यस्तै तान्जिनियालाई ३–२ ले पराजित गरेको केन्याको पनि तीन अंक नै छ र उ समूहको तेस्रो स्थानमा छ ।

बिहीबार राति नै समूह बी अन्तर्गतको खेलमा माडागास्करले बुरुन्डीलाई १–० ले हराएको छ । पहिलो खेलमा बराबरी गरेको माडागास्करले पहिलो जित दर्ता गरेको हो ।

पहिलो पटक प्रतियोगिता खेलिरहेको माडागास्करलाई पहिलो जित दिलाउनका लागि मार्को इलाइमाहारित्राले ७६ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । चार अंकसहित माडागास्कर समूहको दोस्रो स्थानमा छ ।

असार १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्