ब्लग

छाउपडी मानसिकता आखिर कहिलेसम्म ?

बिहान यस्तै ११ बजे हुँदो हो, बाजुराको सदरमुकाम मार्तडी नपुग्दै बुढीगंगा तरेर करिब एक घण्टा गाडीमा उकालो कच्ची बाटो हुँदै रजाली पुग्दा त्यहाँको माहौल बेग्लै थियो ।

घटना करिब दुई वर्ष अगाडिको हो । महिला, पुरुष, वृद्धवृद्धा, स्कूले बालबालिका सबै समूह समूहमा हातमा ब्यानर बोकेर नारा लगाउँदै गाउँ परिक्रमा गर्दैथिए । कार्यक्रम थियो ‘छाउपडी गोठ मुक्त वडा घोषणा’ र सोही कार्यक्रम अवलोकन गर्न पुगेकी थिएँ म त्यहाँ । विभिन्न समूहका महिला तथा पुरुषहरू सांस्कृतिक तथा परम्परागत पहिरनमा झाँकी प्रस्तुत गर्दै नारा लगाउँदै गाउँ घुमिरहेका थिए।

माहौल निकै उल्लासमय थियो, मानौँ यो गाउँमा साँच्चै सबैजना छाउपडी कुप्रथा त्याग्न तत्पर छन् । भोलिदेखि यो ठाउँमा छाउपडीको नामोनिशान रहँदैन । गाउँमा विगत केही समयदेखि धमाधम छाउपडी गोठ भत्काउँदै गरेको, अहिले कोही पनि महिला महिनावारी हुँदा गोठमा बस्ने नगरेको र गाउँमै गोठको संख्या अब केही मात्र बाँकी रहेको र सो पनि छिटै भत्किने जानकारी पाएँ । मनमनै सोचेँ, आहा ! यसरी नै जनता जागरुक भए त जिल्लाबाट मात्र हैन सुदुरपश्चिमबाटै छाउपडी हट्न कुनै बेर लाग्दैन । कार्यक्रम साँच्चै उपलब्धी मुलक रहेछ ।

नारा लगाउँदै हिँडेकी एक दिदीलाई सोधेँ ‘दिदी, छाउपडी मुक्त कि छाउपडी गोठमुक्त?’ उनले हाँस्दै भनिन्, ‘अहिलेलाई त छाउपडी गोठमुक्त ।’ उनको जवाफले एकछिन झसङ्ग भएँ । मनमा प्रश्नहरू उब्जिन थाले । के नाराले मात्र छाउपडी प्रथाको अन्त्य गर्न सकिएला ? गोठ भत्किँदैमा मानिसको छाउ अर्थात महिनावारी प्रतिको मानसिकता भत्किएला ?

यस कार्यक्रमको केही दिन अगाडि सोही जिल्लाको पाण्डुसैनमा एक बुढी आमाले भनेको सम्झिएँ, ‘नानी, मैले त छाउ जति सबै धेरै कष्ट सहेरै घरबाहिरै बिताएँ । अहिले बुहारी नातिनी घरमै बस्छन् । गोठको कष्टभन्दा घरमा बस्नु राम्रो त होला, तर कुनै अनिष्ट हुने हो कि भन्ने डर लागिरहन्छ मनमा ।’ पान्डुसैनको त्यस वडालाई पनि छाउपडीमुक्त घोषणा गरिसकिएको रहेछ केही समय अगाडि । उनकी बुहारी अलि जान्ने बुझ्ने र महिला समूहकी सदस्य भएको नाताले महिनावारी हुँदा घरभित्रै बस्ने रहिछिन् । तर अझै पनि धेरै महिलाहरू गोठमै बस्ने गरेको सुनाइन् उनले । ‘खै नानी, संस्थाहरू आउँछन्, के के कार्यक्रम गर्छन्, गोठ भत्काउँछन्, उनीहरू जानेबित्तिकै फेरि उस्ताको उस्तै ।’

नेपाल सरकारले छाउपडी प्रथालाई कानूनी रूपमा दण्डनीय बनाइसकेको अवस्था छ । सुदुरपश्चिममा मात्र मात्र कैयौँ सरकारी गैरसरकारी संस्थाहरूले छाउपडी मुक्त अभियान चलाउन थालेको पनि दशक नाघिसकेको छ । तर पनि महिनावारीको बेला गोठमा बस्दा भएका दुर्घटना र मृत्युका समाचार अझै पनि आउने गरेका छन् । सञ्चारमाध्यममा नआएका घटना वा घटना नघटेका तर प्रत्येक महिना चार दिन गोठमा रात बिताउने महिलाका कष्टका कथा अझै कति होलान् भनिसाध्य नहोला ।

केही समयअघि महिला सम्बन्धी एक कार्यक्रममा पुग्ने मौका पाएकी थिएँ । त्यस कार्यक्रममा तत्कालीन मेगा बैंकका सिइओ अनिल शाहले भनेको सम्झिन्छु ‘मानिसहरूलाई छाउपडी सुदूरपश्चिमको मात्र समस्या हो जस्तो लाग्छ, तर छाउपडी हामी सबैको मनमा छ । महिनावारीमा गोठमा बस्नु मात्र छाउपडी हैन, महिनावारीलाई अपवित्र र अछुत मान्नु नै छाउपडी हो । हामी सबैले बस्नलाई छाउगोठ नबनाएका होलाऊँ, तर सबैले आफ्नो मनमा छाउगोठ बनाएका छौँ ।’

उनको भनाईले साँच्चै मन छोयो । सुदूरपश्चिमेलीले महिनावारी हुँदा महिलालाई घरभित्र पस्न दिँदैनन्, अरूले भान्छामा, मन्दिरमा छिर्न दिँदैनन् । आखिर घरमा नछिर्नु र मन्दिरमा नछिर्नुमा तात्विक भिन्नता के छ र ? आखिर दुवैले एउटै तर्क प्रयोग गर्छन्, भित्र पसे देवता रिसाउँछन्, अनिष्ट हुन्छ । दुवैका लागि यो धर्मविरुद्धको पाप नै हो ।

एकदिन यस्तै गैरसरकारी संस्थामा काम गर्ने दिदीसँग जिल्लामा जाँदाको कुरा हो । नजिकै एक प्रख्यात मन्दिर थियो । पुगेको बेला दर्शन गरिहालौँ भन्ने मनसायले दिदीलाई प्रस्ताव गरेँ ।

उनको महिनावारी चल्दै रहेछ, मन्दिर जान नहुने कुरा गरिन् । ‘दिदी तपाईँ आफै सामाजिक क्षेत्रमा काम गर्ने अरूलाई सिकाउने महिला भएर आफै यस्तो भन्नुहुन्छ ?’ मेरो प्रश्न थियो उनलाई । उनले भनिन् ‘मन्दिर नै त कसरी जानु ? आफ्नै मनले मान्दैन । सानैदेखि मानिआएको चलन ।अरू त केही बार्दिन तर मन्दिर नै चाहीँ नजाउँ होला ।’

‘छाउपडी विरुद्ध काम गर्ने महिलाको लागि नै महिनावारी अशुद्ध अपवित्र हो विकट जिल्लाका महिलाका लागि झन् के होला? तपाईँको लागि महिनावारी हुँदा मन्दिर पस्नु पाप भएजस्तै तपाईँले काम गर्ने ठाउँका महिलाको लागि घर पस्नु उत्तिकै पाप होला नि ? आफूले नगर्ने पाप अरूलाई गर्न कसरी भन्न सक्नुहुन्छ तपाईँ ?’ मेरो प्रश्नको उनीसँग जवाफ थिएन ।

महिनावारी एक नियमित शारीरिक प्रक्रिया हो, जसले निश्चित उमेरपछि महिलालाई सन्तान उत्पादनका लागि योग्य बनाउँछ भन्ने कुराको जानकारी हुँदाहुँदै पनि छाउपडी विरुद्ध काठमाडौँदेखि सुदूरपश्चिमसम्म अभियान चलाउने महिला अभियन्ता आफूले महिनावारी बार्छिन् कि बार्दिनन् ? भान्छा वा मन्दिरमा पस्छिन् कि पस्दिनन् । पुरुष अभियन्ताले आफ्ना घरका आमा, श्रीमती, छोरीलाई महिनावारी अपवित्र होइन, बार्नु पर्दैन भनेर प्रेरित गर्छन् कि गर्दैनन् ?

यदि गर्दैनन् भने आफ्नो मानसिकतामा छाउपडी बोकेर छाउपडी विरुद्ध अभियान चलाउनुको कुनै अर्थ छैन । अबको आवश्यकता छाउपडी गोठ भत्काउने हैन, छाउपडी मानसिकता भत्काउने हो ।

असार १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्