चलचित्र समीक्षा

बाबु र छोरा बिचमा ‘माया’ छुटेको आप्पा

भन्छन्, संसारमा सबैभन्दा असामान्य माया हो। कहाँ कुन बेला कसरी हुन्छ भन्ने थाहा हुँदैन, माया नै एउटा यस्तो चिज हो रे जुन किन हुन्छ भन्ने ठ्याक्कै कारण हुँदैन। यस्तै असामान्य मायाको कथा हो चलचित्र ‘आप्पा’।

नामैले बुझ्न सकिन्छ, ‘चलचित्र बाबुको सन्तानप्रतिको मायाको कथा हो।’ जसले आफ्नो सन्तानको लागि जे पनि गर्न तयार हुन्छ।

के हो कथा ?


बिर्खेको भूमिकामा देखिएका दयाहाङ राई दार्जिलिङ, कालिङपोङमा जीप ड्राइभर हुन्छन्। रक्सीको चुस्का लगाउने र सबैलाई हसाउँने मिजासिला बिन्दास । उनको ग्राहक बन्न आइपुगेका बंगालीको एक परिवार बिर्खेले चलाएको जिप दुर्घटनामा पर्छन्। बिर्खे र एक बालक मात्रै बाँच्छन्। यही बालक सिद्धार्थ र बाबु बिर्खेको हुुर्कदाको कथा चलचित्रले बोल्छ।

बंगालीको बच्चालाई आफ्नो सन्तान बनाएपछि बिर्खेमा परिवर्तन आउँछ, बेपरवाह र लापरवाह बिर्खे सन्तानको लागि धेरै जिम्मेवार हुन्छ। आफू ड्राइभर भएकोले आफ्नो छोरालाई राम्रो शिक्षा दिनको लागि चर्चमा राखिदिन्छ।

यस पछाडि चलचित्रमा के कस्ता उतारचढाव आउँछन्, बंगाली छोरा सिद्धार्थ र आप्पा बिर्खेको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने कुरा थाहा पाउन हलसम्म जानै पर्ने हुन्छ। तर चलचित्रले युवा युवतीको प्रेम अनि त्यसमा आउने उतार चढाव भन्दा फरक कथा बोलेको छ। माया कै भए पनि ‘बाबु छोरा बिचको माया’ कथा हो आप्पा।

राम्रो पक्ष


केही समय अगाडि निर्देशक तथा कथाकार अनमोल गुरुङले कथा कसरी सिर्जना भएको भनेर व्याख्या गरेका थिए। केही भोगाईका कथा चलचित्रमा पस्किएको छ।

बिर्खेको पात्रमा देखिएका दयाहाङ राईको अभिनय उत्कृष्ट छ, एक्लो हुँदा उनको बिन्दास जीवन परिवर्तन भएको चित्रण गर्नु यथार्थ जीवनमा मिल्न आउँछ।

चलचित्र कालिङपोङमा खिचिएको छ, त्यहाँको जनजीवन र लवज सुहाउँदो लाग्छ। शहरको बिलासिता भन्दा थोरै पर बसेर स्थानीय लवज टिपेका कलाकारमा अरुणा कार्की पनि एक हुन्। यस्तै यसै चलचित्र मार्फत डेब्यू गरेका सिद्धार्थ राज तामाङ र अलोना काबो लेप्चा नयाँ अनुहार भए पनि पोक्त देखिएका छन्।

कालिङपोङका निम्न तहका मानिसको जीवनशैलि प्रस्तुत गरिएको छ। त्यहाँको सुन्दर हरियालि वातावरणले कालिङपोङको सुन्दरता झलझल पारेको छ।

युवा अवस्थामा बस्ने माया अनि परिवारले वर्गीय रुपमा छुट्याउने प्रथा पनि चलचित्रमा देखाइएको छ।

चलचित्रको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सन्तान हुर्कदै गर्दा अभिभावकले आफूलाई त्यही अनुसार ढाल्नु पर्छ नत्र भने जेनेरेशन ग्याप हुँदा कस्ता खालका समस्या देखिन्छन् भन्ने प्रस्तुत गर्नु हो। सानो हुँदा छोराले आफूलाई आफ्नो लवाई, लवजमा स्वीकारेको हुन्छ पछि यो अवस्था परिवर्तन हुँदा बिर्खेलाई नराम्रो लाग्छ, सन्तान हुर्केसँगै आफू पनि परिवर्तन हुनुपर्छ।

चलचित्रमा कालिङपोडको मृत्यु संस्कृति पनि देखाइएको छ। चर्चबाट कुनै मृत व्यक्तिलाई बिदा गर्दाको सँस्कारलाई चलचित्रले बाजागाजाको प्रयोग गरी रचनात्मक बनाएको छ।

फरक वातावरण जस्तै चलचित्रको गीतहरु पनि फरक स्वादका छन्। बेलाबेलामा हाँस्न पाइन्छ।

कमजोर पक्ष

आप्पा चलचित्रका निर्देशक अनमोल गुरुङ । तस्बिर : बर्षा शाह/देश सञ्चार

हामी चलचित्रको ठूलो बजार भएको देशको छेवैमा बस्छौँ। निर्देशक अनमोल आफै हिन्दी चलचित्रका फ्यान हुन्। त्यस हिसाबले चलचित्रका केही दृश्यहरु भारतीय चलचित्रसँग मिल्दा जुल्दा लाग्छन्। खैर प्रभावित हुनु प्राकृतिक हो।

धेरै नेपाली चलचित्रको समस्या भनेको दोस्रो हाफमा कोचाकोच हुने गरी कथा खाँद्नु र टुङ्गाउन हतार गर्नु हो। एक घण्टा ५० मिनेट लामो चलचित्रको पहिलो हाफ कथा स्थापित गर्दै सकिन्छ। दोस्रो हाफमा छोराको प्रेम सम्बन्ध स्थापित गर्दा गर्दै बाबुको स्नेहको प्रेमको कथा कता कता हराउँछ। सिदार्थ ठूलो हुँदा, विभिन्न क्रियाकलापमा सहभागी भई प्रेम बस्दासम्म बाबु बिर्खे गौण हुन्छन्। त्यतिबेलासम्म एक झल्को सम्झना छोरालाई बुबा र बाबुलाई छोराको पनि आउँदैन।

नेपालमा झण्डै एक दर्जन चलचित्रमा सहायक निर्देशक भएपछि निर्देशक बनेका अनमोलले छोरा र बाबु नजिकिनु तथा टाढिनुको भावनात्मक चित्रण गर्न कमजोर देखिएका छन्। बच्चालाई जिस्काएर नजिक पार्नु, सामान्य हेरचाह, बच्चाको इच्चा आकाङ्छा के हो र एक अर्काको जीवनमा हुने उपस्थितिले बन्ने र तोडिने भावनालाई चित्रण गरिएकै छैन। ‘यस्तो भयो रे’ जसरी हलुका पारिएको छ । कुनै कुनै बेलामा मात्र मन पोल्छ तर आँशु आँउदैन।

ठूलो भएपछि सिद्धार्थले आप्पालाई आफ्नो वास्तविक बाबुआमाको मृत्युको जिम्मेवार किन ठहराउँछन् र कस्तो कस्तो अवस्थाले वास्तविक बाबुआमा सम्झने बनायो भन्ने कुरा नदेखाई झ्वाट्ट हेला गरेको देखाइएको छ। यस्तै अर्को ‘एब्सेन्स’ कथा अन्त्य हुने समयमा हुने दुर्घटनापछिको छ। जहाँ सिद्धार्थले कसरी ‘आप्पाको महत्व रियलाइज’ गर्छन् दर्शकले गेस गर्नुपर्छ। अन्तिममा आप्पाको नाममा दिइने भाषण र त्यसपछि साथीहरुले आप्पालाई सम्झेर फोनमा माया प्रस्तुत गर्नु अति नाटकीय नै लाग्छ।

वरिष्ठ कलाकार तुलसी घिमिरे ‘फादर’ को भूमिकामा छन् तर उनलाई दर्पणछायामा देख्ने दर्शकले यहाँ केही नयाँ पाउँदैनन्।

दयाहाङ राई निर्वल, निसाहाय देखिन्छन्। चलचित्रमा जे हुन्छ परिस्थितीले पारिल्याएको अवस्थामा उनी बरालिँदै जान्छन्, उनले नयाँ तरिकाबाट सोच्नै चाहँदैनन्। न जिद्दी छन् न आक्रमक नै ।

पछिल्लो केही समयदेखि चलचित्र हेर्न जाँदा धेरै आशा लिएर नजानु भन्छन्। तर पनि त्यति राम्रो सिनेम्याटोग्राफी अनि पोक्त कलाकारलाई पर्दामा देख्दा कथा पनि उत्कृष्ट बनोस् भन्ने अपेक्षा आफै आउँदो रहेछ। आकाशभन्दा फराकिलो सन्तानप्रतिको बाबुको ममतालाई प्रदर्शित गर्ने कथालाई ‘कथा’ जस्तो मात्र नबनाईदिएको भए हुन्थ्यो जस्तो लाग्यो। सबै राम्रो लाग्दा लाग्दै के छुट्यो के छुट्यो जस्तो हुन्छ।

अन्त्यमा, अनमोल अनुभवी हुन्, पछिल्लो चलचित्रमा फरकपन आउने आशा गरौँ।

अ साँच्ची, कथा पूर्ण हुनलाई भिलेन हुनैपर्छ भन्ने मान्यता यो चलचित्रले तोडेको छ है।

असार १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्