देखेको दृश्यलाई व्‍यवहारमा उतार्ने प्रयास

गौरादहका सुमनले बनाउँदैछन् सुरक्षा कवच ‘आइरन म्यान’

आइरन म्यान बनाउँदै झापा गौरादहका सुमन माझी। तस्बिर-उमाकान्त खनाल/देश सञ्‍चार

एउटा चलचित्र हेरेपछि सोही चलचित्रमा देखाइएका दृश्य हेरेर वास्तविक जीवनमा त्यसलाई उतार्ने काम सम्भवतः कसैले पनि गर्दैन। तर झापा गौरादहका एकजना युवकले त्यस्तो काम गरेका छन्।

गौरादह नगरपालिका २ घर भएका सुमन माझीले केहि बर्ष अघि एउटा चलचित्र हेरेका थिए। उनले हेरेको चलचित्रको नाम थियो ‘आईरन म्यान’। उक्त चलचित्रमा त्यो आईरन म्यानले धेरैको ज्यान बचाएको र धेरैलाई राम्रो काम गरेको उनले हेरेका थिए।

विज्ञापन

त्यो चलचित्र हेरेर फर्किएको रात निन्द्रा नपरेको अनुभव उनले सुनाए। रातभर सोचेपछि उनी निश्कर्षमा पुगे, ‘म पनि आईरन म्यान बनाउँछु।’ तर त्यो काम गर्न भने सहज थिएन।

सुमन दमकमा रहेको एउटा सहकारी संस्थामा काम गर्छन्।उनी दैनिक दमक आउने जाने गरिरहन्छन्। यहि क्रममा उनको भेट भयो दमकका अर्का युवा मोहम्मद साहिद खानसँग। सुमनले खानलाई आफ्नो योजना सुनाए।

खानले पनि सुमनको कुरालाई निक्कै गम्भीर भएर सोचे अनि ‘मिलेर गरौं न त’ भन्ने जवाफ फर्काए।

त्यसपछि उनीहरुले यसलाई एउटा प्रोजेक्टको नाम दिए, ‘आईरन म्यान’। त्यसपछि यी दुवै युवा आवश्यक सर–सामान जुटाउन थाले। काम थालेको ६ महिना बित्दा उनीहरुले आईरन म्यान निर्माणको काम ५० प्रतिशत सम्पन्न गरेका छन् ।

नाम फलामको मान्छे भएपनि यो मान्छे भने हाईन, मान्छेको सुरक्षा कवच हो। यो आईरन म्यान बिशेष गरेर प्रहरीको सुरक्षालाई लक्षित गरि निर्माण थालिएको निर्माणमा खटिरहेका सुमनले सुनाए।

देशमा हुने हिंशा अनि झडपमा यो सुरक्षा कवच प्रहरीका लागि भने निक्कै उपयोगी हुने माझीले बताए। मान्छेको शरिरको आकार अनुसारका पूर्जा बनाउने काम भइरहेको उनले बताए। उनले भने, ‘अहिले टिनका पाता तथा विभिन्‍न धातु प्रयोग गरेर आइरन म्यान बनाउने काम भइरहेको छ।’

यसलाई पूर्णता दिन अझै केही महिना लाग्‍ने सुमनको भनाइ छ। उनले भने, ‘जुन काम हामीले गरिरहेका छौं यो प्रहरीको सुरक्षाका लागि आवश्यक बस्तु हुनेछ भन्ने हामीलाई लागेको छ।’ उक्त कामका लागि उनीहरुले अहिलेसम्म करिब डेढ लाख रुपैयाँ खर्च गरेको सुमनले बताए।

असार १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू