आफ्ना छोराछोरीको साथी बन्ने कि उपदेशक?

एउटा किसानले बारीमा काउली, मुला, आलु, प्याज, सिमी, भ्यान्टा, गोलभेँडाजस्ता विभिन्न तरकारी रोप्छ। हरेक जातका तरकारीको विशेषता बुझ्छ, कुन-कुन तरकारीलाई कस्तो माटो र मलजल चाहिन्छ भन्ने थाहा पाउँछ। तरकारीको प्रकृतिअनुसार सबैलाई आवश्यक र उचित मलजल गर्छ र स्वस्थ तरकारी उब्जाउँछ। किरा नलागेका र सप्रेका तरकारी देख्दा उचित मूल्य पाउने आशाले एकातिर किसान मख्ख हुन्छ भने राम्रो खान पाइने भयो भनेर ग्राहक पनि खुशी।

विभिन्न तरकारीको विभिन्न विशेषता भएजस्तै हरेक बालबालिकाको स्वभाव पनि भिन्नभिन्न हुन्छ। उनीहरुलाई उनीहरुकै स्वभाव बुझेर अभिभावकत्व प्रदान गर्नु आवश्यक हुन्छ। जसरी एउटा किसानले तरकारी सप्रिऊन् भनेर अहोरात्र तिनकै गोडमेलमा आफूलाई समर्पित गर्छ, त्यसरी नै अभिभावकले पनि आफ्ना सन्तान सत्मार्गमा हिँडुन् भनेर चाहेका हुन्छन् नै।

आम अभिभावकको चाहना हुन्छ- आफ्ना सन्तानले राम्रो काम गरुन्, उन्नति गरुन्, अनुशासित होऊन्। राम्रो शिक्षा पाऊन् र अङ्ग्रेजी फररर बोल्न जानून्। त्यसैले स्कुलको मासिक शुल्कले बरु आफ्नो शिर नै किन नथिचोस्, आफ्ना छोराछोरीलाई ढाड नै कुप्रो पर्ने गरी किताबका गह्रौँ भारी बोकाएर यथासक्य निजी विद्यालय (जहाँ अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराइन्छ) मा नै पठाउँछन् अभिभावक। उनीहरुको आशा हुन्छ- कम्तीमा विश्वविद्यालयको शिक्षा उत्तीर्ण गरिसकेपछि आफ्ना छोराछोरीले राम्रो रोजगार पाऊन्।

अभिभावकको यही आशाको सिकार बन्छन् बालबालिका र मेसिनजसरी विद्यालय, शिक्षक र बुबाआमाको अरनखटनको बन्दी बन्छन्।

स्कुलमा शिक्षकको र घरमा अभिभावकको दबाब ‘रेसिस्ट’ गर्न सक्दैनन् र जबर्जस्ती किताबमै घोप्टिन्छन्। घरमा पाहुना आएगएको मतलब गर्न भ्याउँदैनन्। दश-बाह्र कक्षा पढुन्जेल एक छाक भात पकाउने मौका पाउँदैनन्। नातेदार र आफन्तसँग आत्मीय अनुभूति साट्न पाउँदैनन्। अनि फेरि आफ्ना छोराछोरी एकलकाँटे, असामाजिक, अव्यवहारिक, अनुपयोगी भए भन्ने अभिभावककै गुनासो।

शैक्षिक पाठ्यक्रमको कमीकमजोरी र बालबालिकाका हुर्काइबारे यदाकदा छलफल भएको र सञ्चार माध्यममा लेख आएको देखिन्छ। स्कुलको शिक्षाले विद्यार्थीलाई किताबी भारी मात्र बोकाएको तर व्यावहारिक शिक्षा नदिएको भनेर अभिभावकको गुनासो पनि सुनिन्छ। यसले के संकेत गर्छ भने हाम्रा छोराछोरी, हाम्रा बालबालिकाले सही संस्कार, सही शिक्षा र सही बाटो पाइरहेका छैनन्। शैक्षिक पाठ्यक्रममा सुधार ल्याउन र व्यावहारिक बनाउन समय लाग्ला र त्यो तपाईँ-हाम्रो बुताको विषयमात्र नहोला तर आफ्ना बालबालिकाकालाई उनीहरुकै अपार सम्भावना खोतल्न र समाजको एउटा उपयोगी पात्रका रुपमा विकास गर्न अभिभावकहरुको भूमिका सबैभन्दा प्रमुख हुन्छ।

भनिन्छ- एउटा बालकको व्यवहार उसका अभिभावकको व्यवहार र उसको प्राकृतिक हुर्काइबीचको द्वन्द्वले निर्माण हुन्छ। अभिभावकको व्यवहार र सिकाइले बालबालिकाको जीवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको  हुन्छ। सन्तानलाई कस्तो अभिभावकत्व दिने भन्ने विषयमा विश्वमा धेरै खोज भएका छन्। मार्गारेट स्पेलिङ्सको एक अध्ययनले भन्छ, ‘हरेक बालकले विद्यालय र जीवनमा कसरी सफल हुने भन्ने सामर्थ्य राख्छन् र हरेक अभिभावक वा परिवारका सदस्यले उसलाई मद्दत गर्न सक्छन्।’

यहीँनेर एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। कसरी हामीले एउटा बालकलाई सफल बन्न मद्दत गर्न सक्छौँ?

सबैभन्दा पहिला आफ्नो बालबालिकाको स्वभाव अभिभावकले बुझ्नु जरुरी छ। बालबालिकाले कसरी सिक्छन् र सिकाइका लागि हामी उनीहरुलाई कसरी तयार गर्दैछौँ भन्ने प्रश्नमा एकैछिन विचार गर्‍यौँ भने उत्तर पनि भेटिएला। एउटा परिवारले कति कमाउँछ वा अभिभावकको शैक्षिक हैसियत के होभन्दा महत्त्वपूर्ण आफ्ना बालबालिकाका लागि एउटा परिवारले के लगानी वा योगदान गर्छ भन्ने नै हो।

हाम्रो समाजमा हुर्काइको अभ्यास कस्तो छ भन्ने बुझ्न एकपटक आफ्नै बाल्यकालतर्फ फर्केर हेरौँ। आफ्ना छरछिमेकी र आफन्तकहाँ हुर्किरहेका बालबालिकालाई हेरौँ। ती बालबालिकालाई ‘यसो गर, उसो गर’ भनेर दिइएका अर्ती-उपदेश विचार गरौँ। हाम्रो भाषालाई विचार गरौँ। हाम्रा घरमा भएका सरसामान र फर्निचर हेरौँ। के हाम्रो अभ्यास र परिवेश बालमैत्री छ? हाम्रा एकोहोरो उपदेशले उनीहरुलाई जिज्ञासु बनाउँदै छ या सीमित र संकुचित? हाम्रा व्यवहारले उनीहरुलाई आफ्ना विचार खुलेर राख्न सक्ने निडर बनाउँदैछन् वा आफूलाई असह्य पीडा र अन्याय हुँदा पनि बोल्दै नबोल्ने काँतर बनाउँदैछन्? आफ्ना बालबालिका कति समाज उपयोगी हुँदैछन् र उनीहरुको त्यसतर्फको यात्रामा हामीले मद्दत गर्न सकिरहेका छौँ वा छैनौँ भन्नेबारे अभिभावकले घोत्लिनैपर्छ।

वातावरण, प्रेम र मलजल दिएर अवलोकन र मन्थनको गुण हामीले अभ्यास र व्यवहारहरुबाट बालबालिकामा विकास गर्न मद्दत गर्नसक्यौँ भने उनीहरु बारीको तरकारीजसरी नै उन्नत रुपमा सप्रिन सक्नेछन्-  समाज विकासको उपयोगी खुराक बनेर।

एकैछिन सोच्नुस् त तपाईँ र तपाईँका छोराछोरी, भाइबहिनी, भदाभदै, भाञ्जाभाञ्जी, भतिजभतिजीले बोल्ने भाषा र तपाईँले बोल्ने भाषा उस्तै छ कि फरक? पक्कै पनि उस्तै। तपाईँ र ती बालबालिकाको काम गर्ने शैली उस्तै छ कि फरक? पक्कै पनि उस्तै। तपाईँले जे बोल्नुहुन्छ, जसरी काम गर्नुहुन्छ, उनीहरुले त्यही अनुसरण गर्छन्। तपाईँको दैनिक जीवनमा तपाईँ जुन विषयलाई महत्त्व दिनुहुन्छ, उनीहरुले पनि सोही सिको गरिरहेका हुन्छन्। अभिभावक कति सकारात्मक छन्, कति अनुशासित छन्, कति मेहनती छन्, कति संयमित छन् भन्ने कुराले उनीहरुका सन्तानमा प्रत्यक्ष प्रभाव पार्ने तथ्य मनोवैज्ञानिकद्वय क्यारोलिन र फिलिप कोवानको एक अध्ययनले देखाएको छ। बालबालिकाले अभिभावकका गतिविधिहरुको अवलोकन र अनुसरण गरिरहेका हुन्छन्। उनीहरुले नजानिँदो पारामा हामीबाट सभ्यता र संस्कार सिकिरहेका हुन्छन्। एउटा मान्छे असल स्वभावको हुनु वा नहुनुमा ऊ आफू, उसले पाएको पारिवारिक संस्कार, विद्यालयीय शिक्षा र समाजको चरित्र सबै उत्तिकै कारक हुन्छन्।

हरेक बालबालिकालाई कसरी हुर्काउने वा कस्तो वातावरण दिने भन्ने सूत्र माथि भनिएजसरी नै बालबालिकापिच्छे फरक र अद्वितीय हुन्छ। यद्यपि धेरै बालबालिकामा उपयोगी सावित भइसकेका र सर्वकालीन रुपमा प्रभावपूर्ण केही उपायबारे एकैछिन घोत्लिऔँ।

१. बच्चालाई पढ्न उक्साऔँ

घरमा आफूले पढ्ने गर्‍यो भने बालबालिकाले पनि पढ्ने रहर गर्छन्। थोरै समय नै किन नहोस्, बालबालिकासँगै बसेर आफूले पनि पढ्ने गर्नुस्। पढाइको विषयमा बालबालिकासँग गफ गर्नुहोस्। रमाइला कथा पढ्नुभएको छ भने बालबालिकालाई पनि सुनाउनुहोस्। पढ्ने सामग्री, जस्तै- पत्रपत्रिका, किताब, म्यागजिन, कथा आदि घरमा राख्नुहोस्। जन्मदिन वा अरु केही विशेष अवसरमा उसले मन पराउने खालका किताब उपहार दिनुहोस्। पढाइको महत्त्व छ भन्ने बालबालिकालाई उपदेशले होइन, व्यवहार र दृष्टान्तले बुझाउनुहोस्। तपाईँ रमाइलो वा आनन्दका लागि पनि पढ्नुहुन्छ वा महत्त्वपूर्ण जानकारीका लागि पनि पढ्नुहुन्छ भन्ने बालबालिकालाई थाहा दिनुहोस्।

२. आफ्ना बालबालिकासँग गफ गरौँ

बालबालिकासँग गफ गर्नु र उनीहरुको कुरा ध्यान दिएर सुन्नुले सिकाइ प्रक्रियामा ठूलो प्रभाव पार्छ। बालबालिकासँग मायालु भावले प्रश्न सोध्ने र सोधेका प्रश्नमा राम्ररी जवाफ दिने गर्दा उसमा बोल्ने र सुन्ने दुवै क्षमताको विकासमा मद्दत पुग्छ। आफ्ना कुरा राम्ररी भन्न सक्ने र अरुको कुरा ध्यानपूर्वक सुन्न सक्ने एउटा महत्त्वपूर्ण कला हो जुन बालबालिकाले आफैँले महसुस गरुन्।

३. बालबालिकालाई जिम्मेवार र आत्मनिर्भर तरिकाले काम गर्न प्रेरित गरौँ

जिम्मेवारी वहन गर्नु र आत्मनिर्भर भएर काम गर्न सक्नु उपयोगी जीवनका महत्त्वपूर्ण गुण हुन्। त्यसैले आफ्ना बालबालिकालाई स्वावलम्बी हुन मद्दत गर्नुस्। घरमा केही नियम बनाउनुस् र ती नियम आफू पनि पालना गर्नुस्। जस्तै- सबैले आफ्ना कपडा आफैँ मिलाउने। आफ्ना स्कुल वा अफिसका ब्याग सम्बन्धित ठाउँमा राख्ने। बालबालिकाले राम्ररी मिलाउन जानेनन् भने यसरी मिलाउने भनेर सघाउने।

बालबालिकालाई जिम्मेवार हुन सिकाउने। जस्तै- सिसाकलम तिखार्दा निस्केको फोहोरलाई डस्टबिनमै फाल्ने। किताबकापी छरपस्ट नफाल्ने। बालबालिकालाई पनि उनीहरुले गर्न सक्ने घरको काममा सहभागी बनाउने। जस्तै- घर सरसफाइ गर्दा उनीहरुलाई खेल्ने सामान ठिक ठाउँमा राख्न लगाउने। समयको महत्ताबारे बुझाउन प्रयास गर्ने। कामलाइ विभिन्न भागमा बाँडेर गर्न सिकाउँदा बालबालिकाले तनाव र समय दुवैको व्यवस्थापन गर्न सिक्दै जान्छ। समयमा सुत्ने, उठ्ने, खाने, गृहकार्य गर्ने, खेल्ने सबै काम भाग लगाएर गर्न सिकाउँदा समय व्यवस्थापनको अभ्यास हुँदै जान्छ।

४. बालबालिकालाई सक्रिय सिकाइमा उक्साऔँ

बालबालिकाले काम गरिरहेको बखत उसलाई कस्तो लागिरहेको छ भनेर सोध्ने गर्नुस्। उसको अनुभव र विचार ध्यान दिएर सुन्ने गर्नुस्। कुनै खेल खेल्दा होस् वा गृहकार्य गर्दा- उसले के गरिरहेको छ वा कसरी गरिरहेको छ, विचार गर्नुस्। कुनै परिकार खाँदा होस् वा कुनै नयाँ ठाउँ घुमाउन लैजाँदा- उसलाई उत्सुकता जाग्ने गरी ती परिकार र ठाउँको व्याख्या गरिदिनोस्।

५. बालबालिकालाई सहयोगी र उदार बन्न प्रोत्साहन दिऔँ

डाक्टर मार्क होल्डरको एक अध्ययनले देखाएको छ, परिवारभित्र होस् वा बाहिर- बालबालिकालाई सहयोग गर्ने मौका दिनुपर्छ। जुन बालकले आफ्नो जीवनको महत्व बुझ्छ, ऊ वास्तवमै खुसी मान्छे हो। परिवारभित्र होस् वा साथीभाइसँग खेल्दा- आवश्यक परेको ठाउँमा सहयोग गर्नुपर्छ भन्ने बालबालिकालाई थाहा दिनुपर्छ।

बालबालिकालाई अभिभावकले वातावरण र प्रेम दिनुपर्छ, नकि आफूले जानेका वा पाएका ज्ञानहरु थोपर्ने। प्रकृति र समाजको दिशामा फक्रन हामीले उनीहरुलाई राम्ररी मलजल गर्‍यौँ भने उनीहरुको सम्पूर्ण मानसिक र शारीरिक विकास सम्भव हुन्छ। वातावरण, प्रेम र मलजल दिएर अवलोकन र मन्थनको गुण हामीले अभ्यास र व्यवहारहरुबाट बालबालिकामा विकास गर्न मद्दत गर्नसक्यौँ भने उनीहरु बारीको तरकारीजसरी नै उन्नत रुपमा सप्रिन सक्नेछन्-  समाज विकासको उपयोगी खुराक बनेर।

असार १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्