दुर्व्यसनको दलदलमा भासिएका एक डाक्टरको ‘रिह्याव’ यात्रा

सांकेतिक तस्बिर

काठमाडौँ – सेतो एप्रोन अनि काँधमा स्टेथेस्कोप भिरेर बिरामीको उचार गर्ने सपना कुन चाहिँ डाक्टरको हुँदैन हाला र? यस्तै सपना सुनिल केसी (नाम परिर्वतन) को पनि थियो।

सुनिलले १२ कक्षाको परीक्षा दिए। परीक्षा सकिने बित्तिकै उनका साथीहरुले आ–आफ्नो बाटो रोज्दै थिए। उनलाई परीक्षा पछि के पढ्ने भनेर धेरै सोच्न परेन। उनको सपना थियो, डाक्टर बन्ने।

आफ्नो सपना पूरा गर्न उनले परीक्षा सकिने बित्तिकै एमबिबिएसका लागि तयारी कक्षा सुरु गरे। उनीले आफू पढ्नमा ट्यालेन्ट भएको बताउँदै भने, ‘सपनाको कुरा थियो धेरै मेहनत गरेर पढेँ। फारम भरे। नाम पनि निस्कियो । एमबिबिएसमा नाम निस्केको दिन म निकै खुशी भए’ उनले भने।

नाम निस्केपछि उनी आफ्नो सपना साकार हुने कुरामा विश्वस्त भए। पढाई सुरु भयो। सुरुका वर्षहरुमा सुनिलले मन लगाएर पढ्न थाले। मन लगाएर नपढुन पनि किन उनको सपनाको कुरा जो थियो।

उनी होस्टेल बसेर पढिरहेका थिए। चौथो वर्षको अन्त्य तिर उनको ध्यान पढाई बाहेक रमाइलो तर्फ बढ्न थाल्यो। उनको साथीहरुसँग भेटघाट पनि बाक्लिँदै गयो। साथिसँगको पार्टी अनि भेटघाटमा सक्रिय बन्न थालेका सुनिललाई साथिहरुले ड्रग्सको प्रयोग गर्न लगाए।

पहिलो पटक सुनिललाई डर लागेता पनि अलि–अलि गर्दै सेवन गर्न थाले। ड्रग्सको प्रयोग गरिहँदा उनलाई पढाई सँगसँगै आफू स्माट भएको भान हुन थाल्यो। तर उनी त्यहि थोरै–थोरै सेवन गर्दै गर्दा लागुपदार्थ दुर्व्यसनमा फस्दै गए। उनलाई थाहै भएन उनी आफ्नो सपनालाई आफैले तुहाउँदै थिए।

उनले भने, ‘मैले आफूलाई राम्रो बनाउन ड्रग्स सेवन गरेको थिएँ तर बिस्तारै–बिस्तारै त्यसको चङ्गुलमा फस्दै गएँ।’ उनी दुव्र्यसनीमा फस्दै गए पनि जसोतसो आफ्नो पढाई भने पूरा गरे। उनले भने,‘मसँगै दुव्र्यसनमा फसेकाहरुले कतिले पढाई नै छोडे, धन्न मैले पढाई पूरा गरेँ।’

उनले पढाई पूरा गर्नुलाई नै उपलब्धी ठाने। त्यसमै मख्ख थिए। पछि आउने अवस्थाको बारेमा उनी जानकार नभएको उनले बताए। उनले भने,‘पढाई सकिएपछि मैले एक अस्पतालमा काम सुरु गरेँ, म एडिक्ट भइसकेका कारण मेरो शारीरिक र मानसिक तालमेल भने पटक्कै मिलेन, जसले गर्दा मलाई काम गर्न गाह्रो भयो।’

उनले बिरामीलाई राम्रोसँग कन्सल्ट गर्न सकेनन्। अस्पतालका स्टाफ, बिरामीसँग उनी झर्किन थाले। अस्पतालले भनेको काम मान्न छोडे। उनले भने, ‘मनले मलाई एउटा काम गर्न भन्थ्यो भने दिमागले अर्को, बिस्तारै म समयमा आफ्नो काम पूरा गर्न नसक्ने र डियूटी नै जान नसक्ने अवस्थामा पुगेँ।’

काममा गम्भीर नभएको भन्दै अस्पतालले उनलाई कामबाट हटायो । कामबाट निकालिएता पनि ड्रग्सको नशाले उनलाई छोड्न सकेन। उनले भने, ‘मलाई आदत भइसकेको थियो, ड्रग्स बिना म केही पनि गर्न नसक्ने भइसकेको थिएँ, डोज पनि बढ्दै गयो।’

दुर्व्यसनमा झनझन फस्दै जाँदा उनले एक दिन आफूले गलत गरिरहेको महसुस गरेको बताए। उनले भने, ‘आफैले आफैलाई कन्भिन्स गरेँ र रिह्याव जाने निर्णय गरेँ।’ उनको त्यो निर्णयलाई उनको परिवारले सहयाग गर्‍यो।

जीन्दगीको सबै भन्दा महत्वपूर्ण समय गुमाएको महसुस अहिले आफूलाई हुने गरेको उनी बताउँछन् । ‘खैर जे भयो भयो, मलाई आफूले गरेको कुरामा पश्चाताप भइरहेको छ र अहिले त्यसलाई सुधार गर्दैछु, मेरा लागि ठूलो कुरा यही हो’, लामो स्वास तान्दै उनले भने ।

असार १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू