साउदी युवराजलाई ‘मेरो साथी’ भनेका ट्रम्पले उत्तर कोरियाका नेता किमलाई गरे भेटको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई भटेका लागि निम्तो दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर डिएमजेड क्षेत्रमा भेटका लागि आह्वान गरेका हुन् ।
डिएमजेड अर्थात डिमिलिटराइज्ड जोन, उत्तर र दक्षिण कोरियाको त्यो क्षेत्र हो जसले दुई देशलाई छुट्याउँछ । जी–ट्वेन्टी सम्मेलनका लागि जापानमा रहेका ट्रम्प त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जाने छन् ।
उनी शनिबार दक्षिण कोरियाको राजधानी सिओल पुग्ने छन् । दुई दिनको दक्षिण कोरिया बसाईको क्रममा ट्रम्पले उत्तर कोरियासँग रोकिएको परमाणु निशस्त्रिकरण सम्बन्धी वार्तालाई पुनः जीवन दिने प्रयास गर्ने छन् ।
ओसाकामा भएको जी–ट्वेन्टी सम्मेलनलाई सम्बोधन गरेका ट्रम्पले पत्रकारसँगको कुराकानीमा किमसँगको भेटका लागि प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले भने, ‘यदी उनी (किम) यहाँ उपस्थित भएको भए हामीबिच भेटवार्ता हुने थियो दुई मिनेटका लागि ।’
JUST IN: President Trump meets with Saudi Crown Prince bin Salman at G-20 in Japan, calls him “a friend of mine” and says that he’s done “really a spectacular job” and that it’s a “great honor” to meet with him. pic.twitter.com/cKvZ8qWFQc
— MSNBC (@MSNBC) June 29, 2019
ट्रम्पले सम्मेलनको क्रममा साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) सँग भेटवार्ता गरेका छन् । वर्किङ्ग ब्रेकफास्टको क्रममा ट्रम्प र एमबिएसबिच कुराकानी भएको हो ।
ट्रम्पले एमबिएस आफ्नो साथी रहेको बताएका छन् । पत्रकार जमाल खाशोग्गीको गएको वर्ष भएको हत्यामा क्राउन प्रिन्स एमबिएसको निर्देशन रहेको आरोप रहेको छ । तर ट्रम्पले भने वासिङ्गटन पोस्टका पत्रकार खाशोग्गीको हत्यामा एमबिएसलाई बित्थामा आरोप लगाइएको बताएका छन् ।
ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने तयारी छ ।