मेरो भोगाई

कू–दृष्टिको आतंकमा पत्रकारिता

इमान, ज्ञान, विवेक, प्रतिबद्धता र जागँरले टिक्छ पत्रकारिता । मेरो निजी अध्ययन र भोगाइको निष्कर्ष हो यो। संघर्ष र प्रतिकूल परिस्थितिसँगको सामना यो यात्राका नियमित नियति हुन्, महिलाका लागि अझ बढी।

आफ्ना भोगाईलाई सामान्यीकरण गर्नु पत्रकारिता हैन भनिन्छ। तर एउटै शैलीको व्यवहार अधिकांश ठाउँ र पात्रहरुबीच दोहोरिँदा यो आम प्रवृति बन्छ। समाजका त्यस्ता प्रवृति र पात्रबीच पत्रकारिता र पत्रकार, खासगरी महिला ‘पेशामा’ सुरक्षित होलान र ?

विज्ञापन

महिलाको निजत्व, रुप र शरीरमाथिका निर्वाद टिप्पणी यदाकदा सहानुभूतिको आवरणमा नियमित र एकतर्फी प्रवेश हुने गर्छन्, मेरा केही पुरुष स्रोतहरुसँगको व्यवसायीक भेटघाटमा।

हुन त उनीहरुको टिप्पणपछि ममा इख उत्पन्न हुन्छ । यसले मलाई शक्ति नै दिन्छ, लेख्न र भिड्न निरन्तर। तर मेरो मौनताले यतिका वर्षसम्म त्यो बदलिन नसकेको कुरुप सोचलाई झन फाइदा पुग्ने देख्छु।

मेरो हैन, म पछि पत्रकारितालाई पेशा बनाउने कलिला सोच र सपनाहरु भत्किने डर देख्छु यो मौनतामा। अनि समाजका त्यस्तै कुरुप सोच बदल्न खर्चिएका धनराशी र समय सम्झिँदा भत्भती पोल्छ मन, बेचैनी हुन्छ, निन्द्रा हराउँछ।

अचेल झन जव म पत्रकारिता पढाउन सबेरै कलेजको कक्षामा भित्रिन्छु तव पिरोलिन्छ मन, पत्रकारिता भर्खरै सुरुवात गरेका ती बहिनीहरुको आँखाको भावले । उनीहरुलाई पनि पुरुष सरह  काम गर्ने रहर छ, दृढ पनि देखिन्छन् त्यसमा तर भय एउटै छ उनीहरुमा कसैले केही भन्ने हुन् कि ?मेहनत गर्दा गर्दै पनि कदर नहुने हो कि? चुनौति सामनामै जीवन वित्ने हो कि?

सकेसम्म नयाँ अनुहार, प्रतिनिधिमुलकता, अनुभव र सूचना समाचारले माग्छ। त्यसप्रति समर्पित मेहनत आवश्यक हुन्छ। त्यो क्रममा कतिपय तिता पलहरुलाई पनि गुट्मुटाउन बाध्य बन्नुपर्छ, सार्वजनिक गरेको खण्डमा कमजोरको खोल ओढाइन्छ । त्यसैले उकुमुकुस वातावरणमा काम गर्नु बाध्यता या स्वाभाविकता जस्तै बन्न जान्छ।

विषय महत्वपूर्ण थियो समाचारका लागि । केही महिना अघि एक मन्त्रालयका उच्च अधिकारीसँग समय मागे आधिकारिक धारणा लिन। हाम्रो भेट पहिलो थिएन तर उनको व्यवहारले शंकाको बिउ रोपेको थियो । सचेत थिएँ म त्यसमा। भेट्नुको विकल्प भने मसँग थिएन।

एक दिन कुराएर समय दिए उनले । भेट्नासाथ प्रश्न तेर्साएँ। तर उनले जवाफ दिएनन्। पुर्लुक्क हेरेँ, उनका आँखा मेरा छातीतिर थिए। मैले अप्ठ्यारो मानेको उनले चाल पाए, ‘के लिनुहुन्छ चिया वा कोल्ड ड्रिङ्स। ‘सरी सर त्यो दुवै खाने बानी छैन मेरो’ मैले भने।

विषयवस्तुमा उनको ध्यान थिएन। फेरि भुलाउन खोजे मलाई उनले, ‘अनि के छ खबर ? बिहे भयो कि छैन ?’ उनले यसरी प्रश्न गर्दै थिए, मानौ अविवाहित भने भने मैले खोजेको सबै सूचना दिन्छन्। म विवाहित भएको सुन्न चाहान्नन्। त्यो अनुमानकाबीच म रिसले तातिएको थिए। तर सम्हाले आफूलाई यसअघिका कयौँ क्षणमा जस्तै । ‘सर हामी विषयवस्तुतिर जान सक्छौँ ?’ उनको ध्यान केन्द्रीत गर्न खोजेँ ।

त्यसपछि उनले अनुहार खुम्चाए। तर विषयवस्तु भन्दा बाहिर नै रहेर कुरा गर्न थाले । त्यो ठाउँमा पुरुष पत्रकार भएको भए शायद सहजै जवाफ पाउँथे। मनमनै आफैले आफैलाई प्रश्न गरेँ।

मलाई उनले अल्मलाउनुको कारण स्पष्ट थियो। कारण मैले उनलाई हेर्नबाट रोकेँ, निजी जीवनबारेका प्रश्नहरु टालेँ। म पत्रकार हुँ भन्ने उनी स्वीकार्न चाहँदैन थिए। एक निरिह महिला पात्र मात्र थिएँ म उनका लागि।

औपचारिक स्रोतबाट सूचना पाउने चाहना, आत्मसम्मान र स्वाभिमानप्रतिको मेरो आफ्नो सम्मानको द्वन्द्वकाबीच म निस्केँ, खिन्न र गरुंगो मनसहित । समाचार ‘लेनदेन’ को विषय हैन । यो मेरो पेशा र धर्म पनि हो।

स्कुटर मोडेँ कार्यालयतर्फ । जाममा सवारी साधनहरु एकपछि अर्को गर्दै रोकिए। पत्रकारितामा प्रवेशदेखि अहिलेसम्मका तस्बिरहरु आँखा अगाडि आएर बस्न थाले एकएक गर्दै। भविष्यबारे सोच्ने समय नै पाइन त्यसबेला।

करिब १४ वर्ष अघि, रिर्पोटिङ्गमा चाख थियो अहिले जस्तै । सुर्खेतको एउटा रेडियोमा काम सुरु गरेको केही समयमै पत्रकारिताको एउटा तालिममा सहभागी हुने मौका पाएँ ।

सबैसाथीहरु आफ्नै धुनमा थिए। निकै रुची थियो त्यो तालिमप्रति। तालिमको दोस्रो दिन, ‘ब्रेक टाइम’ थियो । खाजा लिएर एउटा टेबलमा बस्दै थिएँ । अघिल्तिरको कुर्चीमा एक सिनियर अनि नाम कहलिएका पत्रकार आएर बस्न मात्र के भ्याएका थिए प्रश्न गरे, ‘पत्रकारिता गर्न धेरै गाह्रो छ ।  केटी मान्छे, तिमीले सक्छेउ त ?’ म बोल्न नपाउँदै उनको अर्को प्रश्न आयो, ‘बिहे भयो तिम्रो ?’ त्यो प्रश्नले मलाई अवाक बनायो । उनी बोल्दै गर्दा मेरो छातीतिर उनले आँखा पुर्‍याएको क्षण अति असहज थियो।

तर त्यतिबेला अहिले जस्तो जुरुक्क उठेर हिँड्ने आट थिएन मसँग । त्यो एउटा अदृश्य हिंसाको रुप थियो भन्नेमा पनि स्पष्ट थिइन। त्यसैले उनले थप प्रश्न तेर्साउने मौका पाए । म हतोत्साहित भइरहेँ। तर त्यो एउटा एकल दृष्टान्त थिएन मेरो पेशागत यात्रामा ।

वास्तवमा विवाह नितान्त निजी मामिला हुन्छ सबैका लागि। त्यसलाई कति प्राथमिकतामा राख्ने भन्ने विषय पनि निजी नै हुन्छ। जन्मजात अधिकार हो त्यो । गाउँमा स्कूले जीवन पार पार गरेपछि  छिमेकी र आफन्तले आमालाई भन्ने गर्थे छोरीको विवाह गरिदिनु पर्‍यो अब ।

अधिकार पाएकी आमा पनि हिच्किचाइन् मलाई विवाहबारे सोध्न। पेशाप्रतिको मेरो  रहर र समर्पणको भावलाई उनले बुझेकी थिइन्। बुवा, दाई र भिनाजुले छोरी झन हक्की हुनु पर्छ भन्ने सिकाए ।मेरो दौढधूपलाई लिएर दिदी दंग  परिरहिन् ।

कार्यथलो भन्दा बाहिर साथीभाइले कहिँलेकाँही जिस्किएर विवाह भयो ? भन्नुलाई स्वाभाविक मानेँ । तर व्यवसायीक जीवनमा विवाह गौण र निजी हुन्छ र हुनुपर्छ भन्ने विश्वास सधैँ राखेँ।

विवाहित या अविवाहित हाम्रो जीवनले पत्रकारिता या अन्य पेशामा फरक पार्छ र ? विशुद्ध पेशागत भेटमा विवाहलाई लिएर तगारो हाल्ने प्रवृति कतिसम्म उचित हो । कथित बुद्धिजीविहरुलाई त्यसबारे किन त्यति गहिरो चासो ?

सपना ठूलो देख्दै अपरिचित काठमाडौँ छिर्दा सहास र आत्मविश्वास दुवै भर्दै थिएँ आफूमा म । प्रतिष्ठित रेडियोमा काम पाउनु मेरा लागि सानो कुरा थिएन ।  रेडियोका अधिकांश सहकर्मीबाट प्रेरणा पाएको थिएँ, मेरो मेहेनतको कदर पनि गर्नु हुन्थ्यो उहाँहरुले ।

रिर्पोटिङको सीलसीलामा एक दिन पाँचतारे होटलमा आयोजित एक पत्रकार सम्मेलनमा मैले पनि प्रश्न गरेँ। कार्यक्रम सकिन नपाउँदै नजिकै एक जना नामी डाक्टर हाँस्दै आएर बसे । अनि भने, ‘तपाईँले गज्जबको प्रश्न सोध्नु भयो, बधाई छ ।’

मैले धन्यबाद दिएँ। तर उनी त्यतिमा सीमित भएनन्, ‘के छ खबर?’, ‘सबै ठिकठाक’ मैले भने । एक छिन मौन रहे उनी। अनि फेरि अर्को प्रश्न गरे, ‘अनि के छ नयाँ खबर?’ उनले खोजेको नयाँ खबर मेरो विवाह नै थियो, जुन बुझ्न कठिन थिएन । तर मेरो जवाफ थियो, ‘त्यस्तो केही छैन ।’ ‘विवाह गर्नु भयो,’ उनको अन्तिम प्रश्न थियो। उनले सुरुमै जान्न चाहेको विषय आफै कोट्याए । मैले छैन भने ।

उनीप्रति बनेको मेरो नकारात्मक धारणालाई मनमै राखेँ। मेरो जवाफले उनी दंग देखिए । अर्थात म अविवाहित नै रहेको सुन्नासाथ उनको अनुहार उज्यालियो । औपचारिक कार्यक्रमको अन्तपछि म उनीसँग पन्छिन खोजेँ तर उनका आँखा मतिरै थिए।

पेशागत चिनजानको सम्बन्ध थियो उनको र मेरो। तर मेरो निजत्वलाई उनले आफ्नो सरोकारको विषय बनाउन खोजे । मैले त्यसमा विकृत र हस्तक्षेपकारी पुरुषत्व देखेँ । सहज अनुभव भएन हतार छ भन्दै निस्किएँ। पुरुष पत्रकारलाई जस्तै लामो समय बसेर विज्ञहरुका कुरा सुन्नबाट म बञ्चित भएँ।त्यस्ता अवसर मैले धेरै गुमाएँ अनावश्यक टिप्पणीले मन दुखी हुने डरले ।

वास्तवमा अविवाहित मात्रै होइन विवाहित महिलाप्रतिको व्यवहार पनि त्यस्तै असहज हुने गरेका छन् । मात्र भोगाई फरक । खासगरी कार्य र त्योसँग सरोकार राख्ने थलोमा। त्यो घटनाको केही महिनापछि एउटा मिल्ने पत्रकार साथीले रुन्चे मुख लगाएर भनिन्, ‘समाचारका लागि सूचना पाउन साह्रै गाह्रो छ हामी महिलालाई । मस्किएर समाचार ल्याउन सकिँदैन।’ उनको पीडा गहिरो थियो।

म आफै लडिरहेको, के उपाय दिनु? तर भने, ‘तिमीले काम नछोड।’ बिडम्बना हाल उनी पत्रकारितामा छैनन्। पत्रकारिताबाट उनको पलायनको कारण अरु पनि होलान् तर त्यसमा इटा थप्ने काम त्यस्ता घटनाहरुले गरेका छन्। हिंसा र यातना सहेर पनि अघि बढ्नु पर्ने परिस्थिति उनलाई स्वीकार्य थिएन।

रिर्पोटिङकै सिलसिलामा एकजना सिनियर पत्रकारसँग चिनजान भयो। उनी विवाहित थिइन्। घरको सम्पूर्ण काम सकेर हतारहतार कार्यक्रमहरुमा छिर्थिन्। कहिलेकाँही आफूले टिपेका सूचना उनलाई भनिदिन्थेँ। एउटा त्यस्तै कार्यक्रममा एकजना नामी व्यक्ति झुल्किए । उनी निकै विद्वान हुन् भन्ने सुनेको थिएँ। तर ती दिदीले समय मागे पनि उनले दिएका रहेनछन् ।

भेट हुनासाथ दिदीले ‘तपाईँले त समय नै दिनु भएन नि’ भनिन् । उनले दिदीको जवाफ दिन छोडेर मलाई हेर्न थाले। चासो राखे मेरो बारेमा। हुँदा हुँदा ‘भोलि अफिसतिर आउनुहोस् कुरा गरौँला’ भने मलाई। उनको हेराई अस्वाभिक थियो। मैले मात्रै होइन दिदीले पनि असहज मानिन्। मैले कुनै दिन आउँला भन्दै उनीबाट बिदा लिएँ त्यो दिन ।

केही महिना अघि मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो सिंहदरबारमा । पत्रकार सम्मेलन सकिना साथ सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको हलमा एक मन्त्रालयका प्रवक्ता ‘के छ खबर’ भन्दै म नजिक आए ।

मैले ‘ठिकै छ’ भन्दै मन्त्रालयको नयाँ गतिवधिबारे जिज्ञासा राखेँ । उनले सुने नसुनेको गरे र एकाएक टिप्पणी गरे, ‘तपाईँ कस्तो मोटाएको अचेल, घटाउनु पर्‍यो ज्यान, यस्तो त भएन ।’ म झसंग भएँ, ‘शरीर मेरो तपाईँलाई किन आपत्ती?’ मेरो मनमा उब्जिएको यो प्रश्न सोध्न पाइन ।

उनी हाँस्दै अघि बढिसकेका थिए। वास्तवमा उनले मेरोे प्रश्नको जवाफ किन दिन चाहेनन् ? म मोटाएका कारण या म महिला भएका कारण? अफिस पुगुञ्जेल मनमा कुरा खेल्यो, समाचारको ‘एङ्गल’ सोच्थे अघिपछि बाटोमा। तर त्यो दिन दिमागमा ती व्यक्तिका भद्दा शब्दहरु मात्रै थिए।

मोटाउनु मेरा लागि सहज छ । त्यसमा उनको किन असन्तुष्टि ? तितो लाग्ला कतिपयलाई । तर अधिकांश पुरुषहरुले महिलाको व्यवसायीक काम, शरीर र निजत्वलाई  एउटै डालोमा हाल्न खोज्छन् । अर्थात उनीहरुको प्राथमिकतामा महिलाको व्यवसायीक क्षमता  र वौद्धिकताको तर्क   भन्दा महिलाको निजी जीवन हुन्छ।

शारीरिक हिंसा जतिकै गहिरो छ हेरेर र बोलेर गरिने यस्ता हिंसा। त्यसले हामीलाई हतोत्साहित गर्छ र बाधक बन्छ हाम्रो प्रगतिमा ।

एक दिन रिपोर्टटिङबाट लखतरान भएर मैले काम गरेको एउटा कार्यालय नजिक पुग्दै थिएँ । कार्यालय बाहिर निस्कँदै गरेका एक सहकर्मीको कफी खाने अनुरोध नर्कान सकिन । औपचारिक कुरा भइरहेको थियो। एक्कासी उनले भने, ‘मज्जा नलिएरै तिम्रो जिन्दगी जानी भो है, विचरा ।’ विवाह नगरेकोमा दया देखाए उनले ।

त्यस्तो टिप्पणी उनीबाट मैले कहिल्यै अपेक्षा गरेको थिएन। मैले जिन्दगीको मज्जा लिने या नलिने विषयमा उनको दया किन? अनि एक महिला सहकर्मीलाई त्यस्तो विषयमा टिप्पणी गर्नु शोभनीय मानिन्छ र ?

‘ओहो तिम्रो अनुहारमा किन कालो दाग? आँखामुनि चाउरी परेछ’ वर्षाैँपछि भेटेका एक पुरुष साथीले चिन्ता प्रकट गरे ममाथि। मेरो अनुहारमा कालो दाग आएकोमा उनलाई किन असहयीय भयो ? मेरो गाला चाउरी पर्नु उनका लागि किन अस्वाभाविक? कारण म महिला भएकाले?

सामाजिक र आर्थिक सूचाङ्कले अधिकांश महिला पुरुष सरह अनि अझ बढी उत्सुकताका साथ काम गरेको र माथिल्लो स्तरमा पुगेको देखाउँछ । त्यो दौडमा पास हुने मलाई पनि हुट्हुटी छ ।

आफ्नै बलबुतामा र नेतृत्व लिने अवस्थामा हामी पुगेका छौँ । व्यवसायीक जीवनको सफलताका लागि कतिले विवाहलाई तिलाञ्जली दिए, कति परिवारबाट अलग भए, यो समाजले देखाएको डरका कारण। त्यसले मलाई पनि यदाकदा झस्काउँछ ।

तर पत्रकारिताले छाँटिएको कम्मर खोज्दैन । विवाहित, अविवाहित र रुप पनि राम्रो पत्रकारिताका पूर्व शर्त होइनन्। हाम्रो काम र क्षमताको बस्तुनिष्ट र विवेकपूर्ण टिप्पणी सुन्न चाहन्छौँ हामी ।

हामी महिला चुनौतिपूर्ण मानिएको व्यक्तिगत, पारिवारिक र सामाजिक जिम्मेवारी व्यवस्थापनमा सक्षम भइसकेका छौँ। अब सफल पेशागत जीवनका लागि अनकुल वातावरणको खाँचो छ ।

क्षमता देखाउँछौँ तर पुरुषलाई किन यो स्वीकार्य छैन । महिलाका नाममा उनीहरुको व्यक्तिगत चासो, टिप्पणी र घोचपेचको शृङ्खला अन्त्य गरिदिए त्यो वातावरणमा सहयोग पुग्छ । बाँकी हामी आफै गर्न सक्छौँ।

तर विडम्बना त्यो सोचमा छ। त्यो सोचले महिलालाई उपहास र मनोरञ्जनको बस्तु ठान्छ। त्यो सोचले हामीलाई कमजोर मात्रै आक्छ । अनि हामीसँग साखुल्ले भएर पछुतो मात्रै मान्यो अविवाहित भएकोमा, र वेवास्ता गर्‍यो विवाहित भएकोमा ।

त्यस्तो सोच समाज हाक्ने जिम्मेवारी लिएकाहरुमै बढी हुुनु समाज र मुलुककै लागि प्रतिगामी बन्छ। अशिक्षितबाट के अपेक्षा गर्ने?

यो बीचमा राज्य सञ्चालनका विधिहरु नै फेरिए । सामाजिक र आर्थिक परिवर्तन पनि देखिए। तर पुरुषले महिलालाई हेर्ने सोचमा कुनै बदलाव आएको छैन । सुर्खेतदेखि सिंहदरबारसम्मको यात्रामा– विवाह, शरीर, रुप र उमेर जस्ता विषय नै किन उठी रहन्छ?

मेरा यी पीडादायी ‘इन्काउन्टर’ समग्र भोगाई भने होइनन्। असाध्य सकारात्मक र प्रेरणादायी भेट र सिकाई पनि भएका छन् पत्रकारको हैसियतमा र पत्रकारिताको सिलसिलामा । ती सिकाई र भेटले पत्रकारिताको मेरो समर्पणमा गर्व अनुभव भइरहेको छ । यसले मेरो समग्र जीवनमै खुसी दिएको छ। अर्थपूर्ण लाग्छ जीवन।

तर मेरो कौतुहलता एउटा मात्रै हो ‘के सभ्य समाजमा यी पीडादायी अनुभव र अनुभूतिहरुले सानो रुपमा या संख्यामा पनि ठाउँ पाउनु हुन्छ र ? के यसका कारण ठूलो सपना देखेर अघि बढिसकेका महिला रोकिनु उचित हो?’

असार १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्