सरकार र सबै दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्छ : प्रधानमन्त्री

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सम्बन्ध बिस्तारमा सरकारले एकलौटी ढंगले काम नगर्ने बताएका छन् । उनले मुलुकका ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्ने बताए ।

पराराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले मुलुकका राजनीतिक दलहरुको परराष्ट्र नीति भिन्न रहेको संकेत गर्दै समान नीति बनाउन आवश्यक रहेको तर्क गरे ।

‘पराराष्ट्र नीतिबारे सरकारले एकलौटी काम गर्दैन, त्यसका लागि मुलुकका ठूला राजनीतिक दलहरु एकै ठाउँमा रहनुपर्ने हुन्छ’ ओलीले भने, ‘छिमेकीसहित सबै राष्ट्रहरुलाई हेर्ने सरकारको नीति एउटै हुनुपर्छ, अहिलेको सरकार त्यसैमा चलिरहेको छ, समग्र मुलुकको साँझा चासो त्यसैमा छ, दलहरुको समान अवधारणा आवश्यक छ, परराष्ट्र नीति एउटै हुनुपर्छ ।’

ओलीले त्यसैका लागि सरकार सुखी नेपाली समृद्ध नेपालको नारा लिएर अघि बढिरहेको बताए ।

ओलीले अहिले मुलुकले अनुदान र ऋण भन्दा पनि लगानी खोजिरहेको बताए ।

‘नेपालको अहिलेको आवश्यकता लगानी हो, अनुदान र ऋण होइन त्यसैले सरकारले विदेशी लगानीकर्ताहरुलाई स्वागतका लागि कसरत गरिरहेको छ’, ओलीले भने ‘हाम्रो प्राथमिकतामा लगानी छ, त्यही अनुरुपको परराष्ट्र नीति हो ।’

ओलीले छिमेकीसहित सबै राष्ट्रहरुसँग सरकारले समान व्यवहार गर्ने बताए ।

‘हामी कसैलाई काखा कसैलाई पाखा गर्दैनौँ, तटस्थ राज्यको आधारमा सार्वभौमसत्तामा कुनै असर नपर्ने गरी सबैलाई समान व्यवहार गर्ने हो’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले छिमेकी भारतसँगको सम्बन्ध राम्रो रहेको भनिए पनि बेला बेला खटपट चलिरहने बताए । त्यो खटपट पनि अन्त्यका लागि प्रयास भइरहेको उनले सुनाए ।

उक्त उक्त सम्वादको पहिलो सत्रमा ‘परिवर्तित भू–राजनीति– छिमेक तथा प्रमुख शक्ति राष्ट्रहरु’ शीर्षकमा विज्ञ तथा राजनीतिज्ञले कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

असार १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्