मैले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन : मेस्सी

अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

भेनेजुएलालाई क्वाटरफाइनलमा २–० ले हराएर अर्जेन्टिनाले ब्राजिलसँगको सेमिफाइनल भेट पक्का गरेको हो । तर अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पुनः एकपटक खेलमा चम्किनबाट चुके।

लौतारो मार्तिनेज र जिओभानी लो केल्सोको गोलबाट अर्जेन्टिनाले जित निकालेको हो ।

यदी अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिललाई पाखा लगाएर फाइनल यात्रा तय गर्न चाहन्छ भने उसका कप्तान मेस्सीले आफ्नो उत्कृष्ट स्तरको खेल प्रस्तुत गर्नु पर्छ । भेनेजुएलासँगको खेलमा जित निकालेपछि कप्तान मेस्सीले भनेका छन्, ‘अहिलेको कोपा अमेरिकामा मेरो उत्कृष्ट प्रदर्शन हुन सकेको छैन ।’

३२ वर्षका मेस्सीले मैदानको अवस्था खराब रहेकाले सोचे जस्तो खेल प्रदर्शन गर्न नसकिएको र अर्जेन्टिनाले आफ्नो पहिचान बनेको ‘क्वीक’ फुटबल पनि त्यहि कारण प्रदर्शन हुन नसकेको बताएका छन् ।

मेस्सीले भनेका छन्, ‘यहाँको मैदान साँच्चै कठिन छ । यी मैदानहरु राम्रो फुटबलका लागि योग्य छैनन् । मैदानको अवस्था खराब छ ।’
खेलमा अर्जेन्टिनाको बलियो पक्ष दबाब र काउन्टर अट्याक रहेको मेस्सीको भनाई छ ।

उनले भनेका छन्, ‘रक्षात्मक रुपमा हामीले कुनै पनि ठाउँ दिएका छैनौँ, हामीले काउन्टर अट्याक पर्खनु पर्ने अवस्था हुन्छ ।’

असार १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्