सुरु भयो वृक्षारोपण अभियान

काठमाडौँ – सरकारले शनिबारदेखि मुलुकभर वृक्षारोपण अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौँको कोटेश्वरमा नास्पतिको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गर्नुभएको हो ।

वृक्षरोपण अभियान शुभारम्भ कार्यक्रममा सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति थियो ।

वृक्षारोपण अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले औषधीयुक्त वनस्पतिको महत्व बुझेर संरक्षण र सम्बर्द्धनको साथै नयाँ बिरुवा रोप्न सबैलाई आग्रह गरे । सरकारले यस वर्ष सबैलाई बिरुवा उपलब्ध गराउन नसके पनि आगामी वर्ष बिरुवा उपलब्ध गराउने आश्वासन दिए । उनले बिरुवा रोप्नका लागि जग्गा उपलब्ध नभए गमलामा भए पनि रोप्न आग्रह गरे ।

असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने सरकारको निर्णय अनुसार शनिबार राजधानी काठमाडाैँ लगायत मुलुकभर वृक्षारोपण गरिएको हो । राजधानीमा भने कोटेश्वर–कलंकी सडकखण्डमा वृक्षारोपण गरिएको छ ।

सरकारले वृक्षारोपण अभियान अन्तर्गत ३ वर्ष भित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ । योजना कार्यान्वयनका लागि सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ ।

असार १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्