सिमकोट गाउँपालिकाकाे बजेट गाउँसभाबाट पारित

हुम्ला– गाँउसभाका सदस्यहरुको बहिस्कार पछि स्थगित भएको सिमकोट गाउँपालिकाको सभा शनिबारबाट संचालन भएको छ।

शनिबारको सभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ। सभा बस्नुअघि बहिस्कार गरेका सदस्यहरुसँगको वार्ताले सकरात्मक रुप लिएपछि दिउँसो संचालन भएको सभाले बजेटलाई पारित गरेको हो।

गत असार १० गते सिमकोट गाउँपालिकाको ३७ करोड ५५ लाख ६२ हजार रुपैयाँ बराबरको बजेट गाउँ सभामा प्रस्तुत गरेको थियो। कृषि, पूर्वाधार र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएर प्रस्तुत बजेटले ‘एक घर एक करेसाबारी’को नीतिलाई पनि सभाले अनुमोदन गरेको छ।

सबै असन्तुष्ट सदस्यहरु छलफलमा बसेर सहमति भएपछि सभा संचालन भएर बजेट पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए। सदस्यहरुको माग सुनुवाई हुने भएपछि सभामा सहभागी हुन सदस्यहरुले सहमति जनाएको सदस्य कर्ण भण्डारीले बताए। सभाबाट २६ जना सदस्यहरुले बहिस्कार गर्दा सभा अल्पमतमा परेको थियो।

आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि प्रस्तुत कुल बजेटमा चालुतर्फ २२ करोड ९८ लाख विनियोजिन गरिएकाे छ। जुन कुल बजेटको ६२ प्रतिशत हो। यस्तै पुँजीगततर्फ १४ करोड ५७ लाख बजेट विनियोजित गरिएको छ। जुन कुल बजेटको ३८ प्रतिशत हो।

गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जाल जोड्न लक्ष्य अनुसार बजेटको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए। एक घर एक बगैँचा नीतिलाई पुरा गर्न आगामी आर्थिक वर्षमा १२ हजार स्याउ र तीन हजार ओखरको बोट वितरण गरिने कार्यक्रम बजेटमा उल्लेख गरिएको छ।

बजेटले शिक्षा क्षेत्रमा आवासीय विद्यालयको अवधारण अघि सार्दै रलिङ माबि र कर्णाली माबिमा बजेटको व्यवस्था गरिएको छ। गाउँ पालिकाका सबै स्वास्थ्य चौकीमा उज्यालो कार्यक्रम पनि ल्याएको छ।

असार १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्