युवा चिकित्सक संघका संस्थापक लाइसेन्स फेल भएपछि मन्त्रालय गुहार्दै

काठमाडौँ– आफूहरुलाई जनस्वास्थ्य, चिकित्सा शिक्षा र चिकित्सा समाजको सुधारक बताउँदै आएको युवा चिकित्सक संघका संस्थापक नै डाक्टरको लाइसेन्स परीक्षामा पटक–पटक फेल भएको पाइएको छ।

योङ डक्टर एसोसिएशन (वाइडीए)का संस्थापक एवं संयोजक राम थापा क्षेत्रीले नेतृत्व गरेको लाइसेन्स परीक्षा फेल भएका डाक्टरहरुको समूह अहिले विभिन्न माग राखी स्वास्थ्य मन्त्रालय लगायत अन्य निकाय धाउँदै गरेको खबरहरु सार्वजनिक भएका छन्।

लाइसेन्स परीक्षाको पाठ्यक्रम निर्धारण गरि सरलीकरण गर्नु पर्ने, लाइसेन्स फेल चिकित्सकले पनि वरिष्ठ डाक्टरको सुपरभिजनमा बिरामी जाच्न पाउनुपर्ने लगायत विविध मागहरु उनीहरुले उठाएका छन्।

यसो त वाइडीएका संस्थापक पहिलो पल्ट विवादमा तानिएका होइनन्। डाक्टरको लाइसेन्स पास नभइकनै केवल सिफारिसको आधारमा संविधान दिवसको अवसरमा चिकित्सकको दर्जामै राष्ट्रपतिबाट उनी विभूषित भएका थिए। यद्यपी आफूले पाएको उक्त सम्मान सामाजिक कार्यको लागि थियो भन्दै उनले उक्त आरोपको खण्डन गर्दै आएका छन्।

स्वास्थ्य खबर पत्रिकाका अनुसार संस्थापक थापाले नेतृत्व गरेको समूहले बिहीबार स्वास्थ्य मन्त्रालयमा र शुक्रबार काउन्सिलमा ज्ञापन पत्र बुझाएका हुन्।

वाइडीएमा स्थापना कालदेखि नै आवद्ध भएका लाइसेन्स फेल डाक्टरहरुले बुझाएको पत्रमा सम्पूर्ण यूवा चिकित्सकको समर्थन रहेको समेत उल्लेख गरेका छन्।

असार १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्