म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण

म्याग्दी-हिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएको छ । म्याग्दीका छ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको हो । बाँकी १२ वटा वडामा पनि हेलिप्याड निर्माण गर्ने प्रक्रिया शुरु भएको छ।

भौगोलिकरुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपत्कालीन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले गत मङ्सिरदेखि हेलिप्याड बनाउने योजना अघि सारेको हो।

आठ महीनाको अवधिमा जिल्लाका ३३ वटा वडामा हेलिप्याड निर्माण गरिएको र आगामी दशैँसम्ममा सबै स्थानीय तहका सम्पूर्ण वडामा हेलिप्याड निर्माण भइसक्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर हेलिप्याड बनाएका हुन् । सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवाक्लब र आमासमूहको सहयोगमा हेलिप्याड बनाएका छन् ।

धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकममा हेलिप्याड निर्माण गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । हेलिप्याड निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु सात लाख खर्च भएको जनाएको छ।

हेलिप्याड बनाउन भिरालो जमीन सम्याइएको छ । त्यहाँसम्म पुग्ने बाटो बनाइएको छ । अन्नपूर्णको दोवा, भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तानको घराम्दी र राम्चेमा स्वास्थ्य चौकी परिसरमा हेलिप्याड बनाइएको छ ।

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ अधिकारीले बताए ।

नेपालमा नै पहिलोपटक म्याग्दीमा ‘एक वडा एक हेलिप्याड’ निमार्ण गर्ने अभियान सञ्चालन गरिएको थियो । सो अभियानअन्तर्गत अहिलेसम्म ३३ वटा वडामा हेलिप्याड बनाएको प्रजिअ अधिकारीले जानकारी दिए।

असार १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्