हुम्लाका आमाहरुले पाँच महिनादेखि पाएनन् प्रसूति भत्ता

हुम्ला जिल्लाको अस्पतालमा रहेको प्रसुती गृहमा चेकहप गराउँदै सुत्केरी आमा।तस्बिर-राजन रावत/देश सञ्‍चार

सिमकोट-हुम्ला जिल्लाको अस्पतामा रहेको प्रसूती गृहमा सुत्केरी आमाहरुले पाउनु पर्ने फागुन महिनादेखि सुत्केरी भत्ता नपाएकोमा दुखेसो गरेका छन्।

जिल्ला अस्पताल र स्वास्थ्य सस्थामै रहेको प्रसूति गृहमा सुत्केरी गराए बाफत सरकारले प्रोत्साहन भत्ता र न्यानो झोला दिने नीति भए पनि अस्पतालमा कर्णाली प्रदेश स्वास्थ्य शाखाबाट निकासा नआउँदा सो भत्ता सुत्केरी आमाले नपाएकी हुन।

जिल्ला अस्पताल देखी दुर्गमका गाउँ बस्तीमा रहेका प्रसूती गृहमा सुत्केरी गराएकी आमाहरु फागुनयता त्यस्ता सेवा सुबिधाबाट बन्चित हुनु परेको गत फागुनमा सुत्केरी हुनु भएकी जानकली रोकायाले बताइन्।

चार पटकसम्म जिल्ला अस्पतालमा जाँदा पनि नपाएको गुनासो उनले गरिन्। अस्पताल तथा स्वास्थ्य सस्था रहेका प्रसुती गृहमा पुगेर सुत्केरी गराउनेलाई नियमानुसार सुत्केरी भए कै दिन उक्त भत्ता दिनु पर्ने हो। तर, हुम्ला जिल्लाको हकमा भने त्यो हुन नसकेको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरीता बोहोराले बताएकी छन्।

दुर्गम हिमाली जिल्लामा सडक सन्जाल नजोडीएको कारण बाटो खर्च बापत तीन हजार र नियमीत गर्भ चार पटक चेक जाँच गराए बापत थप ८ सय गरी ३ हजार ८ सय रुपैया पाउने भएता पनि त्यो कुरा पनि कागजमा सिमित भएको र खाली हात नै लिएर घर फर्कनु परेको गुनासो सुत्केरी आमाहरुको रहेको छ।

गत फागुन महिना देखी स्वास्थ्य सस्थामा पुगेर सुत्केरी गराउने कसैले पनि सुत्केरी भत्ता नपाएका अनमी बोहराले बताईन्। उनका अनुसार हाल जिल्ला अस्पताल हुम्लामा सुत्केरी गराउने २ सय ५६ जना आमाहरुले सो भत्ता पाएका छैनन्।

फागुन महिनाभन्दा पहिला सो भत्ता नियमीत दिदै आएको भएता पनि हाल आएर प्रदेश सरकारले बजेट नपठाई दिदा समस्या भएको र सुत्केरी आमा रित्तो हात लिएर फर्कनु परेको र विभागदेखि मन्त्रालयसम्म र कर्णाली प्रदेश सरकारलाइ बारम्बार अनुरोध गर्दा पनि केही सुनुवाइ नभएको अनमी बोहराको भनाई रहेको छ।

फागुन मै सुत्केरी भएकी आमा भत्ता लिनको लागि बारम्बार आउने गरेको भए पनि निकासा आएको छैन, पछि दिन्छौ भनेर फर्काउने गरिएको अस्पतालले जनाएको छ।

कतिपय सुत्केरी आमाहरुले दैनिक दिन स्वास्थ्य चौकीमा आएर कराउने र राज्यले दिएको सेवा सुबिधा खाई दिएको भन्‍नेसम्म आरोप पनि लगाएर जाने गरेको समेत बताइन्। सुत्केरी आमाको लागी दिने समय अवधि कटेपछि दिनु र नदिनुमा कुनै अर्थ नभएको सरोकारवालाहरुको गुनासो रहेको छ।

असार १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्