बाँके र बर्दियामा धान दिवस

कृषिमन्त्री खनाललाई धानको माला, आधुनिक ट्याक्टरबाट धान रोपाइँ

नेपालगञ्‍ज-राष्ट्रिय व्यक्तित्वहरुको उपस्थितिमा बाँके र बर्दियामा धान दिवस मनाइएको छ। केन्द्रीय सरकारले यसपाली धान दिवस बर्दियामा मनाएको छ भने ५ नम्बर प्रदेशकी कृषिमन्त्रीको उपस्थितिमा बाँकेमा धान दिवस मनाइएको छ।

कृषिमन्त्री चक्रपाणि खनालको उपस्थितिमा बर्दियाको राजापुर नगरपालिका–८, धोविनपुरमा १६ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आयोजना गरिएको हो। धोविनपुरस्थित भेरी माविमा उद्घाटन कार्यक्रम आयोजना गरेपछि मन्त्री खनालसहितको टोली धानखेतमा पुगेका थिए।

सो अवसरमा मन्त्री खनालले बर्दियामा चैते धानको उत्पादन बढाउन पहल गर्ने आश्वासन दिए। बर्खे धान उत्पादनमा राजापुरले उल्लेखनीय भूमिका खेलेको स्मरण गराउदै मन्त्री खनालले चैते धानका लागि मिल, गोदाम, सुकाउने मेसिन उपलब्ध गराउने बताए। उनले सरकारले समयमा मल, बिउ उपलब्ध गराउने आश्वासन दिए।

संघका सांसदहरु गौतम गौतम, सन्तकुमार थारु, ५ नम्बर प्रदेशकी उपसभामुख कृष्णी थारु र प्रदेश सांसद दिपेश थारुसँगै कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलको राष्ट्रिय धान दिवस कार्यक्रममा उपस्थिति रहेको थियो।

बर्दियाको राजापुर धान उत्पादनको हिसावले महत्वपूर्ण मानिन्छ। सरकारले त्यहाँ धान कुटाइका लागि मिलको व्यवस्था गरेको छ। सरकारले धान खरिद गर्दा राजापुरबाटै धेरै उपलब्ध हुने गरेको छ।

यता, बाँकेमा पनि धान दिवस भब्यताका साथ मनाइएको छ। ५ नम्बर प्रदेशकी कृषि, भूमि तथा सहकारी मन्त्री आरती पौडेलको उपस्थितिमा कोहलपुर–१३, खड्गवारमा धान दिवस मनाइएको हो। खड्गवारलाई स्मार्ट कृषि गाउँ भन्ने गरिन्छ।

कृषि मन्त्री पौडेलले आधुनिक ट्याक्टरबाट धान रोपेर धान दिवसको शुरुवात गरिन्। किसानलाई आधुनिक प्रविधिबाट धान खेती गर्नुपर्छ भन्ने सन्देश दिन मन्त्री पौडेलले ट्याक्टरबाट धान रोपेकी थिइन्।

बाँकेमा पछिल्लो समय कृषिमा आधुनिक प्रबिधिबाट धान रोपाई गर्ने गरिएको छ। यद्यपि, राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट पानी नछोडिएकाले किसान आकाशे पानीकै भरमा रहेका छन्।

असारमा यस क्षेत्रमा दोस्रो पटक पानी परेको छ। असार ८ गते परेको पानीले बल्ल किसानले बिउ राख्न पाएका छन्। खोला, नाला या डिपबोरिङको सुविधा भएको ठाउँमात्रै रोपाई शुरु गरिएको छ।

असार १५ लाई राष्ट्रिय दिवस मनाउने र यो बेलामा किसानले अधिकांश रोपाई सक्नु पर्नेमा बाँकेमा बल्लबल्ल बिउसम्म राखिएको छ।

असार १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्