असार १५

हरियो डाँडामाथि हलो जोत्ने साथी…. (१८ तस्बिरहरु)

राष्ट्रिय धान दिवसमा हलो जोत्दै धादिङ धुनीबेसी- २का किसान। देशभर राष्ट्रिय धान दिवस धान रोपेर मनाइएको छ। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार

हरियो डाँडामाथि
हलो जोत्ने साथी
हो..हो माले हो..हो
हो..हो तारे हो.. हो..

माथि उल्लेखित स्व.जनकवि केशरी धर्मराज थापाले गाएको लोकभाकाको चर्चित गीतले भनेझैँ आइतबार धादिङमा रोपार, बाउसे र लाठे दुरुस्तै सोही भेषमा देखिएका छन्।

विज्ञापन

गाउँ पर्यटन प्रबन्ध मञ्च नेपाल, धुनीबेँसी अर्घानी कृषि पर्यटकीय उद्यान तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा धादिङको धुनीबेँसी नगरपालिका– २ महेश फाँटमा भएको रोपाइँ महोत्सवमा गोरु जोत्दै किसान। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार

शीरमा ढलक्क ढाका टोपी र काँधमा तौलिया भिरेर उनीहरु आफ्नै सुरमा हलो जोतिरहेका छन् भने रोपारहरु कोही धानको बीउ खेतमा दिन सघाइरहेका छन्। यस्तै त्यहाँ रोपाइ हेर्न आएका स्थानीय युवायुवतीहरु रमाइलो गर्दै हिलो छ्यापाछ्याप गरिहरेका छन्।

असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पट्याउने तर्खरमा जुटेका छन्।

धादिङको धुनीबेँसी-२ महेशफाँटमा आयोजित राष्ट्रिय धान दिवस र असार १५ लाई हर्षोल्लासका साथ मनाइएको छ। उनीहरुले राष्ट्रिय धान दिवसलाई आफ्नो मौलिक परम्परा र पहिचानसहित हिलो खेल्दै रोपाइँ गरेका छन्।

त्योसँगै बालबालिकामा पनि असार १५ को रौनक छाएको छ। उनीहरु एक-अर्कामा पानी छ्यापेर रमाइरहेका छन्। बालापनको त्यो उमेर धान रोप्‍ने बेलामा नजिकबाट नियालिरहेका छन् उनीहरुको बालमष्तिष्कले।

असार १५ नेपाली समाजमा खेतमा रोपाइँ गरी दही चिउरा खाएर मनाउने परम्परा छ। उक्त दिन रोपाइँ गरी दही चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन्। दोहोरी रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो।

असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गह्रामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन्।  राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ। कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ।

सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ। देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ। त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन्।

     

    

असार १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्