जर्मनीलाई हराएर स्पेनले जित्यो उपाधि, गर्‍यो इटालीको कीर्तिमानसँग बराबरी

जर्मनीलाई पराजित गर्दै स्पेनले २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिपको उपाधि जितेका छन् । आइतबार राति भएको फाइनलमा स्पेनले जर्मनीलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो ।

स्पेनको जितमा फाबिएन रुइज र ड्यानी ओल्मोले गोल गरे । जर्मनीका लागि नादिएम अमिरीले एक गोल फर्काए । सातौँ मिनेटमा रुइजको गोलबाट स्पेनले अग्रता लियो । ६९ औँ मिनेटमा ओल्मोले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ८८ औँ मिनेटमा जर्मनीका लागि अमिरीले एक गोल फर्काएका हुन् ।

स्पेनले पाँचौँ पटक उपाधि जितेको हो । उसले इटालीको कीर्तिमानसँग बराबरी गरेको छ । सन् २०१७ को फाइनलमा पनि जर्मनी र स्पेनबिच भेट भएको थियो, त्यसबेला जर्मनी विजयी भएको थियो । अहिलेको प्रतियोगितामा सात गोल गरेका जर्मनीका लुकाले गोल्डेन बुट जिते ।

असार १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्