वैदेशिक रोजगारीमा मुक्त कमैया

‘खेती गर्ने जग्गा छैन्, परिवार पाल्न विदेश नगए कहाँ जाने ?’

देवराज चौधरी आफ्नी छोरीसँग नयाँ घर अगाडि । पढ्न नपाएका देवराजले आफ्ना सन्तानलाई भने विद्यालय भर्ना गरेका छन् । तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

दाङ – जमिन्दारको घरमा कमैया बसेका राप्ती गाउँपालिका वडा नं. २ नयाँ बस्ती निवासी पूर्णबहादुर चौधरी विद्यालय जान समेत पाएनन् । एकै उमेरका मालिका छोरा छोरी झोला बोकेर विद्यालय जान्थे भने पूर्णबहादुर लौरो बोकेर ग्वाला ।

अहिले मालिकका छोरा छोरीले राम्रो जागिर खाएका छन् तर, पूर्णबहादुर भने खाडी मुलकको चक्कर काटेर भर्खरै घर फर्किएका छन् ।

‘कमैया बसेपछि पढ्न पाइएन। अहिलेको जस्तो जमाना थिएन् । जमिन्दारको आदेश अनुसार चल्नु पर्ने । बाउ, बाजेले आफ्नो उमेर मालिकको खेत–बारी जोत्दैमा गुमाउनु पर्‍यो । अब हाम्रो उमेर विदेशमा काम गरेर जाने भो’, पूर्णबहादुरले भने ।

२०५७ सालमा कमैया मुक्त घोषणा भएपछि पूर्णबहादुरको परिवार जमिन्दारको घरमा काम गर्न बाट मुक्त भए । उनको परिवारले सरकारले मुक्त कमैयाहरुलाई दिने भनेको जग्गा पनि पायो । उनको परिवारको भागमा पाँच कट्ठा जग्गा पर्‍यो ।

त्यही जग्गा पूर्णबहादुर र उनका पाँच दाजु, भाईले बण्डापत्र गरे । पाँच भाईलाई एक/एक कठ्ठा भाग परेको छ । पूर्णबहादुरको भागमा परेको १ कट्ठामा घर बनाउने कि खेती गर्ने कुरामा उनी अन्यौलमा परे । ‘ खेती गरु, बस्ने काँ ? घर बनाउँ, खाने के ?

बाल्यकालदेखि खेती गरेरका पूर्णबहादुर, खेती किसानी काममा पोख्त छन् तर आफ्नो भागमा परेको जग्गाले घर परिवार पाल्न नपुग्ने भएपछि उनी वैदेशीक रोजगारीमा गएका हुन् । उनले भने ‘पाँच वर्ष विदेश बसे । दुई वर्ष कतार र तीन वर्ष साउदीमा काम गरे । विदेशकै कमाइले घर पनि बनाए, तर अब आफ्नै देशमा केही गरु भनेर नजाने सोचमा छु ।’

पूर्णबहादुर चौधरीले विदेशको कमाइले मुक्त कमैया बस्तीमा निर्माण गरेको पक्की घर,तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

राप्ती गाउँपालिका वडा नं. २ नयाँवस्ती निवासी बिन्तिराम चौधरीको उमेर ७० वर्ष भयो । बाल्यकाल र जवानी जमिनदारको घरमा गुजारेका बिन्तिराम अहिले बुढेसकाल आफ्नै घरमा बिताईरहेका छन् । ‘२० वर्ष सम्म त एउटै मालिकको घरमा बसेँ । एक बिगाह खेत एक्लै लगाउनु पर्ने जिम्मा थियो । सकिनसकी खेती गर्नपर्थ्याे’ उनले भने ‘मालिकको खेत जोत्न बसाई सरे झैं कहिले यता कहिले उता पुग्नुपर्थ्याे ।’

देवराज चौधरीका बुवा बिन्तीराम चौधरी, जसले बाल्यकाल र जवानीको सबै उमेर जमिन्दारको घरमा कमैया बसेर बिताए । अहिले सरकारले बसालेको मुक्त कमैया शिविरमा घर बनाएर बसेका छन् । तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

मालिकको घरमा काम गर्न बस्दा उनले कम्तीमा पनि दुई छाक खाना पाएका थिए । तर, मुक्त हुँदा उनी सडकमा नै आईपुगे । ‘न घरबास, न जग्गा जमिन । घरको छत भने पनि, ओतको रुपमा खुला आकाश नै थियो ।‘ खेती गर्ने जग्गा जमिन छैन् अर्को काम गर्ने सीप पनि छैन’ उनले भने ‘छोराहरु कमाउन विदेश गए । कान्छो छोरो विदेशबाट फर्किएको छ । जेठो विदेशमै छ ।’

पूर्णबहादुर चौधरीले विदेशको कमाइले मुक्त कमैया बस्तीमा निर्माण गरेको पक्की घर ।तस्बिरः दशरथ घिमिरे देश सञ्चार

बिन्तिरामका कान्छा छोरा देवराज चौधरी दुई वर्ष साउदी अरव बसेर फर्किएका छन् । साउदी जानु अघि उनी दुई वर्ष मलेसीया गए । छोराहरुले विदेशबाट पैसा पठाए पछि बल्ल उनको जीवन फेरियो । अहिले त उनीहरुको आफनै घर पनि छ ।

राप्ती गाउँपालिका वडा नं. २ नयाँ बस्ती गाउँ । तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

मुक्तकमैया शिविरमा बस्दै गर्दा उनका कान्छा छोरा देवराज शिविरका अन्य व्यक्ति विदेश गएको देखेर उनी पनि त्यही बाटोमा अघी बढे । ‘हाम्रो टोलमा रहेका प्रत्येक घरबाट एक जना त विदेश गएकै छ’उनले भने ‘पढ्ने बेला मालिकको घरमा कमैया बसियो । कमैया छुटेपछि उमेर धेरै भैहाल्यो । स्कूल जान पाइएन । रोजगारी नभएपछि विदेश रोजियो ।’

उनका ठुल्दाई एकराज चौधरी विदेश गएको १८ महिना पुगेको छ । ‘दाइ पनि विदेशमा हुनुहुन्छ । खेती गर्ने जग्गा जमिन नहुँदा दाइले पनि विदेश रोज्नुपर्‍यो’उनले भने ‘सरकारले रोजगारी दिएको भए विदेश जाने कस्लाई रहर लाग्थ्यो र ?’

राप्ती गाउँपालिका वडा नं. २ नयाँ बस्तीमा एक सय ३३ जना मुक्त कमैयालाई सरकारले बसाएको थियो । यही बस्तीको एउटा टोलबाट मात्रै १३ जना युवा विदेशिएको स्थानीय टेकबहादुर रावतले जानकारी दिए।

‘गाउँमा काम खोज्छन् । भनेको जस्तो मिल्दैन् । अनि विदेश जानुपर्ने बाध्यता रहन्छ’उनले भने ‘सरकारले गाउँ घरमै रोजगार प्राप्त हुने सीपहरु सिकाएर युवाहरुलाई रोक्न सक्ने हो भने राम्रो हुने थियो ।’

दिपक खनाल राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टी सुकुम्वासी टोल निवासी हुन् । ऐलानी जग्गामा उनको बसोवास छ । जग्गाको पूर्जा छैन् । साउदी अरब चार वर्ष र कुवेतमा डेढ वर्ष काम गरेका दिपकले घर फर्किएपछि अटो रिक्सा किनेका छन् । विदेश जाने योजना नरहेको उनले सुनाए ।

दिपक खनाल, सुकुम्वासी बस्तीमा बस्छन् । विदेशबाट कमाएको पैसाले अटो रिक्सा किनेर चलाउन थालेका छन् । तस्बिरः दशरथ घिमिरे/देश सञ्चार

‘घरको कमजोर आर्थिक स्थितीले विदेश पठायो । अब नजाने विचार गरेको छु । अटो चलाउँछु । यहि बाट गुजारा चलेको छ ।’ उनले भने ‘विदेशमा रहँदा घर परिवारसँग टाढा रहनुपथ्र्याे । तर, गाउँ घरमै काम गर्दा परिवारसँग बस्न पाईन्छ । यसैमा खुशी छु ।’

भूमिहिन, सुकुम्वासी, मुक्त कमैया परिवारका युवाहरुको रोजाई वैदेशीक रोजगारी बन्न पुगेको यी उदाहरणहरु हुन् ।

माटोसँग खेलेका मुक्त कमैया, भूमिहिन, सुकुम्वासी परिवारका युवालाई स्वदेशमै कृषि क्षेत्रमा संलग्न गराउन सक्ने योजनाको खाँचो रहेको स्थानीय अगुवा दुखराम सार्कीले बताए। ‘खेती किसानीसँग पुरानो नाता सम्बन्ध छ । खेती गर्ने जग्गा हुन्थ्यो भने मुक्त कमैया, सुकुम्बासी, भूमिहिनका छोरा छोरी कोही पनि विदेशीनु पर्ने अवस्था आउने थिएन्’उनले भने ‘सरकारले विदेशीएका युवाहरुको विवरण संकलन गरेर स्वदेशमै रोजगारी र अवसरको सृजना गर्नपर्छ ।’

बाध्यताको यात्रा


वैदेशिक रोजगारीमा गएका भूमिहिन, सुकुम्बासी परिवारका सदस्यहरु रहरले भन्दा पनि बाध्यताले गएको भूमि अधिकारकर्मी रेमन्त चौधरीले बताए । खेती गर्ने जग्गा नभएकै कारण भूमिहिन, सुकुम्बासी परिवारका सदस्य वैदेशिक रोजगारीमा जानुपरेको बाध्यता उनले सुनाए ।

‘खेतीपाती गर्ने सीप भएकाहरु जग्गा जमिन नहुँदा गुजारा चलाउन वैकल्पिक बाटो समातेका हुन् । स्वदेशमा रोजगारी छैन् । ज्याला मजदुरी गरेर साँझ बिहान खान नपुग्ने भएपछि विदेश जानु पर्ने बाध्यता आइलागेको हो’उनले भने ‘एउटा टोलबाट १०–१२ जना सम्म विदेश गएको पाइन्छ ।

एक पटक गएर फर्केकाहरुको सल्लाहको आधारमा हरेक वर्ष भूमिहिन सुकुम्बासी परिवारबाट विदेश जाने दर बढेको छ । तर, कती गएका छन । यसको एकिन विवरण हामीसँग पनि छैन ।’

सुकुम्बासी परिवारलाई सरकारले पाँच कठ्ठा जग्गा उपलब्ध गराएर बस्ती बसालेको छ । सुकुम्बासीले जग्गाको पूर्जा पाए पनि त्यसको किनबेच, बैंकमा धितो समेत राख्न पाउँदैनन् ।

तर, वैदशिक रोजगारीको लागी गाउँ घरमा ऋण धन गरेर जाने गरेको पाइएको छ । ‘विदेश जाने भनेकै स्वदेशमा रोजगारीको अवसर नभएरै हो । त्यहाँ जाँदा लाग्ने रकम गाउँ घरको समूह, व्यक्तिबाट ऋण लिएर जाने गरिएको छ’चौधरीले भने ‘विदेशमा कमाएको रकमले ऋण तिर्ने गर्छन् ।’

पढेलेखेका यूरोप तिर, कम पढेलेखेका खाडीतिर


हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट नेपाली युवा वैदेशीक रोजगारीको लागी तेस्रो मुलुकको यात्रामा निस्कने गर्छन् । तर, वैदेशीक रोजगारीमा जानेहरुको स्तर उनीहरुको अवस्थाको आधारमा छुट्टीने गरेको छ ।

दश कक्षा भन्दा माथि पढेकाहरुको रोजाई युरोपियन देश रहेको छ । तर, दश कक्षा भन्दा कम पढेकाहरुको रोजाई खाडी मुलक रहने गरेको छ । दाङ जिल्लामा स्थापना भएको सुरक्षीत आप्रवासन कार्यक्रम सामी परियोजनाले वैदेशिक रोजगारीमा जानेहरुलाई परामर्श प्रदान गर्दै आइरहेको छ ।

अहिले सम्मको अनुभवको आधारमा थारु समुदायका अधिकांश कक्षा दश भन्दा कम पढेका युवाहरु खाडी मुलुक जाने गरेका छन् ।

‘को भूमिहिन, को सुकुम्बासी भनेर तथ्यांक राखिएको छैन् । तर, कम पढे लेखेकाहरु खाडी देशमा जाने गरेका छन्’सुरक्षित आप्रवासन सामी परियोजनाका प्रतिनिधि राजेन्द्र केसीले भने ‘पैसा हुनेहरु अली धेरै रकम लगाएर युरोप तिर जान खोज्छन् । ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुको रोजाई खाडी देश नै हुन्छ ।’

एक पटक वैदेशिक रोजगारीमा पुगेर फर्किएको व्यक्तीनै प्रमुख सल्लाह लिने व्यक्तीको रुपमा विदेश जान चाहनेहरुले रोज्ने गरेका छन् । एकै परिवेसमा हुर्के बढेकाहरु आफ्नै तहका व्यक्तिसँग सल्लाह लिने र सँगै उसैले नै वैदेशिक रोजगारीमा लैजाने गरेको छ ।

भूमिहिन सुकुम्बासीकाे हकमा पनि एक पटक विदेश गएर फर्किएकाहरुनै पहिलो एजेन्ट हुने गरेका छन् । ‘एक/दुई पटक विदेश आउने जाने गरेको व्यक्तिले नै विदेश जानको लागी प्रकृया शुरु गरीदिने भएकाले विदेश जान चाहनेहरुले त्यही व्यक्तिको समेत भर पर्ने गरेको पाइएको छ’केसीले भने ‘तर, यसरी विदेश गएकाहरु कतिपय ठगिने, शोषणमा पर्ने गरेका उजुरी हामी कहाँ आउने गर्छ ।’

तथ्यांक यस्तो छ ?


गोपालमणी गौतम प्रतिवेदन २०६९ अनुसार नेपालमा एक लाख ४६ हजार एक सय ६९ भूमिहिन परिवारलाई ४५ हजार ९ सय ७ बिगाह जग्गा र ९ हजार ४ सय ६० रोपनी जमिन उपलब्ध गराइएको देखिन्छ ।

पछिल्लो सुकुम्बासी आयोगमा परेका निवेदनहरु मध्य दुई लाख १९ हजार ७ सय ४३ सुकुम्वासी, ७२ हजार ६ सय २७ भूमिहिन, ५ लाख ६९ हजार २ सय १७ अव्यवस्थित बसोवासी रहेको छ ।

दाङ जिल्लामा १ हजार ४ सय २६ परिचय पत्र प्राप्त मुक्त कमैया रहेकोमा ७ सय ५ लालपुर्जा सहितका जग्गा भएका र १० जना लालपुर्जा भएका तर जग्गा नभएका मुक्त कमैया रहेका छन् ।

असार १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू