ट्रम्प उत्तर कोरिया प्रवेश गर्नु ‘अभूतपूर्व र ऐतिहासिक’ घटना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व योजना बिना गरेको उत्तर कोरियाको भ्रमण गर्नु ‘अभूतपूर्व घटना’ रहेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
जापानमा भएको जी–ट्वेन्टी सम्मेलन सकेर दक्षिण कोरिया पुगेको अमेरिकी राष्ट्रपति ट्रम्प आइतबार दिउँसो किमसँगको भेटका लागि दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड जोन पुगेका थिए । उनले दक्षिण कोरियाको सीमा नाघेर उत्तर कोरियामा प्रवेश गरी किम जोङ–उनसँग हात मिलाएका थिए ।
त्यसपछि उनीहरु डिएमजेडमा रहेको पानमुजोममा फर्केर केहीबेर छलफल गरेका थिए । ट्रम्प उत्तर कोरियामा प्रवेश गर्ने ट्रम्प अमेरिकाको बहिलो बहालवाला राष्ट्रपति हुन् ।
ट्रम्पले जापानमै रहेका बेला ट्वीट गरेर किमलाई भेटका लागि आग्रह गरेका थिए । ट्रम्पको आग्रह किमले स्वीकार गरेपछि आइतबार दिउँसो दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनको उपस्थितिमा किम र ट्रम्पबिच भेट भएको हो ।
भेटबारे उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले सोमबार विस्तृत कभरेज गरेको छ । ट्रम्पको पहलमा भएको भेट ऐतिहासिक रहेको केसिएनएले उल्लेख गरेको छ ।
६६ वर्षअघि दुई कोरियाबिचको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौतापछिको यो अर्को ऐतिहासिक घटना रहेको उल्लेख छ । विभाजनको प्रतिकका रुपमा लिइने पानमुजोममा त्रिदेशीय भेट हुनु अभूतपूर्व घटना रहेको केसिएनएले जनाएको छ ।
ट्रम्प र किमबिच भविष्यमा सम्पर्कमा रहिरहने सहमति भएको उल्लेख छ । यस्तै वार्तालाई पुनः स्थापित गर्दै सामूहिक हितका लागि काम गर्ने पक्षमा दुवै नेता रहेको जनाइएको छ ।