‘हिरो’ श्रीमान छाडेर परपुरुषसँग सम्बन्ध, ‘यौन सुख’ कायम राख्न आफ्नै आमाको ‘सफाया’

काठमाडौँ – भक्तपुरको चागुनारायण नगरपालिका-७ बाँसबारीमा सोमबार दिउँसो घरमा बसिरहेकी एक वृद्धाको घाँटी रेटी हत्या भयो। घटनाबारे थाहा पाएपछि आफन्तहरु भेला हुँदै गए। ६१ वर्षीया सावित्री भट्टराई कान्छी छोरी ईश्वरीको बस्दै आएकी थिइन्। बिहानै होटलको काममा निस्कने ईश्वरीका श्रीमान आइतबार पनि सबेरै बाहिरिएका थिए।

ईश्वरी पनि बाहिर काम छ भन्दै निस्किएकी थिइन्। घरमा नातीलाई खाना खुवाएर स्कूल छाड्ने जिम्मा सावित्रीकै थियो। यता  नातिलाई स्कूल पुर्‍याएर घर फर्किए लगत्तै सावित्रीको हत्या भएको प्रहरी निष्कर्ष थियो। तत्काल अपराधी फेला नपरे पनि  कसले हत्या गर्‍यो भन्नेबारे प्रहरीलाई थाहा पाउन धेरै समय लागेन।

विज्ञापन

तत्कालै घटनास्थल पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छरछिमेकसँग सोधपुछ गर्‍यो। उनीहरुले बिहानको समयमा केही तराई मुलका युवाहरु त्यस घरमा आएको देखेको बताए। उनीहरुका अनुसार तीमध्ये एक युवा ईश्वरीको घरमा पहिला पनि आइरहन्थे। प्रत्यक्षदर्शीले ती युवा र सावित्रीबिच झगडा भएको देखेको पनि बताए।

त्यसअघि पनि त्यस घरमा आइरहने  ती युवा को थिए भन्नेबारे प्रहरीको अनुसन्धान केन्द्रित रह्यो। यत्तिकैमा ईश्वरीका ४ वर्षीय छोराले ती युवाको नाम भन्दिए ‘समिर’। समिर अर्थात मोहम्मद नौसाद। नौसादलाई सावित्रीका आफन्तहरुले चिन्थे। नजिकै रोइरहेका एक आफन्तले प्रहरीलाई भने-नौसादको मोबाइल नम्बर मलाई थाहा छ।

प्रहरीले नम्बर लिएर नौसादको पिछा गर्‍यो। बेलुका ७ बजे उनि धादिङको गजुरीबाट पक्राउ परे। प्रहरीको नियन्त्रणमा आएलगत्तै नौसादले घटना स्वीकार गरे। उनले घटनामा अन्य दुईजना पनि संलग्न रहेको र उनीहरु बस चढेर गइरहेको बताए। त्यत्तिकैमा नौसादले तीनै दुई जनामध्ये एकले फोन गरेर सोधे-हाम्रो पैसा कहिले आउँछ।

प्रहरीले अहिले नै पाउँछौ भन्ने इशारा गरेर त्यहीँ बसिराख्न भन्न नौसादलाई अह्रायो। उनले सोही बमोजिम गरे। सोमबार बिहान हेटौँडाबाट ती दुईजनालाई नियन्त्रणमा लिनुअघि नै प्रहरीले अर्को तर अचम्मलाग्दो तथ्य थाहा पाइसकेको थियो-सावित्रीको हत्या उनकै छोरी ईश्वरीको योजनामा भएको हो। प्रहरीले आइतरबार राती नै ईश्वरीलाई नियन्त्रणमा लिइसकेको थियो।

‘नौसाद र ईश्वरीबीचको यौन सम्बन्धका कारण यो घटना भएको देखिन्छ। यो सम्बन्धबारे सावित्रीले थाहा पाएपछि ईश्वरी उनलाई सधैँका लागि बाटोबाट हटाउन चाहन्थिन्’, सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले भने। सिराहाको विष्णुपुरका ३१ वर्षीय नौसाद अविवाहित हुन्।

नौसाद- ईश्वरी सम्बन्ध 

सात वर्षअघि रामेछापका युवासँग विवाह गरेकी ईश्वरीका श्रीमान फिल्म क्षेत्रमा काम गर्नुका साथै सिनामंगलमा होटल चलाउँछन्। ईश्वरीका श्रीमानले हिरो भएर  खेलेका फिल्म प्रदर्शनको तयारीमा समेत रहेको जनाइएको छ। बिहान सबेरै घर छाड्ने उनी साँझ घर आइपुग्दा अबेर हुन्छ। ईश्वरीले आमा सावित्रीलाई पाल्न थालेको केही वर्ष भइसकेको छ।

ईश्वरी, सावित्रीकी चारमध्ये कान्छी छोरी हुन्।  धेरै वर्ष पहिला श्रीमानले छाडेकी सावित्रीका छोरा छैनन्। कान्छी छोरी रोजेकी थिइन् सावित्रीले बुढेसकालकाे सहारका लागि। ईश्वरी बेलाबखत गार्मेन्टमा पनि काम गर्थिन्। एक वर्षअघि गार्मेन्टमै काम गर्ने क्रममा नौसादसँग उनको परिचय भयो। उनीहरु बिस्तारै नजिकिए। शारीरिक सम्पर्क पनि सुरु भयो।

नौसाद ईश्वरीको घरमै आउन थाले दिउँसोको समय पारेर। चार पाँच महिनाअघि यसबारे थाहा पाइन् सावित्रीले। उनी छोरी र नौसाद दुवैसँग रिसाइन्। ईश्वरीको घर बिगार्दिन लागेको भनेर नौसादसँग पनि झगडा गरिन्। आमा-छोरी सल्लाह गरेर निष्कर्ष निकाले-नौसादलाई विदेश पठाउने। बयानका क्रममा नौसादलाई विदेश पठाउन लागेको डेढ लाख रुपैयाँ सावित्री-ईश्वरीले जुटाएको स्वंय नौसाद र ईश्वरीले स्वीकारेको प्रहरीको दाबी छ।

तर नौसाद डेढ महिना पनि टिक्न सकेनन् र ९ दिन अघि फर्किए नेपाल। पक्राउ परेका नौसादले सावित्रीलाई मारेर ईश्वरीसँगको सम्बन्धलाई सहज बनाउन घटना घटाएको बताएका छन्। ‘उ मसँग यौन सम्बन्ध चाहन्थी तर उसको आमाले यो मन परेको थिएन। सावित्रीलाई मार्न मलाई ईश्वरीले नै अह्राएको हो’, प्रारम्भिक बयानका क्रममा नौसादले भनेका छन्।

यता ईश्वरीले विगतमा नौसादसँगको आफ्नो अवैध सम्बन्ध स्वीकारे पनि आमाको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेकी छिन्। ‘नौसाद नेपाल आएको समेत मलाई थाहा थिएन’, प्रारम्भिक बयानमा ईश्वरीको दाबी छ। अनुसन्धानमा नौसादले नेपाल फर्कनुभन्दा एक साताअघि ईश्वरीका श्रीमानलाई म्यासेन्जरमा उनकी श्रीमतीसँगका अश्लिल तस्बिर पठाएको पाइएको अपराध महाशाखा स्रोत बताउँछ।

रहस्यमय त्यो सिमकार्ड 

प्रहरीको अनुसन्धान प्रारम्भिक चरणमै छ। तर उसको दाबी छ-घटनामा ईश्वरी र पार्टनर नौसादसहित उनका दुई सहयोगीको संलग्नता छ। बयानका क्रममा नौसादले आफूलाई दुबई पठाउनुअघि ईश्वरीले आफन्तको नाममा एउटा सिमकार्ड झिकेर दिएको बताएका छन्। नौसादका अनुसार ईश्वरीले उनलाई नेपाल फर्किएपछि एक सातासम्म आफूलाई त्यो नम्बरबाट फोन नगर्न र सोही समयमा आफूले घरमा आमालाई एक्लै पारेर मार्ने वातावरण बनाइदिने बताएकी थिइन्।

सोही अनुसार ९ दिन अघि नेपाल फर्किएका नौसाद त्यसपछि भारत पुगेर फुपुका छोरा मोहम्मद रहिसलाई लिएर आए। उनीहरुले अर्को एक जना साथी पनि खोजे सावित्रीलाई मार्न। काठमाडौँकै ढुंगेअड्डामा काम गर्ने भारत घर भएका भोला कुमारलाई पनि साथमा लिए। नौसादले यो घटना सम्पन्न गराए १२ लाख रुपैयाँ पाउने आश्वासन दिएका थिए दुवैजनालाई।

नौसादले आफूलाई ईश्वरीले दिएको त्यो सिमकार्डबाट कसैलाई फोन गरेका थिएनन्। आइतबार बिहान उनले काठमाडौँमै भएका आफ्नै भाइलाई फोन गरेर उक्त सिमकार्डबाट। भाइले नौसाद नेपाल आइसकेको जानकारी दिए आफूसँग नजिक रहेका ईश्वरीकै एक आफन्तलाई। यो घटना हुनुभन्दा अगाडिको कुरा थियो। प्रहरीलाई नौसादको सम्पर्क नम्बर दिने ईश्वरीकै तीनै आफन्त थिए।

‘नौसादलाई विदेश किन पठाइएको थियो ? काम गर्नै पठाईएको थियो भने सिमकार्ड दिइनुको कारण के थियो ? नौसाद नेपाल फर्कँन लाग्दा ईश्वरीसँग कसरी सम्पर्क स्थापित भयो ? पछिल्ला घटनाक्रमबारे ईश्वरी कसरी अपडेट थिइन ? यसमा अनुसन्धान हुन नै बाँकी छ’, एक अनुसन्धान अधिकृत भन्छन्। प्रहरीका अनुसार घटनास्थलमा रहेका तीन जनामध्ये एकजनाले टाउको समाउने, अर्कोले खुट्टा समाउने र रहिसले घाँटी रेट्ने काम गरेका थिए। उनिहरु आइतबार साँझ ४ बजे काठमाडौंबाट बाहिरिएको प्रहरीले जनाएको छ।

असार १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्