ब्लग

महिनावारी जीवनको सबैभन्दा मिठो अनुभूति

सीता रायमाझी –

पहिलोपटक महिनावारी भएको त्यो दिन। मेरो मनसपटलमा अझै पनि ताजै छ। जुन दिन म खुब रोएकी थिएँ। तर त्यो दिन म किन रोएँ, मैले अहिलेसम्म पनि थाहा पाउन सकेकी छैन।

न त त्यो बेलामा मलाई कुनै दुखाई महसुस भयो न भोक अनि प्यासको महसुस भयो त बस् आफू महिनावारी भएको। सोचे अब मेरो पनि मेरा दिदीहरु झैँ गोठमा बास हुने छ। फेरि सोचे अब म ठूली भएँ। सानी भनेर माया गर्ने सबैले मलाई अब कस्तो व्यवहार देखाउँलान भन्ने पीरले उत्तिकै पिरोलिरहेको थियो।

विज्ञापन

मनमा जे जस्तो भएता पनि जसरी पनि आमालाई त भन्नु नै पर्ने थियो। म आमाको छेउमा पुगे। आमालाई आफू महिनावारी भएको कुरा बताएँ। मेरो पूरा कुरै नसुनेर मैले ठूलै अपराध गरे जसरी आमाले मलाई घरको छेउमै रहेको गोठमा लैजानु भयो। आमाको यस्तो व्यवहार देखेर म छक्क परेँ। हुन मैले अघिल्ला दिनहरुमा आमा र दिदीको महिनावारी भएका समयमा गोठमा बस्न गएको देखेकी थिएँ। जसबाट म पनि अछुतो हुन सकिनँ।

गोठमा लगेर आमाले मलाई गोठमा बस्न आदेश दिँदै भन्नु भयो, ‘अब १० दिनसम्म तिमी यहि बस्नु पर्छ।’ यति मात्र नभएर उहाँले मलाई बुवा दाइ–भाइ यति की सूर्यलाई सम्म हेर्नुहुँदैन भनेर सिकाउनु भयो। म लाचार हुँदै आमाले दिएको आदेश पालना गर्न तयार भएँ।

तर त्यहि समयमा मेरै कक्षा ९ को वार्षिक परीक्षा चलिरहेको थियो। मेराो ‘बुवा’ जसले मलाई परीक्षा दिनका स्कुल जानै पर्ने कुरामा आमालाई ‘कन्भिन्स’ गर्नु भयो। बुवाले पढाउने स्कूलमै पढ्थे म। गोठमा लुकाएर राखिएकी मलाई स्कूल जाने समयमा आमाले फेरि उही कुरा सम्झाउनु भयो, बुवा, दाजुभाइ अर्थात लोग्ने मान्छे कसैको पनि अनुहार नर्हेनु भनेर। मेले आमाको कुरामा समर्थन जनाउँदै टाउको हल्लाएँ र स्कूल तर्फ लागेँ। परीक्षा दिएँ। घर फर्किदै गर्दा आमाको कुरा याद आयो ‘लोग्ने मान्छे कसैको पनि अनुहार नहेर्नु’ मलाई खुल्दुली भयो। लोग्ने मान्छेको अनुहार हेर्दा के चाहिँ हुँदो रैछ। स्कुलको चौरमा अन्य सरहरु सँगै बुवा पनि हुनुहुन्थ्यो।

सीता रायमाझी

मैले अल्लिपरैबाट बुवाको अनुहार हेरेँ। सुरुमा डर लाग्यो। तर फेरि अर्को पटक फर्केर हेरेँ। बुवालाई मात्र नभएर घर फर्कदाँ बाटो भरी भेटिएका सबैको अनुहार हेर्दै फर्किएँ। कसैलाई केही भए जस्तो भने लागेन।

कतिकति बेला भने केही नराम्रो भइहाल्यो भने भन्ने डर मनमा पलायो। तर त्यो डरलाई मैले जितेँ। आमाले सम्झाएका सबै कुराको तोड्दै गएँ। मेरो मनमा अनेक प्रश्न उब्जन थाले। लाग्यो आमाले भन्ने गरेका सबै कुराहरु बकवास रहेछन्।

अहिले त्यो दिन सम्झँदा अचम्म लाग्छ। हरेक वर्ष महिनावारीको पाप पखाल्न ऋषिपञ्चमीको व्रत बस्ने गरेकी मेरी आमा।

त्यो समयमा उनलाई कसले भनिदिओस् महिनावारी नर्बादा कुनै पनि महिला नराम्रो अवस्थाबाट गुज्रनु पर्दैन। व्रत बसेका बेला पञ्चमीका दिन सुनाईने त्यो कथाले उनीहरुको मनमा एक प्रकारको डर मात्र पैदा गरिरहेको छ।

समाजमा महिनावारी सम्बन्धी भ्रम मात्रै फैलाइएको हो। मेरो ‘आमा’ जो यी सबै कुराबाट अनविज्ञ थिइन्। राजधानीको नजिकै रहेको मेरो घर ‘काभ्रे’ पनि त्यो सोचबाट अछुतो भने रहन सकेन। धेरै छोरीहरु यस्तो परम्पराबाट अछुतो रहन सकेका छैनन् ।

‘हो, मलाई थाहा छ। हरेक महिनाको चार दिन मेरो योनीबाट रगत बग्छ। तर यसको मतलव यो होइन की म अशुद्ध वा अछुतो हुँ । म महिनावारी हुनु भनेको म पूर्ण रुपले गर्भधारणका लागि तयार छु, म परिपक्क महिला भएँ’ भन्ने हो ।

केही दिन अगाडिको कुरा हो। मेरो घर छेउकी बहिनी पहिलो पटक महिनावारी भइन्। पहिलो पटक महिनावारी भएकी उनलाई १५ दिनसम्म एउटा अँध्यारो कोठामा राखियो। उनलाई पनि उस्तै गरी राखियो जसरी मलाई राख्न खोजिएको थियो। शायद मेरो भन्दा उनको भाग्य कमजोर थियो होला। उनी कोठा बाहिर निस्किन पाइनन्। म उनलाई भेट्न गएँ। उनले मलाई देख्ने बित्तिकै प्रश्न गरिन्,‘दिदी के म अब केटा मान्छे बन्न सक्छु?’ उनको यस्तो प्रश्नले म झस्किएँ र सोधे, किन? मैले सोध्न नपाउँदै उनले रुदै भनिन्, ‘हिजोसम्म पूजा गरेर मलाई टिका लगाईदिने हजुरआमाले मलाई अहिले छिःछि र दुर्दुर गर्नु हुन्छ।’

बहिनीको त्यो कुराले फेरि मलाई मेरो बिगतमा फर्कायो। अघिपछि टाउको दुख्यो भन्दा रातभरी मेरो रेखदेख गर्ने मेरा बुवा–आमा म पेट दुखेर छट्पटाइ रहँदा पनि मौन भएर बस्नु भएको थियो। मानौ म ठूलो अपराध गरेको अपराधी हो।

२१ औँ शताब्दीमा पुग्दा सम्म पनि हाम्रो समाजको सोचाईलाई हामीले अझैसम्म पनि परिर्वतन गर्न सकेका छौनौँ। अझै पनि महिनावारी भएका महिलाहरुलाई समाजले हेर्न दृष्टिकोणमा अलिकति पनि परिर्वतन आउन सकेको छैन।

महिनावारी भएका महिलाहरुले बार्नु पर्ने संस्कारको रुपमा जडा गाडेर बसेको छ। हामी महिलाले केका आधारमा यसलाई स्वीकार गर्दै आइरहेका छौँ। संस्कार वा धर्म? महिनावारीलाई धर्म ग्रन्थ अनुसार हेर्ने हो भने पनि परापूर्व कालदेखि पुज्दै आएका भगवान देवी पार्वती, लक्ष्मी, सरस्वती लगायतका कुनै देवीले महिनावारी बारेको भन्ने उल्ले गरिएको छैन। जसमा प्रष्ट रुपमा अनुमान लगाउन सक्छौँ, कुनै पनि धर्मले महिनावरी भएको महिलालाई छुन नहुने भन्ने कुरा उल्लेख गरेको छैन।

पौराणिक कथाका अनुसार नागार्जुन पर्वतको फेद रमणीय फुलवारीमा सतीदेवीले महिनावारीको चारदिन विश्राम लिएको भन्ने भनाइ छ। जुन ठाउँलाई अहिले गुह्यस्वरी पिठको नामले सबैले पुज्ने गर्दछन्। सतीदेवी महिनावारी भएको स्थल पवित्र र पुण्यभूमी मानिने तर सामान्य महिला महिनावारी भएको समयमा भने किन अपवित्र हुने?

हरेक भाद्र पञ्चमीका दिन महिनावारी भएका महिलाले कसैलाई छोएको पाप पखाल्न पञ्चमी नुहाउन जाने परम्परा परापूर्वकालदेखि चलिआएको छ। पञ्चमी नुहाएर चोखो हुनका लागि रजस्वला नभएकी केटीहरूले लैजाने ‘पञ्चगव्य’ खाएर चोखिने परम्परा छ। महिनावारी भएको बेलामा बोटबिरुवा छोयो भने कुहिन्छ टेकेको माटो नै अशुद्ध हुन्छ भन्ने हाम्रो समाजको धारणा यथावत नै छ।

अहिलेसम्म महिनावारी भएको समयमा कुनै महिलाले कुनै पुरुषलाई छोएर ‘पाप’ गरेको भन्ने प्रमाण कसैले पनि जुटाउन सकेको छैन। कोही महिनावारी भएको महिलालाई कुनै पुरुषलाई छोएको भनेर अपराधी सावित गर्न सकेको छैन। एउटा श्रृष्टि चक्रको आरम्भलाई नै पाप ठान्ने यो कस्तो समाज? म त महिनावारीलाई महिलाले मनाउनु पर्ने सबभन्दा ठूलो उत्सव सम्झन्छु। आमाको परिकल्पना त्यति बेला हुन्छ जतिबेला छोरी पहिलो पटक महिनावारी हुन्छिन्।

आज भोलि मैले महिनावारी हुनुलाई जीवनको सबै भन्दा मिठो अनुभूति ठान्ने गरेकी छु। म आमा बन्नका लागि शारीरिक रुपमा सक्षम भएकी छु। म महिनावारी भएकोमा गर्वानुभूति हुन्छ। यो अनुभूतिलाई म कसरी पाप कसरी मान्न सक्छु र? महिनावारी भएका महिला साँच्चिकै पापी हुन् भन्ने यो समाजले महिलाले नै जन्माएका सन्तानलाई केको संज्ञा दिन्छ यो समाजले।

महिनावारी भएका बेला छोगोठमा सुतिरहेका महिलाको मृत्यु हुने गरेको समाचार सञ्चार माध्यममा नआएका पनि त होइनन् नि? तर पनि समाज परिर्वतन हुन मानिरहेको छैन। महिनावारी भएका समयमा छोरी बहिनीलाई ढाडस दिनु पर्ने हाम्रो समाजले उल्टै एउटा उध्याँरो कोठमा लगेर थुन्ने गर्दछ। जसले गर्दा कैयौँ युवतीहरु मानिसक तथा शारीरीक रुपमा कमजोर बन्ने गर्छन्।

पहिलो पटक महिनावारी हुँदा हाम्री आमाले हामीलाई ‘छोरी बधाई छ तिमीलाई तिमी आमा बन्नका लागि सक्षम भएकी छौँ’ भनेर किन भन्न सकिरहेका छैनन्। शायद यति भन्न सक्ने सामथ्र्य कुनै पनि आमामा हुँदो हो त, अहिलेसम्म महिनावारीका कारण भएका कयौँ अप्रिय घटना हामीले सुन्न वा पढ्न पर्दैनथ्यो होला ! म भन्छु कुनै पनि छोरी महिनावारी हुँदा उसले कुनै पनि प्रकारको पाप वा अपराध गरेको होइन ऊ माथि त केवल जिम्मेवारी थपिएको हो। यो महिलाको प्रजनन् क्षमतासँग जोडिएको हुन्छ। तसर्थ महिनावारी महिलाको शारीरिक परिपक्वताको मानक एक महत्वपूर्ण चक्र पनि हो।

सोचमा परिवर्तन ल्याउन हामीबाट नै सुरु गर्न जरुरी छ। त्यसैले त हरेक महिनामा योनिबाट ४/५ दिन रगत बग्नुलाई कुनै पाप वा अपराध नठानी मैले गर्व महशुस गर्न थालेकी छु। आफैले आफूलाई बुझ्न थालेकी छु। आफैलाई माया गर्न थालेकी छु।

(सीता रायमाझी काठमाडौँ विश्वविद्यालयमा एमफिल पहिलो सेमेस्टरमा अध्ययनरत छिन् ।)

असार १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्