विप्लव कार्यकर्ता र प्रहरीबीचको दोहोरो फायरिङपछि हेलिकप्टरबाट थप सुरक्षाकर्मी घटनास्थलमा

मोरङ– संखुवासभामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फाइरिङ भएपछि नेपाली सेनाको दुईवटा हेलिकप्टरबाट थप सुरक्षा टोली घटनास्थल पुगेको छ।

सोमबार बिहान करिब १० बजे जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको होयेङलामा चन्द नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएपछि सो स्थानलाई थप सुरक्षा दिइएको हो। यसबीच नेपाली सेनाको हेलिकप्टरले सो क्षेत्रमा गस्ती गरेको छ।

घटनाका सन्दर्भमा प्रदेश एकका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीले विप्लव समूहले फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको बताएका छन्। उनले भने, ‘त्यो फायरिङ निकै टाढाको फायरिङ हो। कुनै मानवीय क्षति वा अन्य कुनै घटना भएको छैन।’

प्रहरीको टोली नियमित गस्तीका क्रममा रहँदा सिसुवा खोलाको होयेङलामा विप्लव समूहबीच दोहोरो भिडन्त हो। सो क्रममा चन्द समूहका कार्यकर्ता जंगलतर्फ भागेका सुरक्षा स्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दोहरो भीडन्तका क्रममा विप्लव समूहका करिब २५ जना हतियारसहित रहेका थिए। घटनापछि जङगलतर्फ भागेका विप्लव कार्याकर्ताहरुको सुरक्षा टोलीले खोजी गरिरहेको जनाइएको छ।

घटनापछि सिलिचोङमा काठमाडौबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट करिब ५० जनासहितको टोली पुगेको बताइएको छ। त्यसैगरि, घटनास्थलतर्फ ताम्कु प्रहरी चौकी, सिसुवा प्रहरी चौकीका प्रहरी र अरुण गुल्म चैनपुरका सशस्त्र टोली पनि पठाइएको जिल्लाका प्रहरी नायव उपरिक्षक भीमबहादुर लामाले जानकारी दिए।

यसअघि, सो स्थानमा विप्लव समूहका कार्यकर्ता हतियारसहित आएको सुराकीका आधारमा गस्ति टोली पठाईएको बताइएको छ। घटनास्थल सदरमुकाम खाँदबारीदेखि २ दिनको पैदल दुरीमा पर्दछ। घटनास्थल अति विकट संखुवासभा, भोजपुर र सोलुको सिमानामा पर्दछ।

असार १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्