हुम्लामा पाँच वटा स्वास्थ्य क्लिनिक सञ्‍चालन हुने

सिमकोट– हिमाली जिल्ला हुम्लाका पाँच स्थानमा स्वास्थ्य क्लिनिक संचालनमा आउने भएका छन्। सेवाग्राहीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि क्लिनिकहरु संचालनमा आउन लागेका हुन्।

नेपाल ट्रष्ट अन्तर्गतकाे नेपाल डेभलभमेन्ट फाउण्डेशनको आर्थिक सहयोग र स्थानीय सहयोगी संस्था सीप नेपालको सहकार्यमा हुम्ला जिल्लाका सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड, सिमकोट गाउँपालिकाको वरगाउँ, नाम्खा गाउँपालिकाको केर्मी, यारी र लिमीमा औषधी, उपकरण र जनशक्ति सहितको क्लिनिक संचालन गर्न लागिएको सीप नेपालका कार्यक्रम संयोजक काली बहादुर भण्डारीले बताए।

स्वाथ्य सेवाबाट बञ्चित भएका नागरिकहरुलाई उपचार सेवा दिन यो कार्यक्रम संचालन गर्न लागिएको उनले बताए। जसमा बरगाउँमा तत्काल संचालन आउने छ भने अन्य स्थानमा पनि चाँडै सेवा प्रदान गरिने भएको छ।

स्थानीय सरकारसँगको सहकार्य गर्नु पर्ने नीति अनुसार सोमबार सिमकोट गाउँपालिका पदाधिकारी, जिल्ला अस्पतालका चिकीत्सक र स्वास्थ्यकर्मी, गाउँपालिकाको स्वास्थ्य शाखासँग क्लिनिकलाई प्रभावकारी र सबै सेवा प्रदान गर्नका लागि सुझाव संकलन गरिएको थियो।

उक्त कार्यक्रममा गाउँपालिकाको नीति नियम अनुसार संचालन हुनु पर्ने, क्लिनिक संचालन गाउँपालिकाले अनुमति दिने, औषधी खरिद गर्दा जिल्ला अस्पतालका डाक्टरहरुसँग समन्वय गर्ने सुझाव आएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए।

कार्यक्रममा उपाध्यक्ष बली रावत, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, जिल्ला अस्पतालको चिकीत्सकद्वय दुर्गा सुर्खाली र नविन रोकाया लगाएतको उपस्थिती रहेको थियो।

असार १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्