‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक

काठमाडौँ– ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धाको नतिजा सोमबार सार्वजनिक भएको छ।

पब्लिक च्वाइस अवार्ड कुमार भाष्करले बनाएको छटपूजा सम्बन्धी भिडियोले पाएको छ । उनले एक लाख रुपैयाँ पुरस्कारसहित चलचित्र सम्बन्धी दुई वर्षको कोर्ष पनि गर्न पाउने छन् ।

यस्तै मकै विवाहले उत्कृष्ट स्कृप्टको अवार्ड जितेको छ । रातो मच्छिन्द्रनाथको भिडियो खिचेका दिनेश श्रेष्ठले सिनेम्याटोग्राफी तर्फको अवार्ड जितेका छन् । देवकी विष्ट वर्षको उत्कृष्ट महिला भिडियो मेकर बनेकी छन् । पब्लिक च्वाइस तर्फ नै बिक्रम न्यौपानेले बनाएको रैनाशको भिडियो दोस्रो भएको छ भने सोलु नगरपालिकाले बनाएको भिडियो तेस्रो स्थानमा रहेको छ ।

सर्वोत्कृष्ट भिडियोको अवार्ड शुभबहादुर तामाङ्गले बनाएको जर्नी टू सिङ्गलाले पाएको छ । यस्तै फ्युचर स्टार अवार्ड आर्यन कुँवरले पाए । इनर्जेटिक भिडियो मेकरको अवार्ड विजय राईले पाए भने मोस्ट पोटेन्सियल डेस्टिनेशन अवार्ड सन्दकपुरले पायो ।

सोमबार नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै गायिका तथा नेकपाकी राष्ट्रिय सभा सदस्य कोमल वलीले भ्रमण वर्षको लागि नेपाल टेलिकमले सहयोग नगरेको बताईन्। साथै उनले भिडियो प्रतियोगिताका विजेतालाई भ्रमण वर्ष २०२० का लागि सद्भावना दुत बनाउनु पर्नेमा जोड दिईन्।

यस्तै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्भावना हाम्रै देशमा भएको बताउँदै समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकांक्षा भएको बताए। साथै उनले कृषिको व्यवसायिकरणको आवश्यकता रहेको पनि बताए।

उनले भने, ‘ओखलढुङ्गाको पलाटे लकबाट ६ ओटा आठ हजार मिटर भन्दा अग्ला हिमाल देखिन्छन्। यस्ता सुन्दरता विश्वलाई देखाउन जरुरी छ।’, उनले भने, ‘काम थालनी गर्दै निरन्तरता पाउनु पर्छ। सरकारले मात्रै होइन नागरिकका तर्फबाट पनि सहयोग हुनुपर्छ।’

कार्यक्रममा प्रमुख अथिति समेत रहेका पोखरेलले योजना सहित आएको खण्डमा यो अभियानलाई आफ्नो सहयोग रहने बताए।

पुस १६ गते ‘हामी उठ्ने छौं ‘वि विल राइज फाउन्डेसन’ ले भ्रमण वर्ष २०२० लाई सहगयो पुग्ने गरी ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धा गर्ने घोषणा गरेको थियो। कार्यक्रम घोषणा भएपछि ३१ मे सम्ममा नेपालभरिबाट १ सय ३२ ओटा भिडियो प्रतिष्पर्धाका लागि आएका थिए। यसमध्ये ४७ ओटा भिडियोहरु विभिन्न विधामा मनोनयनमा परेका थिए।

प्रतियोगितामा सहभागी हुनको आफ्नो क्षेत्रमा पर्यटकीय सम्भावना बोकेको संस्कृति, पर्यटकीय क्षेत्र तथा खानेकुराको भिडियो बढीमा ५ मिनेटको हुनुपर्ने र भिडियो ‘एच डी’ क्वालिटीमा हुनुपर्ने बताइएको थियो।

१३२ ओटा मध्ये ४७ ओटा भिडियोलाई विभिन्न ८ विधामा छुट्याइएको थियो।

असार १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्