छात्रामा देखियो अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

लम्की – कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ ।

बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् ।

उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ । विद्यार्थीमा कन्र्भसन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताए ।

बढी तनाव तथा दवाबमा पर्दा मानसिक रूपमा यस्तो समस्या आउने सापकोटाले बताए । ‘यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन । उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ’, उनले भने ।

स्वास्थ्य केन्द्रमा आएका विद्यार्थीको अवस्थामा सुधार भइरहेको उनले जानकारी दिए ।

असार १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्