जाँगरिला गाउँपालिका अध्यक्ष

भैँसी पाल्ने गाउँपालिका अध्यक्ष भन्छन् ‘काम गर्न केको लाज?’

दाङ –तीन ओटा भैँसी, एउटा पाडा र दुई पाडी गोठमा छन् । अगेनामा कुँडो पाक्दैछ । भैँसीको गोवर फाल्दै गरेको अवस्थामा भेटिए बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल ।

‘मेरो बिहानको ड्युटी भैँसी गोठबाट सुरु हुन्छ’, उनले भने, ‘श्रीमती बजार दूध लगेर बिक्री गर्न गएकी छन् । उनी आउँदासम्म मल फालेर गोठ सफा गरिसक्नु पर्छ ।’

विज्ञापन

बिहान ५ बजे देखि साढे ६ बजे सम्म भैँसी गोठमा भकारो सोर्ने, भैँसीलाई दाना पानी स्याहारसुसारमा व्यस्त हुन्छन अध्यक्ष पौडेल।

पौडेलले पाँच वर्ष अघि देखि भैँसी पालन व्यवसाय शुरु गरेका हुन् । दैनिक १५ लिटर दूध बजारमा बिक्री गर्दै आएका पौडेल आफै पनि बजारमा दूध बेच्न जान्छन् ।

‘काम गर्न के को लाज हजुर । भैँसी पालेको छु । हरेक दिन बिहानको समय गोठमै बिताउछु’, उनले भने, ‘दूध बेचेर आएको पैसाले घर खर्च चलेको छ ।’

पौडेलको चार जनाको परिवार छ । पौडेलले आफ्नो छोरा प्रकाशलाइ कृषि कार्यमा संलग्न गराउन पशु विज्ञान पढाइरहेका छन् ।

‘छोरालाइ विदेश नजाने सल्लाह दिएको छु । पशु पालनमा संलग्न गराउन त्यहीसँग सम्बन्धित विषय पढाइरहेको छु’, उनले भने, ‘घरमा हुँदा छोराले भैँसी पालनमा सघाएका थिए । अहिले पढ्न काठमाडौँ पठाएको छु ।’

आफै पशुपालनमा सक्रिय गाउँपालिका अध्यक्ष पौडेलले कृषि र पशुपालन व्यवसायबाट गाउँपालिकामा समृद्धि भित्र्याउन सक्ने योजनामा छन् ।

‘व्यवसायिक पशु पालन र खेतीपातीमा औजारीकरण बाट लागत घटाउन सकिन्छ र आम्दानी बढाउन सकिन्छ यही उदेश्यले अघि बढेका छौँ’, उनले भने, ‘युवा पुस्तालाई कृषि कर्ममा आकर्षित गर्नेगरि काम गरेका छौँ।’

असार १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू