सहकारीले हिनामिना गरेकाे २६ कराेडमध्ये साढे तीन करोड फिर्ता गर्‍यो

नेपालगञ्ज– करिब २६ करोड रुपैयाँ हिनामिना भएको सहकारी वित्तीय विकास संस्था लिमिटेडले मंगलबारसम्ममा ग्राहकको साढे तीन करोड रुपैयाँ फिर्ता गरेको छ।

तीन ‘ठूला कर्मचारी’लाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर रकम असुली गर्दै ग्राहकलाई फिर्ता गरिरहेको सहकारीले अहिलेसम्म एक हजार ग्राहकको दश प्रतिशत रकम फिर्ता गरेको जनाएको छ। सहकारीले पहिलो चरणमा वचतको दश प्रतिशत रकम फिर्ता गरिरहेको छ।

सहकारीको नेपालगञ्ज, खजुरा र बैजापुरमा शाखा छन्। १४ हजार ग्राहक रहेको सहकारीका ठूला कर्मचारीले करिब २६ करोड हिनामिना गरिदिएपछि जेठ १२ गतेदेखि बन्द गरिएको थियो। २३ गतेदेखि सहकारीले ग्राहकको पैसा फिर्ता गरिरहेको छ।

बैंकिङ प्रवन्धक अरुणकुमार पाठकले एक करोड ४० लाख, नायव महाप्रवन्धक गंगाधर सुवेदीले ५० लाख, गोपाल भण्डारीले ३८ लाख फिर्ता गरेका छन्। पाठक, सुवेदी र भण्डारी प्रहरीको नियन्त्रणमा रहेका छन्। सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीका अनुसार, बैंकिङ प्रवन्धक पाठकले २२ करोड, नायव महाप्रवन्धक सुवेदीले तीन करोड, खजुरा शाखाका प्रमुख विकले ६४ लाख र बैजापुर शाखाका वलीले ४४ लाख हिनामिना गरेका छन्। विकले अब १४ लाख ७५ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। सहकारीका मुख्य प्रवन्धक भएकाले गोपाल भण्डारीमाथि पनि औँला सोझिएको छ। उनले पनि हिनामिनाको रकम फिर्ता गरिरहेका छन्।

सहकारीले २१ गते साधारण सभा गर्ने तयारी गरेको छ। साधारण सभापछि सहकारी दुई महिना बन्द रहने अध्यक्ष चौधरीले जानकारी दिए। ‘साउन र भदौमा सहकारीलाई बन्द गरेर व्यवस्थित गर्छौँ, अब ग्राहकको इन्ट्री कम्प्युटरमा हुन्छ, अध्यक्ष चौधरीले भने, साधारण सभामा हिरासतमा रहेका कर्मचारीलाई पनि ल्याउँछौँ। उनीहरुले पैसा तिर्ने ग्यारेन्टी भए हाजिरी जमानीमा निकाल्ने प्रयास गर्छौँ।’

सहकारीले नेपालगञ्जबाट सोमबार र बिहीबार ग्राहकको पैसा फिर्ता गरिरहेको छ। खजुरा र बैजापुरबाट बुधबार पैसा फिर्ता गरेको छ। खजुरामा तीन पटक पैसा फिर्ता भइसकेको छ। बैजापुरमा दुई पटक बाँडिएको छ। नेपालगञ्जमा सोमबार ९४ जनालाई २२ लाख रुपैयाँ बाँडिएको अध्यक्ष चौधरीले जानकारी दिए।

थुनामा रहेका कर्मचारीले बाहिर निकाल्नुस्, रकम तिर्छौँ भनिरहेका छन्। यस विषयमा साधारण सभामा कुरा उठ्ने तयारी भएको छ। कर्मचारीले पैसा खाएर भागेको कुरा बाहिर आएपछि दुरदराजका बचतकर्ताहरु दैनिक नेपालगञ्ज धाइरहेका छन्। सोमबार र बिहीबार त विहान ६ बजेदेखि नै सहकारीमा भीड लाग्ने गरेको छ। अध्यक्ष चौधरीले कसैको पनि पैसा मर्न नदिने उद्घोष गरिरहेका छन्। वचतकर्ता भने अझै ढुक्क हुन सकेका छैनन्। दश प्रतिशत नै भएपनि निकाल्न उनीहरु विहानैदेखि लाइनमा बस्ने गरेका छन्।

असार १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्