शिवपुरी बाबाको स्वधर्म

हरेक मानिसको जीवनमा काम लाग्ने यो शिक्षा

शिवपुरी बाबा जीवनको उत्तरार्द्धमा।

अनेकजन्मसम्प्राप्तकर्मबन्धविदाहिने ।

आत्मज्ञानाप्रदानेन तस्मै श्री गुरवे नमः ।।

त्वदियं वस्तु गोविन्द तुभ्यमेव समर्पये ।

तेन त्वदङ्घ्रिकमले रतिं मे यच्छ शाश्वतीम् ।।

।। श्री गोविन्दार्पणमस्तु ।।

पशुपति ध्रुवस्थली। २०१९ माघ १५ सोमबार, माघ शुक्लपक्ष तृतीया जनवरी २८, १९६३। बिहान ६:१५। उहाँको सेवामा जीवन समर्पण गर्नुभएका माधवबाजे र केही भक्तको उपस्थिति। बिच्छयौनाबाट उठेर बस्नुयो । पानी माग्नुभयो। साविक बमोजिम दाहिने कोल्टो फेरेर दाहिने हत्केलामा टाउको अड्याउँदै भन्नुभयो, ‘स्वधर्मको पालना गर्नू, भगवानको पूजा गर्नू, बस् यत्ति नै, अरु केही होइन। अब म गएँ।’ १३७ वर्षको मानवदेह छाड्नुभयो।

रेशमीका भुवाजस्ता सेतो दाह्री र सेतै कपाल। अनन्तज्ञानको ज्योतिले भरिएका अत्यन्तै सफा खैरो दुई आँखा, अनि त्यसका कुनामा मुसुक्क हाँस्दा पर्ने चाउरी, चिल्लो निधार, सोझो कम्मर। शान्तिले व्याप्त, नम्रता र प्रेमको ज्योतिपुञ्ज आभामण्डल। चेलाहरुले घेरिनुभन्दा जंगली जनावर र चितुवासँग मित्रता गाँस्न मनपराउने कुनै अर्कै ग्रहबाट ओर्लिएका ओजस्वी देवदूतजस्ता, एकान्तप्रेमी। दर्शनभेटपछि उहाँलाई प्रेम नगरियोस्, असम्भव!

उहाँका बारे पढ्दा, सुन्दा मात्र पनि हृदयभित्र दिव्य तरंग झंकृत हुन्छ। आश्चर्य के भने, उहाँले धर्ती छोडेको वर्षौ हुँदा पनि, उहाँलाई प्रत्यक्ष दर्शन गर्न नपाएकाहरु जब उहाँको समाधि मन्दिर जान्छन्, तब उनीहरु त्यस्तै अनुभूति गर्छन् मानौं उनीहरुले भर्खरै बाबाको दर्शन गरे, प्रेमिल स्पन्दनले द्रविभूत भए।

उहाँको जन्म दक्षिण भारतको केरलामा वि. सं. १८८३ (इ. सं. १८२६) मा भएको मानिन्छ। तिथि चाहिँ भाद्र मूल नक्षत् । उहाँ चेतनासहित मुसुक्क हाँस्दै जन्मेको कुरा सुनेपछि योगी हजुरबुबा अच्युतमले भविष्यवाणी गर्नुभयो, ‘ल अब महान् सन्यासी हुने लक्षण भएको बच्चाले हाम्रो घरमा जन्म लिएछ। हाम्रो कुल यिनैमा टुंगिने देखिन्छ।’

उहाँले १२ वर्षमा चारै वेदाध्ययन हजुरबुबासँगै पूरा गर्नुभयो। सानै उमेरमा आमाबुबा बित्नुभएपछि हजुरबुबा र हजुरआमाबाट हुर्किनुभयो। नर्वदा नदीको किनारमा फैलिएको घना अमरकण्टक जंगलमा निर्गुण ब्रह्मको ध्यानको पच्चीस वर्षको अनवरत साधनापछि त्यो महान् क्षण पनि आइपुग्यो। ‘ब्रह्म साक्षात्कार’ गर्नुभयो। परमात्माको दर्शनले लबालब भरिएर अनन्तज्ञानको ज्योति र दिव्यप्रेमसहित समाज पस्नुभयो। आदि शंकराचार्यद्वारा स्थापित दक्षिण भारतको श्रृङ्गेरी मठमा औपचारिकताका लागि सन्यास लिनुभएपछि सुरू भयो तीर्थाटन र विश्वयात्रा।

सन् १८७५ देखि १९१५ सम्मको विश्वभ्रमणमा बेलायतका महारानी भिक्टोरिया, अमेरिकाका राष्ट्रपति थियोडर रुजवेल्ट, कैजर विल्हेल्म द्वितीय, नेदरल्याण्डकी महारानी एम्मालगायत राजा, महाराजा, राष्ट्राध्यक्ष, शासक भेट्नुभयो। साथै उहाँले लियो टोल्सतोय, बर्नाड शा, आइन्स्टाइनलगायतका वैज्ञानिक, विद्वान, प्राज्ञ, किसान, साधारणजनलाई पनि भेट्नुभयो। विश्वभम्रणको क्रममा संसारकै अग्लो ठाउँमा रहेको बोलिभियाको टिटीकाका कुण्ड पनि पुग्नुभयो।

यस्ता घटना, कुराकानी र आफ्नो व्यक्तित्वका बारेमा बाबाले कुनै महत्व दिनुभएन, ‘मेरो शिक्षाको बारेमा मात्रै विचार गर्नू’ भन्नुहुन्थ्यो। बाबाले २५ वर्षको कठोर साधना र ४० वर्षको विश्वभ्रमणपछिको अनुभवबाट (सात समुद्रमा गोता खाएर निकालेको सियोजस्तो) निकाल्नुभएको निचोड हो – स्वधर्म।

मनमा अनगिन्ती प्रश्नले घेर्दछन्, म कहाँबाट आएँ, यो अस्तित्व, यो संसार के हो, आदिआदि। जीवनमा मानिसले सोचेजस्तो हुँदैन, ५२ घुस्सा ५३ लात र अनेकानेक ठक्कर खाएर वैराग्य पलाउँछ। यी अवस्थामा के गर्ने कसो गर्ने भेऊ नपाएर ऊ अल्मलिन्छ र बेचैन हुन्छ। त्यो बेला समस्याको निराकरण गर्न र दिशानिर्देश गर्न चाहिन्छ – स्वधर्म।

सत्यको खोजमा लागेका वा जीवनलाई सुख, समृद्ध, आनन्दमय बनाउन चाहने दुवैथरीले स्वधर्म पालन गर्नु अनिवार्य छ।

शिवपुरीबाबाले भन्नुहुने स्वधर्म के हो र यसलाई कसरी पालना गर्ने?

बाबाको जोड केमा छ भने संसारलाई नकार्नु, पीठ फर्काउनु वा त्याग्नु होइन, बरु यसलाई सकारेर सुखपूर्वक जीवनयापन गरेर जीवनधारणका लागि अनावश्यक सबै क्रियाकलापबाट हट्नु हो। र, बाँकि समय सत्यको अन्वेषण गर्नु हो। जीवनमा प्रतिकूलता आउँदा, समय बदलिँदा, सोचेको जस्तो नहुँदा बुद्धिमतापूर्ण ढंगले समाधान गर्दै जीवनको लक्ष्य प्राप्त गर्ने क्षमता स्वधर्मको पालनाले दिन्छ। बाबा भन्नुहुन्थ्यो, ‘दसवर्षको अभ्यासपछि स्वधर्मको महत्व बुझिनेछ।’

यसको लागि शारीरिक, मानसिक (आत्मिक) र आध्यात्मिक गरी तीन अनुशासन पालना गर्नुपर्दछ।

(१)  शारीरिक अनुशासन

शरीरलाई कुशल यन्त्रको रुपमा प्रयोग गर्नुपर्दछ र यसको रक्षाको लागि कर्तव्यहरु पूर्णता र तन्मयताकासाथ गरिनुपर्दछ।

(क)  व्यक्तिगत – निद्रा, आहारविहार, सुँघ्ने, छुने आदि चाहिने जति मात्रै शरीरलाई दिनुपर्दछ र स्वस्थ राख्नुपर्दछ।

(ख)  सामाजिक – परिवारको आवश्यकता पूरा गरेमा हामीले परिवारबाट पाइने प्रेम, आनन्द र सद्भावले घरको वातावरण सुमधुर हुन्छ र ध्यानको लागि छुट्टयाइएको समयमा अवरोध आउँदैन। समाजमा शान्ति र सद्भाव कायम राख्न आफ्नो योगदान दिनुपर्दछ।

(ग)   व्यवसायिक – आफ्नो रुचि र सामर्थ्यअनुसारको पेशा वा व्यवसाय गर्नुपर्दछ। धन खर्च गर्दा आवश्यकताअनुसार मात्रै गर्नु पर्दछ।

यज्ञ:

(क)  ब्रह्मयज्ञ– ब्रह्ममुहूर्तमा उठ्ने, नुहाउने, शास्त्र अध्ययन, पूजापाठ, ध्यान गर्ने। तीर्थाटन गर्ने। समयसमयमा उपवास बस्ने। यसले उत्तरदायित्वको गहन वोध र जागरुकता आउँछ।

(ख)  ऋषियज्ञ– ज्ञानको लागि सत्संग र गुरूसेवा। यसले मानवीय दोष हट्छन् र उच्च भावनाको विकास हुन्छ।

(ग)   पितृयज्ञ– मृत पूर्खाहरुको नाममा सेवाकार्य, दानादि गर्ने। यसले हामीमा कृतज्ञता र आदरभावको विकास गर्दछ।

(घ)  भूतयज्ञ – पशुपन्छीहरुलाई खुवाउने, रक्षा गरिदिने, सहानुभूति, दया, प्रेम प्रकट गर्ने। यसले सहानुभूति र प्रेम बढाउँछ।

(ङ)   मनुष्ययज्ञ – अरुलाई मद्दत गर्ने। यसले प्रेम र भाइचारा बढाउँछ।

दानधर्म – अरुका निम्ति (क) असल विचारले, (ख) असल वाणीले, (ग) असल कर्मले (घ) आफ्नो धन वा वस्तुले।

दान दिँदा पनि सत्पात्रलाई मात्र दिनु पर्छ। अन्न दान श्रेष्ठ दान हो। दानलगायत उपकार गर्दा पहिला आफ्नो परिवारलाई समेट्नु पर्दछ, त्यसपछि समाज, छरछिमेकलाई समेट्नु पर्दछ। सत्पात्रको ठाउँमा गलत पात्र पर्‍यो भने दानले ल्याउने दुष्परिमाणले आफैंलाई दुःख दिन्छ।

तप – जस्तोसुकै अप्ठ्याराहरु आइलागे पनि योजनावद्ध काम पूरा गर्न निरन्तर लागिरहनुपर्दछ।

कर्तव्य एउटा आफैंमा पूर्ण विज्ञान हो जसलाई निरीक्षण, प्रयोग, परिकल्पना, प्रमाणीकरणद्वारा अध्ययन गरी वर्तमानद्वारा अतीतलाई सुधार्ने र भविष्यको तयारी गर्ने।

तीक्ष्ण बुद्धिबिना कर्तव्य ठीकसँग जान्न र पूरा गर्न सकिँदैन। अन्य व्यवहारिक क्रियाकलाप पनि लथालिंग हुन्छ र अनावश्यक झन्झट आइलाग्छन्।

हरेकपल्ट निरीक्षण र सुधार गर्नाले कर्तव्यमा पारगंत भइन्छ, बुद्धि तीक्ष्ण हुन्छ र लक्ष्य हासिल हुन्छ। अनावश्यक कुरामा समय खेर फाल्नु हुँदैन।

कर्तव्यलाई पनि साँघुरो बनाउँदै लगेर शरीर धान्ने मात्रमा सिमित गर्नुपर्दछ। बचेको समय र शक्ति ध्यानमा लगाउनुपर्दछ।

यो अनुशासनले बाहिरी संसार व्यवस्थित गर्दछ, जीवन सुखमय बन्दछ। यसलाई संसार साक्षात्कार भनिन्छ।

सत्यको खोजमा लागेका वा जीवनलाई सुख, समृद्ध, आनन्दमय बनाउन चाहने दुवैथरीले स्वधर्म पालन गर्नु अनिवार्य छ।

(२) नैतिक (आत्मिक) अनुशासन

कर्तव्य पालना गर्दा मनलाई राग, द्वेष र भावनात्मक कुराहरुको प्रभावमा आउन नदिनु, सत्वगुण वा कर्ममा मात्रै लगाइरहनु नैतिक अनुशासन हो। आसुरी प्रभावहरु रजोगुण, तमोगुण र बेमतलबका कर्म (अकर्म) र हानी पुर्‍याउने कर्म (विकर्म) बाट मनलाई अलग्याउनु पर्दछ।

छब्बीस दैवीगुण छन्- अभय, मनको पवित्रता, चरित्रको स्थिरता, दान, आफूलाई नियन्त्रण गर्नसक्ने शक्ति, यज्ञ गर्ने तत्परता, स्वाध्याय, मेहनत गर्ने शक्ति, सरलता, अहिंसा, सत्य, अक्रोध, फलासा त्याग, समभाव, दोषप्रति घृणा, प्राणी मात्रमा दया, निर्लोभी हुनु, नम्रता, खराब काम गर्दा लाज मान्ने, बलियो मन, तेज, क्षमा, सहनशीलता, ब्रह्मचर्य, अद्रोह, मान(–अपमानप्रति उदासीन। छवटा आसुरीगुणहरु छन्– आडम्बर, चौपट्टै घमण्डी, मपाईं, क्रोध, कठोर हृदय र अज्ञान।

मनमा उच्च स्वभावहरु (दैवीसम्पदा) उमार्ने र निम्न स्वभाव (आसुरीसम्पदा) फाल्ने गरि नै रहनुपर्दछ। जतिसुकै झर्को लागे पनि हरेस खानुहुन्न।

कहिलेकाहीँ बाहिरी अवस्था प्रतिकूल हुँदा आफ्नो र समाजको शान्ति कायम गर्नका लागि रजो वा तमोगुणमा ओर्लनु पर्दछ। त्यतिबेला अकर्म वा विकर्म गर्न पछि हट्नु हुँदैन। व्यवहारमा कहिलेकाहिँ रिस क्रोध, अहंकार देखाउनुपर्ने हुनजान्छ। सधैं नम्रता र भद्रताले काम गर्दैन। नैतिकताको नियम पनि देश, काल र परिस्थितिअनुरुप परिवर्तनशील हुन्छ। मानसिक अनुशासनको लामो अभ्यासले ‘जडसूत्रीय बानी’लाई जरैदेखि उखालेर फाल्दछ। मनलाई विवेक र लचकपना प्रदान गर्दछ।

मन बलियो भएर बाहिरी सांसारिक प्रतिकूलताको असरले खल्बलिनबाट बचाओस् र शुद्ध भएर सत्यको खोजमा अविचलित लागिरहन सकोस्। तसर्थ हामीले तीनवटै सँगसँगै गर्दै लानुपर्दछ – कर्तव्य, अनुशासन र भक्ति (सत्यको खोज वा ध्यान)।

शारीरिक अनुशासनको राम्रो अभ्यासले शासन शक्ति र नैतिक अनुशासनले नियन्त्रण शक्ति प्रदान गर्दछ। र, जीवन सुखमय, सन्तोषमय, आनन्दमय बन्न जान्छ । यो साधनाको फल आत्म–साक्षात्कार हो।

(३) आध्यात्मिक अनुशासन

सत्यको प्राप्ति नै जीवनको सर्वोच्च लक्ष्य हो। बुद्धि मन्द भएमा कहिलेकाहीँ संसारमा आउने नयाँ परिस्थिति के हो भनेर बुझ्न सकिँदैन भने कमजोर मनले त्यो परिस्थितिसँग घुलमिल हुन चाहिने लचकपन देखाउन सक्दैन र जड बन्छ। बलियो मन र तेज बुद्धि नभई हुँदैन तर यति मात्रले पनि पार लाग्दैन, त्यसैले यसको लागि चाहिन्छ– श्रद्धा। श्रद्धा सिकाउन सकिन्न। यो विवेकद्वारा आर्जन गरिन्छ।

श्रद्धाले आफैंलाई भगवानद्वारा जिताइन्छ र पाइन्छ– सम्पूर्णता, परमशान्ति। यो आध्यात्मिक अनुशासनको लक्ष्य ‘भगवद्(साक्षात्कार’ हो। वास्तवमा भन्ने हो भने पहिलो दुई अनुशासनहरु यसको लागि पूर्वाधार मात्रै हुन्।

अब यसको लागि चाहिन्छ – ध्यान।

कर्तव्यमा मात्र लागिरहेको बुद्धिले आफूले जिउने संसारलाई सहज बनाउने र सद्गुणहरुको अभ्यासले धैर्यता राख्ने सामथ्र्य पाइसकेको मन बलियो हुन्छ र बाहिरी प्रतिकूलतासँग लड्दछ अनि त्यसैगरी सत्वगुणले शुद्ध भएको मनले आत्माको खोजी (ध्यान, भगवानको भक्ति) गर्दछ। बुद्धि तीक्ष्ण र मन बलियो, शुद्ध नबनाईकन सोझै सत्यको खोजमा जाँदा सांसारिक अवस्थाहरुले हाम्रो मन नीचता (सांसारिक लोभ) तिर खिच्दछ र हामी सजिलै पराजित हुन पुग्दछौं। स्वधर्ममा विवेक र भक्ति नामक दुईटा खुट्टा टेकेर जीवन उँचो विन्दू ‘सत्य’ तिर लम्कन्छ। त्यसैले स्वधर्मले संसारलाई भ्रम नमानी यसलाई सही व्यवहार गरेर सत्यको खोजी गर्न प्रेरित गर्दछ। संसारसँग सम्यक व्यवहार गर्न सिकाउँछ। बाबाले आगोको गोलको दृष्टान्त दिनुभएको छ। आगोको फिलुँगो हातमा लिँदा पोल्छ तर त्यसलाई चिम्टाले सही तरिकाले समातेर यसको उर्जाबाट विभिन्न काम लिन सकिन्छ। त्यसरी नै आगो (संसार)लाई चिम्टा (तेज बुद्धि र बलियो मन) द्वारा उपयोग गरिन्छ।

ध्यानमा तीनवटा चरण आउँदछ – धारणा, ध्यान र समाधि ।

धारणा:

भगवानको याद गर्ने, भगवानको भजनगान, यश, कीर्ति लीलाहरुको गुणगान गर्ने शास्त्र अध्ययन मनन गर्ने, प्रार्थना गर्ने। सबै वस्तुहरु भगवानकै सृष्टि हुन् भनेर विचार गर्ने। मन्त्र जप गर्ने। आआफ्नो आस्था र विश्वासअनुसारको शास्त्र, भगवानको लीला अध्ययन मनन गर्ने। व्यक्तिको इच्छा, रुचि, धर्म सम्प्रदायअनुसार इष्टदेव र शास्त्र फरक–फरक हुन्छन्। मनलाई यस्तै प्रकारको घेराभित्र खेलाउने धारणाको अभ्यास हो।

ध्यान:

इष्टदेवको मूर्तिलाई आलम्वन बनाएर मनलाई एकोहोरो टिकाइरहने अभ्यास नै ध्यान हो। यो ध्यान सगुण ध्यान हो। बाबाले क्रिस्तानीहरुलाई क्राइष्टको ध्यान गर्न सल्लाह दिनुहुन्थ्यो। उहाँको सुझाव व्यक्ति अनुसारको हुन्थ्यो। बाबाले स्वधर्मको शिक्षा व्यक्तिपिच्छे फरक–फरक हुन्छ भन्नुभएको छ।

मन टिकिरहन नसके धारणामा ओर्लने र फेरि ध्यानमा उक्लनुपर्दछ। यसरी वर्षौंसम्म धारणा–ध्यान को अभ्यास गरिरहेपछि एक दिन साक्षात्कार हुनेछ। अपार खुशी र आनन्द महशुस हुनेछ। समस्त दुःख, पीडा बिलाउनेछ। जीवनदृष्टि बदलिनेछ। यसलाई सगुण ब्रह्मको साक्षात्कार भनिन्छ।

साधकहरुको स्तरअनुसार बाबाले फरकफरक ध्यानको तरिका दिनुहुन्थ्यो। व्यक्तिलाई सहज लागेको जुनसुकै विधि अभ्यास गर्दा आफ्नै कल्पनामा खेल्न बाबा छुट दिनुहुन्थ्यो।

हिन्दूतन्त्र प्रणाली, बौद्ध महायान र वज्रयानमा गरिने विभिन्न देवीदेवताको मन्त्र–ध्यान साधना, देवीदेवतामा रुचि, आस्था हुने वा नहुनेले त्राटक, ज्योतिध्र्यान, श्वासप्रश्वासमा गरिने सोऽहम ध्यान, ॐकार ध्यान, बौद्ध थेरवादको शमथ–विपश्यना ध्यान, विज्ञान भैरवतन्त्रले निर्देश गरेको ११२ प्रकारको ध्यानप्रणाली आदित्यादि मध्ये आफूलाई सहज लाग्ने कुनै प्रणाली छानेर अभ्यास गर्न सकिन्छ। यी ध्यानहरुले मनका विविध पत्रहरुलाई एकपछि अर्को बन्दाकोपीका पातझैं तहतह पार गर्दै लान्छ, मनलाई अति नै निर्मल बनाइदिन्छ। द्वैतभाव आउने बित्तिकै एकपछि अर्को तह छाड्दै जानुपर्दछ। ती ध्यानप्रणालीबाट एक विन्दु आइपुगेपछि भने ती विधिलाई पनि छाडेर निर्गुण ध्यानमा जानुपर्दछ। निर्गुण ध्यान एकप्रकारले भन्ने हो भने मार्गविहीन मार्ग हो।

धारणा–ध्यान–समाधिलाई सोलीजस्तै मान्न सकिन्छ। फराकिलो घेरामा मनलाई खेलाउँदा धारणाको अभ्यासले खारिएपछि घेरा साँघुरो गर्दै लानुपर्दछ।

समाधिः

ध्यान अत्यन्त गहिरिएपछिको अवस्था हो, समाधि। ध्यानमा सगुण ब्रह्मको दर्शनलाई सबथोक मान्नु हुँदैन। यो चेतनाको अत्यन्त उच्चावस्था हो। तर अन्तिम होइन। यसपछि अर्को स्तर आउँछ, जहाँ यो अस्तित्व के हो? म को हूँ? यसको खोज हुन्छ अर्को अर्थमा शून्य वा अँध्यारोमा चियाएर हेर्ने उराठलाग्दो काम जहाँ सबै रूप र गुणको पारि जाने प्रयास हुन्छ। किनकि सत्य सबैको मूलस्रोत हो, जुन सबैको पारि छ। त्यो बेला यी प्रश्नहरुमा मात्रै मनलाई खेलाइन्छ र अरु विचारलाई बेवास्ता गरिन्छ। त्यतिखेर मन अत्यन्त सानोघेरामा सिमित भएको हुन्छ। मनलाई एउटा विन्दुमा अड्याएर प्रश्न गरिरहनु सुक्खा रोटी चपाएजस्तै गाह्रो काम हो। यसलाई निर्गुण ध्यान भनिन्छ। तर यसो नगरी पनि हुँदैन। बच्चा हराएको आमाजस्तै भावविह्वल भएर भगवानको पुकारा गरिरहनुपर्दछ। म को हूँ, सत्य के हो ? भन्ने प्रश्न गरिरहनुपर्दछ। त्यही प्रश्नमा बसिरहने र भगवतकृपा कुरिरहनु बाहेक अरु केही गर्न सकिँदैन। साधकको आफ्नो प्रयासले मात्र सबथोक प्राप्त हुन सक्दैन।

त्यो बेला मन अत्यन्त सूक्ष्मतम गहिराइमा पुग्दछ जहाँ विचारहरु सुषुप्त हुन्छन् र अत्यन्त आनन्दको अनुभव हुन्छ। तर यो आनन्द पनि अन्तिम लक्ष्य होइन। बरू यो नै बाधा बनेर प्रगतिलाई रोकिदिन्छ। चेतनालाई भेदन गरेमा मात्र सत्य साक्षात्कार हुन्छ, नत्र चेतनाको सीमानामा पुगेर गहनतम आनन्दमा मन अल्झने खतरा हुन्छ। यसलाई नै अन्तिम विन्दु मान्ने भूल हुनसक्छ। यस्तो अवस्थामा प्राप्त हुने आनन्द र विघ्नको बारेमा बाबाले दक्षिणेश्वरमा रामकृष्ण परमहंसलाई सचेत गराउनुभएको थियो। रामकृष्ण परमहंस प्रायशः यस्तो समाधिको आनन्दमा मस्ताना भएर डुबिरहनुहुन्थ्यो। समाधिमा आनन्द होइन सत्यप्राप्तिको विचारलाई मूल विषयवस्तु बनाउनुपर्दछ। प्रायः ठूल्ठूला साधक, योगीहरु यही बिन्दुमा फस्ने डर हुन्छ। आनन्दको गहनतम अवस्थाको अनुभव हुँदा भगवानको नजिक पुगेँ कि भन्ने लाग्न सक्तछ। बाबालाई भेट्न आएका एक ब्रह्मयोगीलाई उहाँले ‘अहं ब्रह्मास्मि’ आदि वेदान्तका चार महावाक्यहरुमा पनि ध्यान गर्नु हुँदैन भनेर सचेत गराउनुभएको थियो।

ब्रह्मको अनुभवै नगरी कसरी ब्रह्म हूँ भनेर भन्ने? यदि ‘अहं ब्रह्मास्मि’मा अटुट ध्यान लाग्यो भने ब्रह्मै पनि भइन् । ब्रह्मको आनन्द त हुन्छ तर वोध हुँदैन। वोधबिनाको यो अनुभव त टिलपिल टल्कने ताराका प्रकाशजस्तो मात्र हुन्छ। दृश्य प्रष्ट हुन त बिहानकै सूर्यको जस्तो प्रकाश कुर्नैपर्दछ। ‘म को हुँ?’ भन्ने प्रश्नमा सचेत भएर ध्यान गर्नाले सत्यको दर्शन हुन्छ र वोध पनि हुन्छ। जीवन र जगतको सारा रहस्य प्रकट हुनेछ।

वर्षौंको अभ्यासपछि यस्तो समय आउँदछ त्यतिबेला चेतनाको पर्दा च्यातिन्छ वा बादलजस्तै उघ्रन्छ अनि सूर्यजस्तै गरेर सत्य प्रकट हुन्छ। र, साधक सर्वव्यापक, सर्वज्ञ सर्वशक्तिमान हुनपुग्छ र अन्तिम लक्ष्य हासिल गर्दछ। जीवन सार्थक हुनजान्छ।

यो लक्ष्य प्राप्ति नहुँदासम्म कर्तव्य र कर्मको घेरा सानो बनाएर तीन अनुशासन पालन गर्दै भगवतकृपा कुरिरहनुपर्दछ। निर्गुण ध्यान गर्दा मन भाँडिएमा फेरि सगुण ध्यान वा धारणामा ओर्लनुपर्दछ। मन स्थिर र बलियो बन्दै गएपछि फेरि निर्गुण ध्यानमा उक्लनुपर्दछ। सगुण ध्यान एउटा चौतारीजस्तो हो, जहाँ मनले आराम र शक्ति पाउँछ। त्यो शक्ति फेरि निर्गुण ध्यानमा लगाउनु पर्दछ। यसरी धारणा–ध्यान–समाधिको अभ्यास गरी नै रहनुपर्दछ। सगुण ध्यानबाट साँचेको शक्तिले निर्गुण ध्यानमा गुलेलीबाट ढुंगो हानेजस्तै हो। तल पृथ्वीमा आइनपुग्दै हावामा उड्दै गरेको त्यो ढुङ्गोजस्तै असहाय अवस्थामा उसले भगवान पुकारिरहन्छ सहाराको लागि त्यसैमा समस्त शक्ति लगाउँछ। सबै विचारहरु बिलाएर शून्यमा हुत्तिएको यस्तो अवस्थामा भगवानले सहायता गर्नुहुन्छ र दर्शन दिनुहुन्छ। यसरी सत्यको साक्षात्कार हुन्छ।

उपसंहार

शारीरिक अनुशासनले बुद्धि तीक्ष्ण गराउँछ, बाह्य संसार जितिन्छ, सुख प्राप्त गराउँछ। यसले राजालाई जस्तै गद्दी प्राप्त गराउँछ। मानसिक अनुशासनले मन बलियो र शुद्ध गराउँछ, आफैलाई जितिन्छ र सन्तोष प्राप्त हुन्छ। यसले सिद्धलाई जस्तै सिद्धि प्राप्त गराउँछ। आध्यात्मिक अनुशासनले आफैंलाई भगवानद्वारा जिताइन्छ र परमशान्ति प्राप्त हुन्छ। यसले मोक्ष प्राप्त गराउँछ। यज्ञ, दान र तपसहितको स्वधर्मको निरन्तर अभ्यासले जीवनमा पूर्णता प्रदान गर्दछ।

रवीन्द्र आनन्द (लेखक)

हामीले कर्म गर्दा इन्द्रियसँगै मन र बुद्धि सँगसँगै मिसिएको हुन्। मनले इन्द्रियलाई आज्ञा दिन्छ भने बुद्धिले त्यसको कार्यान्वयन गर्दछ। राग र द्वेषमा अल्झिएको मनले सही ठहर्‍याउन सक्दैन भने कमजोर बुद्धिले मनको आज्ञालाई सही रुपमा पालन गर्न सक्दैन र फलस्वरूप असफलता हात लाग्दछ।

बलियो मनले आफूलाई र तेज बुद्धिले अरुलाई नियन्त्रण गर्न सक्दछ। त्यसैले मन, बुद्धिलाई ठीक अवस्थामा राखेर मात्र जीवन सही ढंगले चल्न सक्दछ। बाहिरी संसार अनुकूल र मन स्थिर भएमा मात्र आत्माको खोज गर्न सजिलो हुन्छ। यसरी जीवनको सम्पूर्ण आयामहरुमा सम्यक व्यवहार गर्न स्वधर्मले सिकाउँदछ।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्