महिला विश्वकप फुटबल

साबिक विजेता अमेरिका लगातार तेस्रो पटक फाइनलमा, पेनाल्टीमा चुक्दा हार्‍यो इंग्ल्याण्ड

साबिक विजेता अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै अमेरिकाले फाइनलमा स्थान पक्का गरेको हो ।

अमेरिकाको जितमा क्रिष्टिन प्रेस र एलेक्स मोर्गनले गोल गरिन् । इंग्ल्याण्डका लागि एलन ह्वाइटले गोल गरिन् । दुवै तर्फको गरी तीनै गोल पहिलो हाफमा भएको हो ।

१० औँ मिनेटमा प्रेसले गोल गर्दै अमेरिकालाई सुरुवाति अग्रता दिलाइन् । १९ औँ मिनेटमा ह्वाइटले इंग्ल्याण्डका लागि गोल गर्दै खेल बराबरीमा ल्याइन् । तर ३१ औँ मिनेटमा मोर्गनले गोल गरेर पुनः अमेरिकालाई अग्रता दिलाइन् ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ८६ औँ मिनेटमा मिली ब्राइट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इंग्ल्याण्ड १० खेलाडीमा सीमित भयो अन्तिमको केही मिनेट ।

खेलको दोस्रो हाफमा ह्वाइटले गोल गरेकी थिइन् । तर भिएआरबाट हेर्दा अफसाइड रहेको देखियो र मान्यता पाएन उनको गोलले ।त्यसपछिको अर्को भिएआरमा इंग्ल्याण्डले पेनाल्टी पायो तर त्यसमा स्टेफ होग्टनले गोल गर्न सकिनन् र इंग्ल्याण्ड पराजित भयो ।

लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको अमेरिकाले आउँदो आइतबार उपाधिका लागि स्वीडेन वा युरोपियन च्याम्पियन नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्नेछ ।

इंग्ल्याण्डले तेस्रो स्थानका लागि बुधबार हुने दोस्रो सेमिफाइनलमा पराजित भएको टिमसँग शनिबार प्ले–अफ खेल्नेछ ।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्