एक दिवसीय विश्वकप क्रिकेट

भारत पुग्यो सेमिफाइनल, बंगलादेशमाथि २८ रनको जित

भारतले एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ । अस्ट्रेलियापछि अन्तिम चारमा स्थान पक्का गर्ने भारत दोस्रो टिम हो ।

जारी प्रतियोगिता अन्तर्गत मंगलबार बर्मिङ्घममा भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारतले सेमिफाइनलमा स्थान बनाएको हो ।

भारतले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रन बनायो ।

उसका लागि शकिब अल हसनले ६६, मोहम्मद सैफुद्दिनले ५१, सबिर रहमानले ३६, सौम्य सरकारले ३३, मुस्फिकर रहिमले २४, लिटोन दास र तमिम इक्बालले समान २२–२२ रन बनाए । भारतका जसप्रीत बुमराहले चार तथा हार्दिक पाण्डेयले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको भारतले रोहित शर्माको शतकीय पारीको सहयोगमा ९ विकेटको क्षतिमा ३१४ रन बनायो । शर्माले ९२ बलमा सात चौका र पाँच छक्काको सहयोगमा १०४ रन बनाए । यस्तै सुरुवाती ब्याट्सम्यान केएल राहुलले ७७ रनको योगदान दिए ।

राहुल र शर्माले राम्रो प्रदर्शन गरेर कप्तान विराट कोहलीको पहिले ब्याटिङ्ग गर्ने निर्णयलाई सही साबित गरे । भारतका लागि ऋषभ पन्तले ४८, कप्तान कोहलीले २६ तथा महेन्द्र सिंह धोनीले ३५ रनको योगदान दिए । बंगलादेशका मुस्ताफिजुर रहमानले पाँच विकेट लिए ।

जितसँगै भारत छैटौँ पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयो । भारतले पछिल्ला तीन विश्वकपमा लगातार अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । जितपछि दोस्रो स्थानको भारतको ८ खेलबाट १३ अंक भएको छ ।

पराजित भएको बंगलादेशको सम्भावना भने लगभग सकिएको छ । सातौँ स्थानमा रहेको उसको ८ खेलबाट सात अंक छ । बंगलादेश पराजित हुँदा पाँचौँ स्थानको पाकिस्तानको सम्भावना भने कायम रहेको छ ।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्