हेलिकप्टर मार्फत आमा र शिशुको उद्धार

फाइल तस्बिर

बागलुङ – शल्यक्रिया मार्फत जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि उपचारका लागि हेलिकप्टबाट पोखरा लगिएको छ । ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उनका नवजात छोरालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सुत्केरी व्यथाले च्यापेर गम्भीर अवस्थामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी विकलाई शल्यक्रिया गरेर प्रसूति गराइएको थियो । डा. कृष्णहरि श्रेष्ठ र डा. दिलीप कोजुलगायतको टोलीले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापश्चात जन्मेका विकका नवजात छोराको मुटुको गति असामान्य भएपछि चिकित्सकले तत्कालै सुत्केरी आमा र नवजात शिशुलाई पोखरा ‘रिफर’ गरेका थिए । पोखरास्थित गण्डकी अस्पतालको अतिसघन कक्षमा शिशुको उपचार भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख दीपक तिवारीले बताए ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहल तथा समन्वयमा सुत्केरी आमा र नवजात शिशुको उद्धार गरिएको हो । हेलिकप्टरदेखि उपचारमा लाग्ने सबै खर्च मन्त्रालयले व्यहोर्ने जनाइएको छ । उद्धारमा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलगायत खटिएका थिए ।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्