जनगणनामा नागरिकता सम्बन्धी प्रश्न समावेश गर्ने योजनाबाट पछि हटे ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन सन् २०२० मा हुने जनगणनामा नागरिकता सम्बन्धी प्रश्न थप गर्ने ओजनाबाट पछि हटेको छ । ट्रम्प प्रशासनको योजनाबाट पछि हट्ने निर्णयलाई नागरिक अधिकारका पक्षधरहरुको ठूलो जितका रुपमा लिइएको छ ।

यसअघि सर्वोच्च अदालतले सन् २०२० मा हुने जनगणनाको क्रममा नागरिकता सम्बन्धी प्रश्न थप गर्ने ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन गर्नमा रोक लगाएको थियो ।

ट्रम्प प्रशासनले सन् २०२० मा हुने जनगणनाको क्रममा तत्कालीन समयमा नागरिकताको अवस्था बारे थाहा पाउन प्रश्न थप गर्ने निर्णय गरेको थियो ।

सीमान्तकृत मतदाताको संरक्षणमा सहयोग पुग्ने भएकाले नागरिकता सम्बन्धी प्रश्न थप गर्नु पर्ने ह्वाइट हाउसले दाबी गर्दै आएको थियो । तर विपक्षीले भने आप्रवासी बासिन्दालाई जनगणनामा सहभागी हुन निरुत्साहित गर्ने भन्दै त्यसको विरोध गरेका थिए ।

असार १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्