विम्बल्डन टेनिस

कोरी गोफको रोमाञ्चक विम्बल्डन यात्रा कायम, पुगिन् तेस्रो चरणमा

छनौट चरण पार गरेर विम्बल्डन टेनिसमा डेब्यु गरेकी १५ वर्षकी कोरी गोफले आफ्नो उत्कृष्ट यात्रा कायम राखेकी छन् ।

पहिलो चरणमा आफू भन्दा २४ वर्ष जेठी अमेरिकी भेनस विलियम्सलाई पराजित गरेर दोस्रो चरणमा स्थान बनाएकी कोरीले दोस्रो चरणमा पनि शनसनी पूर्ण जित दर्ता गरेकी छन् ।

अमेरिकी कोरी गोफले बुधबार राति भएको खेलमा स्लोभाकियाकी माग्दालेना रिबारिकोभालाई पराजित गरेर तेस्रो चरणमा स्थान बनाएकी छन् । कोरीले रिकारिकोेभालाई मात्रै एक घण्टा ९ मिनेटमा ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।

गोफले सोमबार भएको पहिलो चरणको खेलमा पाँच पटककी विम्बल्डन च्याम्पियन भेनसलाई पराजित गरेकी थिइन् । उनले तेस्रो चरणमा स्लोभेनियाकी पोलोना हर्कोगसँग खेल्ने छिन् ।

गोफ सन् १९९१ यता विम्बल्डन टेनिसको अन्तिम ३२ मा पुग्ने पहिलो खेलाडी बनेकी छन् । सन् १९९१ मा अमेरिकी जेनिफर काप्रिएती पनि १५ वर्षकै उमेरमा अन्तिम ३२ मा पुगेकी थिइन् ।

असार १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्