जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जनाको सनाखत

बुटवल- अर्घाखाँचीको सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गोरूसिंगे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ सुपादेउराली मन्दिर नजिकै लु १ ज १३२९ नम्बरको जिप दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा भूमिकास्थान ३ का सुमन्त भुसाल र मालारानी ३ का रुद्र प्रसाद भुसाल रहेका छन् । अर्का एक जनाको सनाखत हुन सकेको छैन ।

मृत्यु हुने भुसाल गाडीधनी र चालक हुन् । जीप सडकबाट ३ सय ५० मिटरभन्दा तल खोलामा खसेको छ । उकालो र अफ्ठ्यारो सडक भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। दुर्घटनामा गम्भीर घाईते भएका ४ जनालाई उपचारका लागि बुटवल ल्याइएको छ।

असार १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्