इजरायल पठाउने भन्दै १९ लाख बराबरको ठगी

पीडितहरु

मोरङ– मोरङ जिल्लाको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कुलबहादुर लिम्बुले वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै १४ युवायुवतीबाट १९ लाख ८० हजार रुपैयाँ ठगि गरेका छन्।

लिम्बु हाल काठमाडौँको टोखास्थित गाईपालन तथा अर्गानिक तरकारी फार्म खोलेर बसेका छन्। यससँगै उनी रोजगारीका लागि युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने ठगि कार्यमा समेत सक्रिय रहेको विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमकुमार सञ्जेलले बताए।

बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा सञ्जेलले भने, ‘पीडक लिम्बुले १४ जनासँग प्रतिव्यक्ति एक लाखदेखि दुई लाख ८० हजार रुपैयाँसम्म ठगी गरेकाछन्।’ उनका अनुसार तीन वर्षदेखिको ठगीमा पर्नेमा उनका भतिजा, भान्जादेखि छिमेकीसम्म छन्। त्यसैगरि, यस ठगि कार्यमा लिम्बुसँगै सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङ पनि संलग्न रहेको अनुसन्धानले देखाएको वरिष्ठ श्रम अधिकृत सञ्जेलको भनाइ छ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका अनुसार, लिम्बुले लेटाङका हर्कबहादुर लिम्बू, सजेन्द्र बोहरा, खड्गबहादुर सुब्बा, गोपाल चेम्जोङ, रामबहादुर मगर, दुर्गा बोहरा, प्रदीप लिम्बू, जीतबहादुर राई, गंगाराम थापा, कृष्णबहादुर मगर, सपना राई, रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बूमाथि ठगी गरेकाछन्।

पीडितहरुले दोषीमाथि कारबाही हुनुपर्ने माग राखेर श्रम कार्यालयमा उजुरी दिएका छन्। उजुरीकै आधारमा श्रम कार्यालयले पक्राउ पूर्जी जारी गरेपछि महानगरीय प्रहरी परिषर टेकुले कुलबहादुरलाई काठमाडौँबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो। विदेश पठाउन आधिकारिक मेनपावर कम्पनी दर्ता गरेर इजाजत लिनु पर्नेमा प्रावधान रहेपनि हालसम्म लिम्बुको कुनै आधिकारीक कम्पनी नभएको अनुसन्धानका क्रममा खुलेको श्रम अधिकृत सञ्जेलको भनाइ छ।

यसअघि, कुलबहादुरले २०७५ साल आषाढसम्ममा सबैलाई पर्यटक भिषामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्काल पैसा फिर्ता दिने भनेर कागज पनि गरेका छन्।

कुलबहादुर लिम्बु

पुरुष तथा महिलालाई जान सहज हुने विमानस्थल प्रयोग गरेर रोजगारीका लागि प्रतिवन्धित राष्ट्र इजरायल पुगेपछि श्रम गर्न पाउने वर्क परमिट भिषाको व्यवस्था मिलाइदिने कागजमा उल्लेख छ। इजरायल पुगेपछि कूलबहादुरलाई प्रति व्यक्ति ८ लाख रुपैयाँ बुझाउनु पर्ने भनेर गरिएको कागजमा पीडित युवा, युवती तथा कुलबहादुुरको हस्ताक्षर र औँठा छाप छ।

अर्गानिक तरकारी र दुध उत्पादन गर्ने नाममा वैदेशिक रोजगारीको अवैध धन्दा चलाउने गरेको पुष्टि भएको अनुसन्धानले देखाएको छ।

पक्राउ गरेर विराटनगर ल्याइएका कुलबहादुरलाई ३५ दिन भित्र सबै रकम फिर्ता गर्ने गरी कागज गराएर साधारण तारेखमा छाडिएको थियो। पैसा फिर्ता नगरेसम्मका लागि उनको नाममा रहेको ८ कित्ता जग्गा रोक्का गरिएको जानकारी सञ्जेलले दिए।

बुधबार तारेखमा बोलाइएका कुलबहादुरले भ्रष्टाचार विरोधी छवि बनाएका नेपाल सरकारका उपसचिव एवं श्रम अधिकृत सञ्जेललाई पनि कार्यालयमै प्रलोभनमा पार्ने प्रयास गरेको बताइएको छ। त्यसपछि सञ्जेलले कर्मचारीलाई निर्देशन दिएर उनलाई कार्यकक्षबाट बाहिर निकालेका थिए।

अर्कोतर्फ कुलबहादुरले भने बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूलाई सञ्जेलले दुर्व्यवहार गरेको आरोप लगाए। उनले सञ्जेलले एउटा सेवाग्राहीमाथि गर्नै नहुने व्यवहार देखाएको र विभिन्न धम्कीहरु पनि दिएको दाबी गर्दै आफ्ना कर्तुत लुकाउने प्रयास गरे। उनले आफू गाई र तरकारीको फार्म खोलेर बसेका कारण वैदेशिक रोजगारीमा कहीँ पनि नजोडिएको दाबी गरे। ‘मैले कोही कसैलाई विदेश पठाइदिने भनेर भनेकै छैन’, कुलबहादुरले भने, ‘त्यत्तिकै झुठो आरोप लगाएर दुःख दिने काम भइरहेको छ।’

१४ जनाले श्रम कार्यालयमा दिएको उजुरी र इजरायल पठाइदिने भनेर गरेको कागजका विषयमा भने उनले केही बोल्न चाहेनन्। ‘मलाई जेठ २८ गते केही युवाले आँखामा पट्टी बाँध्दै अपरहण गरेर लगेर कागजमा हस्ताक्षर गर्न लगाए’, उनको दाबी थियो, ‘त्यसपछि प्रहरीले श्रम कार्यालयमा बुझाइदिएको हो।’ श्रम अधिकृत सञ्जेलले भने कुलबहादुरमाथि कुनै गलत व्यवहार नगरिएको बताए। बिहीबार पनि पीडितहरु श्रम कार्यालय विराटनगरमा आएका थिए। पीडित विराटनगर आएको थाहा पाएपछि भने कुलबहादुरले सुटुक्क विराटनगर छाडेका छन्।

असार १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्