टेस्ट अफ हार्मोनीमा तारादेवी र अरुणा लामाका धुनहरु गुञ्जिँदै

पोखरा- सांगीतिक जगतमा उच्च योगदान पुर्‍याएका दिवंगत गायिकाद्वय स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाका धुनहरु असार २१ गते शनिबार पोखरामा गुञ्जिँने भएका छन्।

हार्मोनी द मोर्डन सङस्ट्रेसेस अफ पोखराले गायिकाद्वय तारादेवी र अरुणा लामालाई उनीहरुका गीतमार्फत ‘ट्रिब्युट’ गर्ने भएको हो।

तेस्रो श्रृंखलामा आयोजकले कार्यक्रमको नाम दिएको छ, ‘टेस्ट अफ हार्मोनीः धुनहमा तारादेवी र अरुणा लामा’, आउँदो शनिबार दिउँसो १ बजेदेखि पोखराको सभागृह हलमा नेपाली सुगम संगीतका दुई हस्तीहरुका गीतहरु गुञ्जायमान हुनेछ।

‘सुगम संगीतको आराधना गर्ने दर्शक, श्रोतासँगै गायक गायिकाको हौसला बढाउन कार्यक्रम गर्दैछौँ’, हार्मोनी द मोर्डन सङस्ट्रेसेस अफ पोखराकी अध्यक्ष ईतु जोजिजुले भनिन्, ‘तारादेवी र अरुणा लामाका चर्चित कालजयी गीत गुञ्जाएर उहाँहरुप्रति समर्पण गर्दैछौँ।’

कार्यक्रममा हार्मोनी संस्थामा आवद्ध दर्जन बढी गायिकाहरुले आफ्नो प्रस्तुति राख्नेछन्। त्यस्तै, कर्ण दास, रामभक्त जोजिजु, विनोद बानियाँ र ज्ञान थापाले समेत विशेष प्रस्तुति दिनेछन्।

कार्यक्रममा तीन जना कलाकारहरु समेत सम्मानित हुने सचिव बबि सुनारले जानकारी दिइन्। दार्जिलिङकी गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गाना रत्न दासलाई हार्मोनी सम्मानबाट सम्मान गरिने भएको छ। गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान प्रदान गरिने सुनारले बताइन्।

पोखरामा नै यसअघि आयोजकले ‘लेजेन्डरी हार्मोनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नामबाट कार्यक्रम सञ्चालन गरिसकेको छ। अघिका दुई श्रृंखलाबाट कमाएको अनुभवले यसपटक पनि कार्यक्रम गर्न हौसिएको अध्यक्ष ईतु जोजिजुले सुनाइन्।

तेस्रो श्रृंखलामा रारा चाउचाउले टाइटल स्पोन्सर गरेको छ। दि मुग्लान रेष्टुरेन्ट एन्ड बारले कार्यक्रमलाई प्रस्तुत गर्न सघाएको हो। पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले कार्यक्रमलाई प्रवर्द्धन गरेका छन्। हिमाअस् एजुकेसन कन्सल्टेन्सीले कार्यक्रमलाई मुख्य सहयोग गरेको छ।

 

असार १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्