थली–साँखु खण्डमा ‘नाम मात्रको पिच’ हुने

काठमाडौँ – उपत्यका विकास प्राधिकरणमार्फत निर्माण भइरहेको चाबहिल–जोरपाटी–साँखु सडक खण्डको आधा भागमा ‘नाम मात्रको पिच’ हुने भएको छ ।

दुई वर्षभित्र काम सक्ने गरी २०७२ साल असोजमा पाँच खण्डमा ठेक्का सम्झौता भएको सडकको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगे पनि थलीदेखि साँखुसम्मको साढे पाँच किलोमिटर खण्डमा भने ‘पिच’ नहुने भएको हो ।

सडकको विस्तृत परियोजना रिपोटमा चाबहिलदेखि साँखुसम्मै १३ किलोमिटरमा दुई तहको पिच हुने उल्लेख भए पनि उपत्यका विकास प्राधिकरणले थली–साँखु खण्डमा पैसा नभएको भन्दै पहिलो लेएर मात्र हाल्ने तयारी गरेको हो ।

सडक निर्माणमा खटिएका एक प्राविधिकले भने, ‘थली–साँखु खण्डमा पहिलो लेएरको मात्र पिच हुनेछ । यहाँ दोस्रो लेएरको पिच (आस्फल) गर्ने क्वान्टिटी छैन ।’ ती प्राविधिकका अनुसार पिच भनेकै दोस्रो तह (आस्फल) हो, जसले सडकलाई टिकाउ बनाउने काम गर्छ ।

बुधबार सडक निर्माणका भएको प्रगतिबारे बुझ्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नलिङ रिसोर्टमा विकास प्राधिकरणका प्रतिनिधि, ठेकेदार र स्थानीय जनप्रतिनिधि तथा सरोकारवालको बैठक राखेका थिए ।

त्यसअघि उनले असार ११ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित सरोकारवाल सबै पक्षलाई राखेर निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका थिए ।

२२ मिटर चौडाइ भएको यो सकडमा डिपिआर अनुसार पाँच सेन्टिमिटर (५०मिमी) आस्फल(दोस्रो तहको पिच) हुने उल्लेख छ । आस्फल नगरेको पिचलाई पिच नै भन्न नमिल्ने र सडक तुरुन्तै भत्किने इन्द्रायणीदेखि सलम्बु जंगलसम्मको निर्माण ठेक्का पाएको सुनकोशी कन्टक्सनका नारायण भट्टराईले बताए ।

उनले देश सञ्चारसँग भने, ‘खासमा पिच भनेको आस्फल नै हो । त्यो गरिए भने बाटोमा गरिएको खर्च ब्यर्थ हुन्छ । तुरुन्तै खाल्डा पर्न थाल्छ ।’

थली–साँखु खण्डमा पनि आस्फल राख्न प्राधिकरणले निरन्तर प्रस्ताव गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट स्वीकृत हुन नसकेको उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले जानकारी गराए ।

उनले भने, ‘त्यो खण्डमा पनि आस्फल गर्न हामीले कोसिस गरिरहेका छौं । बजेटका लागि हिजो पनि छलफल गरौं । तर सचिव ज्यूले अहिले क्वान्टिटी (पैसा) नभएकाले इस्टमेटअनुसार मात्र काम गर्न निर्देशन दिनुभयो ।’

त्यसै क्षेत्रका सांसदसमेत रहेका पूर्वप्रधानन्त्री नेपालले आस्फल नराखी सडक बनाउनै नहुने र त्यसका लागि चाहिने थप बजेटका लागि आफूले माथिल्लो तहमा कुरा गर्ने प्रतिबद्धता जनाए ।

‘सडक गुणस्तरहीन बनाएर हुँदैन । फेरि तत्काल बनाउन सकिँदैन । त्यसैले एकैपटक गुणस्तरीय काम हुनुपर्छ । तपाईंहरु काम गर्नुहोसु, थप पैसाका लागि कहाँ कुरा गर्नुपर्छ म गर्छु, नेता नेपालले भने ।

एक प्राविधिकका अनुसार आस्फल गर्न प्रतिकिलोमिटर दुई करोड रुपैयाँभन्दा बढी लाग्छ ।

असार १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्