काठमाडौँ महानगरकी उपप्रमुख खड्गीको ‘स्वास्थ्यमा सुधार’

काठमाडौँ- छातीमा अचानक समस्या आएपछि उपचारका लागि राजधानीको नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएकी काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

उनको स्वास्थ्यमा समस्या आएपछि बिहीबार थापाथलिस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

विज्ञापन

उपप्रमुख खड्गीको अवस्था सामान्य रहेको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन उप–महाप्रवन्धक आरपी मैनालीले जानकारी दिए।

उनले भने, ‘छातीमा समस्या देखिएपछि उहाँ (उपप्रमुख खड्गी) अस्पताल भर्ना हुनुभएको थियो। अहिले खतरामुक्त अवस्थामा सिसियुमा हुनुहुन्छ, शनिबार वा आइतबार घर फकिँदै हुनुहुन्छ।”

खड्गीलाई हृदयघातको आशङ्का गरिए पनि उहाँको एनजिओग्राफी गर्दा त्यस्तो लक्षण नभेटिएको अस्पतालले जनाएको छ।

राष्ट्रियसभा गृहमा आउँदो आर्थिक वर्षका लागि बजेट तयारीबारे भएको बैठकमा सहभागी भएकी उपप्रमुख खड्गीले शारीरिक रुपमा असजिलो महसुस गरेपछि अस्पताल लगिएको महानगरपालिकाले जनाएको छ।

अस्पतालले प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा २४ घण्टा चिकित्सकको निगरानीमा रहन भनेपछि अस्पतालमा भर्ना गरिएको थियो।

लगत्तै महानागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पताल पुगेर उपप्रमुख खड्गीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएको थियो।

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्