मनैदानी : नाटक समीक्षा

समाजको अधो–स्वभावको चित्रण

कहिले काहिँ कृतज्ञता पनि पच्दैन। उपहार नपच्दा पाचनशक्तिलाई सहयोग गर्ने क्याप्सुल या झोल औषधि बनेका पनि छैनन् । आफ्नै कर्म, अनि अरुले आफूलाई कसरी हेर्छ भन्ने विचारले गर्दा मन भएर पनि धेरै कुरा स्वीकार गर्न सकिदैन। यसैको एक उदाहरण हो, ‘नाटक मैनदानी’ संयोग गुरागाईको निर्देशनमा मण्डला थियटरमा नाटक मञ्चन भइरहेको छ।

केशव पात्रको आङमा मैला अनि पुराना कपडा छन्, उनी बिरामी आमा लिएर क्लिनिक आएका छन्, आमाको उपचार गर्ने औकात छैन। डाक्टर केशवको आर्थिक अवस्थासँग अन्जान थिएनन्। त्यसैले निशूल्क उपचार गरिदिन्छन्।

तर डाक्टरको यो गुन केशवले त्यसै लिनेवाला छैनन्, उनीसँग निष्ठा छ। त्यसैले उनी के गरी धन्यवाद दिने जुक्ति लगाउन थाल्छन्। केशवको परिवार कलाको काम गर्छ। घरमा गतिलो र महंगो सामानको नाममा कलात्मक ‘मैनदानी’ हुन्छ। केशवका बाबाको चिनो। केशवले आमासँगको सल्लाहमा यो मैनदानी डाक्टरलाई उपहार दिन्छन्, ‘तर डाक्टरलाई यो उपहार स्वीकार्न गाह्रो हुन्छ।’ उनी उपहार मन नपराउने मानिस हैनन्। माया र सद्भावले कसैको उपहार पाउनु त भाग्यकै कुरा हो। तर डाक्टरले यसलाई समाउन पनि हात कपाउँछन्।

कारण थियो, मैनदानीको कला। लैंगिकता झल्काउने त्यो नग्न मूर्तिलाई डाक्टरले ग्रहन गर्न सकेनन्। मन खुम्चाएर समात्छन् तर त्यसलाई आफ्नो क्लिनिकमा राख्ने हिम्मत गर्न सक्दैनन् । किनकी उनको लागि मूर्तिको नग्न कला इज्जत गुमाउने रिक्स फ्याक्टर बन्छ। उनको आफ्नो पुरानो छवी पनि त गतिलो छैन, हालसालमात्रै उनको क्लिनिकमा प्रयोग भएका कण्डम भेटिन छोडेका छन्, उनले यौन दुव्र्यवहारको मुद्दामा अदालत धाउनु परेको छैन। श्रीमतिसँग बल्ल राम्रो सम्बन्ध भएको छ। उनी सुखद् पारिवारिक र सामाजिक जीवन यो मूर्तिले खलबलाउन चाहँदैनन्। त्यसैले उनी यो उपहार अरु कसैलाई दिन्छन्। त्यहाँबाट पनि यो मूति अन्तै पुग्छ र घुमेर फेरि त्यही डाक्टरकोमा आइपुग्छ। किनकी केशवले उनलाई यो मनदानीको जोडी ल्याइदिने वाचा गरेका थिए। दोस्रो पटक आफ्नो अगाडि मैनदानी आएपछि डाक्टरले पन्छाएको दुख चक्र फेरी सुरु हुने छाँटसहित नाटक सक्किन्छ।

रसियाका नाटककार, कथाकार एन्टन चेकभको ‘द वर्क अफ एन आर्ट’ को नेपाली अनुवाद ‘मैनदानी’ हो। यो कृतज्ञता, गरिबी, धारणा, नैतिकता, स्वतन्त्रता, पक्षघात अनि सामाजिक विचारको सार बोक्ने कथा हो। कथामा मैनदानीले कसैको नैतिकता र स्वतन्त्रता निर्धारण गरेको छ। यस्तै मैनदानीको उपस्थितीले सिर्जना गर्ने सामाजिक मूल्यमान्यता निर्धारण गरेको छ। श्रद्धाले दिएको मैनदानीलाई उपहार मात्र भनेर स्वीकार्न नसक्नुले मानिसको बनावटिपनको खिल्ली उडाउँछ।

यसले हामी के चाहन्छौँ भन्दा पनि हामीलाई समाजले कस्तो देख्न चाहेको छ भन्नेमा चाख राख्ने चरित्र चित्रण गर्छ। ‘आफ्ना लागि हैन अरुका लागि बाँच, आफ्नो आँखाले हैन अरुको आँखाले संसार हेर’ भन्ने भनाइहरु यस्तै अवस्थाबाट अभिप्रेरित भएका होलान्।

मैनदानी कलात्मक रुपमा अत्यन्तै सुन्दर छ तर आफूले ओडेको नैतिकताको खोल च्यातिने डरले उनीहरु यसलाई आफूभन्दा टाढा राख्न खोज्छन्। यसले मानिसहरु समस्या समाधान हैन यसबाट भाग्न खोज्ने अनि अर्काको टाउकोमा थुपार्न खोज्ने प्रवृत्तिलाई इंगित गर्छ। डाक्टरले बिरामी क्लिनिकमा नआउने डरले, वकिलले क्लाइन्ट नआउने डरले र एक कलाकारले नकारात्मक टिप्पणी हुने डरले मैनदानी राख्न नखोज्नु भौतिक रुपमा स्वतन्त्र भए पनि सामाजिक मानसिकताबाट स्वतन्त्र हुन नसकेको अवस्था चित्रण गर्छ। समाजले के भन्छ भन्ने सोचले गर्दा म के चाहन्छु भन्ने कुरा मानिसहरु बिर्सन्छन्। उनीहरुको जीवन दोस्रो किसिमको सामाजिक रायबाट निर्धारित छ। तर सुन्दर लागेको मैनदानी राख्नु ठीक हो अथवा, समाजले के भन्छ भन्ने डरले मैनदानी हटाउनु ठीक हो ? आफैमा प्रश्न छ।

यो कथाका प्रमुख तीन पात्र व्यवसायिक रुपमा सफल छन्। शैक्षिक र बौद्धिक हिसाबमा उनीहरुलाई अरुले के सोच्छन् भनेर डराउनुपर्ने अवस्था छैन। बेला बखतमा उनीहरु मैनदानीलाई सजाउने सोच्छन् पनि तर समाजको एकोहोरो स्थापित सोचलाई बल्न कहाँ सजिलो हुन्छ र?

पात्र जोजो अलि क्रान्तिकारी देखिएका छन्। उनी भर्खरै समाजको वस्तुलाई हेर्ने नकारात्मक दृष्टिकोणको सिकार भएका छन्। एउटै वस्तुलाई हेर्ने नजरिया फरक फरक हुन्छन् भन्ने उदाहरण जो जो जेल जानुको कारण पनि हो। तर जित्छ कुन धारणाले ?

उनलाई अवार्ड समात्दा महिला हिंसा गरेको आरोप लागेको छ। उनले बारम्बार कलाको दृष्टिकोणबाट यो घटनालाई व्याख्या गरेका छन्। यस्तै नाटकमा मिडियाको उपस्थिति कुनै सोच स्थापना गर्ने र त्यसलाई प्रभाव पार्ने कारक तत्वको रुपमा चित्रण गरिएको छ। जोजोलाई जसरी पनि नकारात्मक टिप्पणी गरेर समाजमा भएको रुढिवादी सोचलाई स्थापित गर्नलाई लागिपरेका छन्। यसरी हेर्दा यो व्यवहार व्यक्तिको मात्र हैन पूरै सामाजको गैर प्रगतिशील स्वाभाव हो । यो परिवर्तन हुन समय लाग्छ। भइरहेको प्रतिष्ठामा आँच आउने डरले ‘जो जो’ पात्र पनि त्यति बलियो रुपमा प्रस्तुत हुन सक्दैनन र उनले मैनदानी बेचिदिन्छन्।

साउन ५ गतेसम्म मञ्चन हुने नाटकमा अंकित खडका, सागर खाती, देविन चौधरी, रिजन परियार, आयान खडका, जेनी सुनुवार, निकिता आचार्य, इंगिहोपो कोइँच सुनुवार, मिलन कार्की, देविशा लामिछाने, विकास पन्तलगायत को अभिनय छ ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्