गुमनाम “सी इज द बम” को पुनरागमन

छोरीका साथमा सुदिन पोखरेल ।

“म यस्तो छु, म त्यस्तो छु, जस्तोसुकै भए पनि दामी छु”, कुनैबेला युवा पिंढी यो गीत चर्चित थियो ।

२०५९ सालमा नेपाली संगीत क्षेत्रमा यस गीतले र्‍यापको परिभाषालाई बलियो बनाउन सहयोग गरेको थियो । जुन बेला र्‍यापरका रुपमा परिचित हुँदै थिए, गायक सुदिन पोखरेल। सो गीत निस्किएको करिब ८ वर्षपछि २०६७ सालमा पोखरेल नेपाली संगीतबाट एकाएक गुमनाम भए, टाढा भए। जतिबेला पोखरेलले नेपाली संगीत क्षेत्रमा अलग पहिचान, नेमफेम बनाउन सफल भइसकेका थिए।

विज्ञापन

यद्यपि ८ वर्ष संगीत क्षेत्रबाट टाढा रहेका पोखरेल पुनः कम ब्याकको तयारीमा रहेका छन्। अस्ट्रेलियाको करिब ८ वर्षको बसाईसँगै पोखरेल यतिबेला पारिवारिक कार्यक्रमका लागि नेपाल आएका छन्। गृहनगर विराटनगरमा भेटिएका सुदिनले अब छिटै श्रोतामाझ सांगीतिक कोसेली ल्याउने तरखरमा रहेको बताएका छन्।

चकलेटी अनुहार र र्‍यापरका रुपमा परिचित सुदिनले अबको केही समयभित्र सम्बन्ध र विश्वाससँगै जोडिएको नयाँ गीत श्रोतामाझ ल्याउन लागेको जानकारी दिए। उनी भन्छन्, “केहीवर्ष दर्शक श्रोताबाट गुमनाम भइयो। यसका विविध पाटा होलान्। तर अब मलाई फेरि यसै क्षेत्रमा आउनुछ। जसमा श्रोताको मायाको खाँचो रहेको छ। र मलाई विश्वास छ उहाँहरुको विश्वास गुम्न दिने छैन।”

यति कुरा भनिरहँदा उनको अनुहारमा संगीत बाहिर रहँदाको पीडा प्रष्ट झल्कन्थ्यो। औपचारिक रुपमा सुदिनले २०५४–०५५ सालतिर सुगम पोखरेलसँग द स्पोक्स नामक सांगीतिक समूहबाट गायन क्षेत्रमा पाइला चाले। दुवैजनाको प्रयासमा “पन्छी” नामक गीत बजारमा आयो। सुगम पोखरेलसँगको सहयात्रासँगै डिए ६९ र एड रे बिच द युनिटी नामक समूह गठन भयो। यसै क्रममा उनको “म यस्तो छु, म त्यस्तो छु जस्तो सुकै भए पनि दामी छु,” बोलको गीतले श्रोताको मन जित्न सफल भयो। जुन गीत गिरिश र प्रनिलसँग रहेको थियो।

त्यसपछि, युनिटी समूहले क्रान्ति आले र डिजे राजुसँग ‘म प्रेममा’ भन्ने गीत बजारमा ल्यायो। दर्शक तथा श्रोतामा माझ सो गीत अत्याधिक प्रिय भयो । सोही क्रममा सुदिनले आफूलाई गीतसँगै पत्रकारितामा व्यस्त बनाउन थाले । काठमाडौँको रत्नराज्य क्याम्पस हुँदै सिजेएमसी कलेजबाट २०६७ सालमा पत्रकारिता विषयमा स्नात्तकोत्तर पूरा गरेका सुदिनले २०५७ सालबाट टेलिभिजनको कार्यसँगै सांगीतिक क्षेत्रलाई अघि बढाए।

विराटनगरको खेलकुदमय वातावरणमा हुर्किएका सुदिनले गीतसँगै कान्तिपुर टेलिभिजनमा खेलकुद बिटमा करिब ४ सय बढी खेलकुदको कार्यक्रम चलाए। सुदिनले २०५७ सालदेखि टेलिभिजनमा खेलकुद कार्यक्रममा आफूलाई अभ्यस्त बनाउँदै लगे। यसअघि, सुदिन विराटनगरको सेन्ट जोसेफ स्कूल पढ्दै गर्दा गायनमा भिजेका थिए। “सानैमा स्कूलको वार्षिकोत्सव, साथीभाइ जमघटका बेलामा गाउने गर्थेँ। धेरै युवापुस्ताले रुचाइदिँदा आफूलाई थप हौसाला मिल्दथ्यो”, मुस्कुराउँदै उनले भने।

नैराश्यले भरिएको त्यो समय


“करिब ११ वर्ष टेलिभिजनको सहकार्यमा निकै नैराश्यता हात लाग्यो। सोचे अनुसार काम गर्न पाइन” उनले दुखेसो गरे। अब पुनः नयाँ गीतसहित बजारमा देखा पर्न लागेका सुदिन भन्छन्, “त्यो समय त झण्डै डिप्रेसनको शिकार भइसकेको थिएँ। त्यसैले पनि विदेशिनु पर्यो। केही समय संगीतलाई माया मार्नु पर्यो। तर अब फेरि दर्शकमाझ आउने तरखरमा छु।”

टेलिभिजनमा कार्य गर्दैगर्दा सुदिनले २०६७ सालमा विराटनगरकै रश्मी रिजालसँग विवाह गरे। त्यसपछि दुवैजनाले सुन्दर भविष्य खोज्दै अस्ट्रेलिया जाने निधो गरे। उनी अस्ट्रेलिया जादाँसम्म सँगै काम गरेका अधिकांश साथीहरुलाई समेत थाहा नभएको उनले बताए। अढाइ वर्षिया छोरी मायाका बुबा सुदिन भन्छन्, “त्यो समय मेरो लागि निकै नै कठिन थियो। मातृभूमिको रंगिन दुनिया र सुन्दर भूमिलाई छोडेर मसँग विदेशिनुको विकल्प थिएन।”

फेसबुक ट्वीटर समेत डियाक्टिभ गरेर हिँडे


विगत आठ वर्ष पूर्णरुपमा परिवारलाई दिएको बताएका सुदिनले भने, “अहिलेको जस्तो इन्स्टाग्राम त्यसबेला थिएन। तर फेसबुक र ट्वीटर चलाउँदै आएको थिएँ। त्यसबेला यतिसम्म आफैसँग रिसाएँ कि मैले ती सबै समाजिक सञ्जालहरुबाट पूर्णरुपमा विराम लिए। मैले मेरो निजी एकाउन्ट समेत डियाक्टिभ गरेको थिएँ ।”

विवाहपश्चात विदेशिएका पोखरेलले त्यहाँ हुदाँ समेत एक निजी टेलिभिजनमा केही समय काम गर्ने मौका पाए। त्यसपछि उनी अस्टे«लियामा आफ्नै सानोपरिवारमा रमाउँदै गए। संगीतप्रतिको मोह, तृष्णालाई भने मन भित्रै कुँडाएर राखे।

उनी भन्छन्, “र्‍यापर हुनका लागि सहज छैन। क्रियटिभ हुनु आवश्यक छ। क्याची र मिठो शब्द चयन गर्न सक्ने क्षमता हुनुपर्छ।”

अब पुरानै शैली भन्दा पनि पृथक, समाज, हिंसा, सम्बन्ध, परिवर्तन लगायतमा गीत बुन्ने प्रयासमा रहेको बताए । अब भने गीत निकाल्ने तर एल्बममा खासै रुची नराखेको बताएका सुदिनले यसअघि, द युनिटी प्रजेन्टस एक्स, ब्याकरण अफ ¥याप लगायत सांगीतिक एल्बम बजारमा ल्याएका थिए।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्