ढुंगाको ठाउँमा गिट्टी हालेर ढलाई गर्न थालेपछि उपभोक्ताले रोके काम

दाङ – असारे विकासको नाममा कमसल सामग्री प्रयोग गरेर नाला निर्माण गर्न थालेको भन्दै दाङ सुन्डवरीका उपभोक्ताले नाला निर्माणको काम रोकेका छन् ।

निर्माण कम्पनीले सोलिङ्ग ढुंगाको ठाउँमा गिट्टी बिच्छ्याएर नाला ढलाइ गर्न थालेपछि काम रोकेको लमही नगरपालिका वडा नं. ३ सुन्डवरी निवासी कुलबहादुर यादवले बताए । ‘ल हेर्नुस त कस्तो सामग्री हालिएको छ । माथितिर ढुंगा हालेर ढलाई गरियो तर, यहाँ त साना छर्री हालिएको छ ।’ उनले भने ‘स्टिमेट भन्दा बाहिरको काम भएपछि रोकिदिएका छौँ ।’

विज्ञापन

लमही नगरपालिकाको बजेटबाट सुन्डवरीको चोकबाट उत्तर तर्फ ३ सय ७७ मिटर सडकको दुवै किनारमा पक्की नाला निर्माण गर्न थालिएको हो । तर, निर्माण कम्पनीले स्टिमेट भन्दा बाहिर गएर काम गरेको आरोप स्थानीयको छ । करिब ४२ लाखको लागतमा नाला र सडक निर्माणको काम भैरहेको छ ।

यता निर्माण कम्पनी रोयल विल्ड्रर्सले स्थानीय बासिन्दाको सहमतिको आधारमा काम अघी बढाउने, गिट्टी हालिएको ठाउँमा ढुंगा हालिने प्रतिबद्धता जनाएको छ । ‘स्थानीयसँग छलफल गरेर उहाँहरुको सहमतिको आधारमा काम अघि बढाउँछु’ निर्माण कम्पनीका प्रतिनिधि थम्मन ओलीले भने ‘काम राम्रो गरेका छौँ । राम्रो गर्छौँ ।’

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्