झापामा १० वर्षमा पाँचवटा हात्तीलाई करेन्ट लगाएर मारियो

विर्तामोड -पृथ्वीको लोपोन्मुख सबभन्दा ठूलो स्तनधारी प्राणी हात्तीलाई नेपालमा पनि करेन्ट लगाएर मार्ने काम हुन थालेपछि त्यस्को संरक्षणमा चिन्ता थपिएको हात्ती विज्ञहरुले बताएका छन्।
तर त्यसरी हात्तीलाई करेन्ट लगाउने मानिसलाई कार्वाही भएको कुरा प्रायः सुन्न पाइँदैन।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरु भन्छन् मान्छेले लगाएका बालीलाई हात्तीले नोक्सान गर्ने भएकाले मानिस हात्तीप्रति क्रुद्ध भएका हुन्।
२०६६ साल असार २८ गते झापा बाहुन्डाँगीको निन्दास्वामी चोकमा एउटा भाले हात्तीलाई करेन्ट लगाएर मारिएको डिभिजन बन कार्यालय झापाको तथ्यांकमा छ।
२०६९ असार २२ गते झापाकै शान्तिनगर पानीघट्टामा करेन्टसहित लगाइएको पासोमा परेर अर्को हात्ती मर्यो।
२०७४ साल असार २८ गते पुनः अर्को हात्तीलाई झापाको कचनकवल गाउँपालिका ७ कुनाबारीमा विद्युतकै पासो थापेर मारियो।
त्यसपछि २०७५ भदौ २१ गते झापा मेचीनगर ९ को चिहान डाँडामा अर्को हात्तीलाई करेन्टकै पासो थापेर मारिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।
गएको असार १४ गते पुनः अर्को हात्ती झापाको हल्दीबारी गाउँपालिका ३ मा रहेको रनकाली सामुदायिक बनमा करेन्ट लगाएरै मारिएको डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए।
जंगली हात्तीलाई आक्रमण गर्नु र करेन्ट लगाएर मार्नु अमानवीय व्यवहार ठान्छिन् ग्रामीण पर्यटन प्रवर्द्धनको एउटा संस्था ग्रीन जेनेरेसन झापाकी सदस्य अनिता थापा।
उनी भन्छिन्, ‘हात्तीलाई पनि खाना चाहिन्छ। तर मान्छेले अनावश्यक खेदेका कारण हात्ती क्रुद्ध बनेको हो।’
नेपालको तराई तथा चुरेक्षेत्रमा करिब २०० जंगली हात्तीको बसोबास रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
पहिला सर्वसाधारणले लगाएका बाली जोगाउन हात्तीलाई आक्रमण गर्ने परिपाटी रहेको तर अहिले आएर हात्तीका शरीरका अंगसमेत काटेर लाने गरिएकाले जंगली हात्ती संरक्षणमा चुनौती थपिएको हात्ती विज्ञ डा. नरेन्द्रमान प्रधान बताउँछन्।
‘अंग तस्करी छैन‘
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठ अहिलेसम्म त्यसरी हात्ती मारेर शरीर अंगको तस्करी नेपालबाट नभएको बताउँछन्।
उनले भने, ‘भारतको सिलिगुडीमा पक्राउ परेका मान्छेसंग रहेका हात्तीका अवशेष र हाम्रोमा भएको अवशेष जाँच गर्दा हामीबाट तस्करी भएर गएको होइन रहेछ।’
हात्तीको आक्रमणबाट पनि बर्षेनी दर्जनौं मानिसको ज्यान जाने गरेको छ। तर हात्तीले मान्छेलाई आक्रमण गर्नु मान्छेकै दोष मान्छन् वन्यजन्त संरक्षणमा लागेको व्यक्तिहरु।
खासगरी आफूले लगाएका बाली हात्तीले नोक्सान नगरोस् भनेर हात्ती भोगोस भनेर घरेलु तारबार गरेर करेन्ट छोड्ने प्रवृर्ति रहेको डिभिजन बन कार्यालय झापाका प्रमुख घिमिरे बताउँछन्।
उनी भन्छन्, ‘हात्तीलाई करेन्ट लगाएर मार्नु गैर कानुनी हो। तर गाउँ नै लाग्छ कस्लाई कार्वाही गर्नु?’
हात्तीलाई नियमित रुपमा दुई सयदेखि तीन सय केजीसम्म खाना आवश्यक पर्छ। तर हात्तीको खानेकुरा पाउने स्थान मासिँदै जानुले हात्ती मानिसले लगाएका बालीतर्फ आकर्षित हुने गरेको वन्यजन्तुविद बताउँछन्।