हराउँदैछन् गाउँका वर-पिपल चौतारी

दाङ–लस्करै वर र पिपलको ठूला–ठूला रुख । थोरै हावा चल्दा पनि शितलता दिने । गाउँको पहिचानसँग जोडिएको वर पिपल चौतारी । तर, गाउँमा बाटो विस्तार तीव्र गतिमा हुँदा यस्ता पुराना वर पिपलका रुख तथा चौतारा नासिदै जान थालेका छन् ।

दाङको १० गाउँपालिकामा पिपल चौतारा अनगिन्ती छन । तर, यस्ता सार्वजनिक ठाउँमा रहेका पिपल चौताराको संरक्षणमा खासै चासो दिइएको पाइएको छैन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ सुनपुर गाउँमा एक दर्जन वर पिलका चौतारा छन् । तर, यी चौताराको संरक्षण हुन सकेको छैन ।

‘यी वर पिपल रोप्ने मध्ये धेरै जसो मानिस दिवंगत भैसक्नु भएको छ । केही मानिस जिवित हुनुहुन्छ । बाटो वनाउने, विद्युत विस्तार गर्दा अरु बोट बिरुवा नासिन पुगे’स्थानीय दयाराम ढकालले भने–‘गाउँलाई स्वच्छ बनाउने यिनै वर पिपल हुन् । धेरै रुख बुढा भैसकेका छन । अब यी बुढा रुखको विकल्पको रुखमा अरु वर पिपल हुर्काउनु पर्ने जरुरी छ ।’

धार्मिक आस्थासँग जोडिएको वर पिपलको प्राकृतिक र वैज्ञानिक दुवै दृष्टिकोणले महत्वपूर्ण भूमिका छ ।

वर पिपल गाउँको कुलर


वर पिपल गाउँको कुलर, एसि जस्तै रहेको भन्दै यसको संरक्षणमा ध्यान दिनुपर्ने आयुर्वेद निर्देशनालयका निर्देशक मुक्ति पौडेलले बताएका छन् । ‘हामीले आधुनिकताको नाममा पुराना राम्रो अभ्यास भुल्न थाल्यौं भने के हुन्छ ? गाउँका पिपल चौतारा हाम्रा एसि, कुलर हुन’उनले भने–‘वर पिपलको संरक्षणमा कार्यक्रम गर्न जुरुरी छ ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वर पिपलको चौतारा बिस्तार गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रोत्साहन गरिने बताएका छन ।

‘वर पिपलको चौतारी विस्तार गर्न प्रोत्साहन प्रदान गर्ने योजना छ’उनले भने–‘वर पिपलको चौतारी बनाउन जग्गा उपलब्ध गराउने र वर पिपलको चौतारी बनाउनेलाइ सम्मान गर्ने कार्यक्रम छ ।’

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्