मेस्सीलाई नेइमारले दिए सान्त्वना

कोपा अमेरिका फुटबलको सेमिफाइनलबाट बाहिरिएको अर्जेन्टिनाले शनिबार मध्यरामा तेस्रो स्थानका लागि चिलेसँग प्रतिस्पर्धा गर्दैछ ।

फाइनलमा पुग्न नसके पनि लियोनल मेस्सी कप्तानीको अर्जेन्टिनासँग यसअघिका दुई फाइनलमा बेहोरेको हारको सान्त्वनात्मक बदला लिने मौका छ । सन् २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा चिलेसँग पराजित भएर अर्जेन्टिना उपाधि बिहीन बनेको थियो । त्यसको केही मात्रै भए पनि बदला लिने अवसर अर्जेन्टिनासँग छ ।

तर उपाधि जित्ने अर्जेन्टिनाको सपना भने यसपटक ब्राजिलले सेमिफाइनलमै तोडिदियो । गएको बुधबार भएको सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित भयो ।

पराजित भएको अर्जेन्टिनाका कप्तान मेस्सीलाई चोटका कारण खेल्न नपाएका ब्राजिलका नेयमारले सान्त्वना दिएका थिए । खेलपछि मेस्सी र नेइमारले धेरै मिनेटसँगै समय बिताएका थिए । दुई खेलाडीबिच ड्रेसिङ्ग रुपममा धेरै समय कुरा भएको स्पोर्टस पत्रिकाले जनाएको छ ।

भेटमा नेइमारको सम्भावित बार्सिलोना पुनरगामनका बारेमा पनि कुरा भएको बताइन्छ । फ्रेन्च लिग वान क्लब पिएसजीमा बेखुस रहेका नेइमार बार्सिलोना फर्किन चाहन्छन् । पिएसजी भने उनलाई जान दिने पक्षमा छैन ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्