प्रहरीको सर्वाधिक खोजीमा रहेका ‘बादशाह’ पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ– कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘वादशाह’ भनिने नसिम खाँ मुसलमानलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

कपिलवस्तु जिल्लाको साविक पिपरा गाविस वडा नं. २, हालको मायादेवी गाउँपालिका वडा नम्बर ४ घर भएका उनी सीमावर्ती भारतको अलिअढवामा लुकेर बस्दै आएका थिए। प्रहरीका अनुसार उनले त्यहाँ घरसमेत बनाएका छन्। उनी भारतमा बसेर कपिलवस्तुमा हत्याआतंक मच्चाउँदै आएको प्रहरीले जनाएको छ।

उनी विरुद्ध झण्डै एक दर्जन जति हत्या, लुटपाट, आतंक मच्चाउने गतिविधि र अपरहरणका मुद्दा दर्ता छन्। प्रहरीको फरार सूचीमा रहेका उनीमाथि सातवटा कर्तव्य ज्यान मुद्दा र एउटा डाँका मुद्दा दर्ता छ।

उनीमाथि तत्कालिन माओवादीका जिल्लास्तरीय नेताहरु राजेन्द्र तिवारी, शिवपूजन कुर्मी, ज्ञानबहादुर सुनार, अकाली धोवी, प्रेम  परियार लगायतको हत्या गरेको आरोप छ।

उनीविरुद्ध पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फतेह मोहम्मदका पाँच वर्षीय छोरा मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरीबाट जिल्ला प्रहरी कार्यालयमा कतव्य ज्यान मुद्दा दर्ता भएको थियो।

विगतमा विभिन्न सशस्त्र समूहमा संलग्न रहेका खान तराइका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताको पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए।  तर यसका अलावा अन्य व्यक्तिगत घटनासँग सम्बद्ध हत्या तथा अपहरणको मुद्दाका कारण उनी सीमा पारी भारतीय बजारमा बस्दै आएका थिए। कपिलवस्तु प्रहरीले समेत विशेष टोली बनाएर खानको खोजी गरिरहेको थियो ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्